सहकारी पीडितले न्याय पाउनुपर्छ

 सम्पादकीय

मोरङको धनपालथानस्थित उमागौरी सहकारीमा भएको २२ करोडभन्दा बढीको ठगी प्रकरणमा उच्च अदालत विराटनगरले दिएको आदेशले न्याय प्रणालीमाथिको जनविश्वासलाई केही हदसम्म भए पनि पुनःस्र्थापित गर्ने काम गरेको छ । जिल्ला अदालतले सामान्य धरौटीमा रिहा गर्ने निर्णय गरेका मुख्य प्रतिवादीहरूलाई एक–एक करोड रुपैयाँ धरौटी माग गर्ने उच्च अदालतको फैसला पीडितहरूको पक्षमा एक महत्वपूर्ण कदम हो । यो आदेशले आर्थिक अपराधका गम्भीर मुद्दाहरूमा न्यायालयले देखाउनुपर्ने संवेदनशीलता र कठोरतालाई प्रतिबिम्बित गरेको छ । सत्ताको दबाब र प्रभाबको कारण सो मुद्दालाई कमजोर बनाउने प्रयास सुरुबाटै भएको थियो ।

सुरुमा जिल्ला अदालतले सार्वजनिक लेखा समितिका सभापतिजस्ता शक्तिशाली पदमा रहेका व्यक्तिकी पत्नीसमेत रहेकी अञ्जला कोइरालालाई केवल १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । करोडौंको अपचलनमा संलग्न भएको आरोप लागेका व्यक्तिलाई यति सामान्य धरौटीमा छाड्नुले न्यायको मर्ममाथि नै प्रश्न खडा गरेको थियो । यसले शक्तिशाली र पहुँचवालाहरूका लागि कानुन लचिलो हुन्छ भन्ने आम बुझाइलाई बल पु¥याएको थियो । सरकारी वकिलको कार्यालयले यस निर्णयविरुद्ध गरेको पुनरावेदनले न्यायको ढोका बन्द भइनसकेको संकेत दियो र अन्ततः उच्च अदालतको आदेशले न्याय मर्न नदिने स्पष्ट पारेको छ ।

उच्चको आदेशसम्म आइपुग्ने यात्रा भने सहज थिएन । उच्च अदालतमा तीन महिनाको छोटो अवधिमा मुद्दाको पेशी १३ पटक स्थगित हुनु, एक पटक ‘हेर्न नमिल्ने’ सूचीमा पर्नु र अन्ततः न्यायाधीशहरूबीच धरौटी रकममा राय बाझिनुले यो मुद्दालाई प्रभावित पार्न कति अदृश्य शक्तिहरू सक्रिय थिए भन्ने अनुमान लगाउन गाह्रो छैन । यस्ता जटिलता र ढिलासुस्तीले न्याय प्रक्रियालाई नै कमजोर बनाउँछ । दुई न्यायाधीशबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासले गरेको निर्णयले अन्ततः न्यायलाई सही मार्गमा फर्काएको छ । यसले हाम्रो न्याय प्रणालीभित्र अझै पनि न्यायिक विवेक र निष्ठा जीवित छ भन्ने सन्देश दिएको छ ।

उमागौरी प्रकरण केवल एक प्रतिनिधि घटना मात्र हो । आज देशैभरि सहकारीको नाममा हजारौं सर्वसाधारणको अर्बौं रुपैयाँ डुबेको छ । आफ्नो जीवनभरको कमाइ र भविष्यको सपना साँचेर सहकारीमा राखेको पैसा हिनामिना हुँदा हजारौं परिवारको बिचल्ली भएको छ । यस्तो अवस्थामा, राजनीतिक पहुँच र शक्तिको आडमा ठगीमा संलग्नहरू सजिलै उम्किने हो भने नागरिकको राज्य र कानुनमाथिको भरोसा पूर्ण रूपमा टुट्नेछ । अतः उच्च अदालतको यो आदेश सराहनीय छ । तर, यो पूर्ण न्याय होइन । यो न्यायको यात्रामा एउटा महत्त्वपूर्ण खुड्किलो मात्र हो । अबको चुनौती भनेको मुद्दाको अन्तिम किनारा लगाएर अपराधमा संलग्नलाई दण्डित गर्नु र ८ हजार ८४२ जना पीडित शेयर सदस्यको डुबेको रकम फिर्ता गराउने वातावरण सुनिश्चित गर्नु हो । यो आदेशले देशभरका सहकारी पीडितहरूमा न्याय पाउने आशाको सञ्चार गरेको छ । अब न्यायालय र सम्बन्धित निकायहरूले यो आशालाई निराशामा बदलिन नदिन अन्तिम फैसलासम्म नै निष्पक्ष र दृढ रहनु आवश्यक छ । सबै सहकारी पीडितले  न्याय पाउनुपर्छ ।

Supported only between 1944-2022