पूर्वाञ्चलमा मेडिकल शिक्षाको फड्को

 सम्पादकीय

अन्तत : पूर्वाञ्चल विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने अनुमति पाएको छ । मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा मेडिकल कलेज स्थापनाको यो घोषणा केवल एउटा शैक्षिक कार्यक्रमको सुरुआत मात्र होइन, यो दशकौंदेखि उपेक्षित भौतिक संरचनामा जीवन भरिने, स्थानीय समुदायको आर्थिक मुहार फेरिने र समग्र पूर्वी नेपालको स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा एउटा नयाँ अध्यायको थालनी हो । चिकित्सा शिक्षा आयोगको यो निर्णयले विश्वविद्यालय प्रशासनको दृढ इच्छाशक्ति मात्र देखाउँदैन, राज्यले चाहेमा विकेन्द्रित विकास र गुणस्तरीय शिक्षाको सपनालाई कसरी साकार पार्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण पनि प्रस्तुत गरेको छ ।

कुनै समय विश्वविद्यालय बन्ने सपना देखाएर सयौं बिघा जमिन बिक्री भयो, मानिसहरूले ठूलो लगानीमा घर बनाए । तर, वर्षौंसम्म विश्वविद्यालयका भव्य भवनहरू रित्तो र प्रयोगविहीन रहँदा उनीहरूको आशा निराशामा परिणत भइसकेको थियो । स्थानीयको सपना धमिलिँदै गएको थियो । तर, दुई वर्षअघि पूर्णकालीन स्वास्थ्य सेवाको सुरुवात र अहिले एमबिबिएस पठनपाठनको सुनिश्चितताले मर्न लागेको आशालाई पुनर्जीवित गरेको छ । यसले धेरै सम्भावनाको ढोका खोलेको छ, जसले समग्र क्षेत्रकै आर्थिक गतिविधिलाई चलायमान बनाउने निश्चित छ ।

यस पहलको सबैभन्दा प्रशंसनीय पक्ष भनेको चिकित्सा शिक्षालाई सामाजिक न्यायसँग जोड्ने प्रयास हो । कुल ५० सिटमध्ये ७५ प्रतिशत पूर्ण सरकारी छात्रवृत्तिमा उपलब्ध गराइनु एक क्रान्तिकारी कदम हो । यसले आर्थिक रूपमा विपन्न तर जेहेन्दार विद्यार्थीहरूका लागि डाक्टर बन्ने सपनाको ढोका खोल्नेछ । चिकित्सा शिक्षा केही सीमित वर्गको पहुँचमा मात्र हुनुपर्छ भन्ने मान्यतालाई तोडेको छ । सरकारले छात्रवृत्तिका लागि स्रोत सुनिश्चित गर्नुले यस कार्यक्रमप्रतिको राज्यको गम्भीरता र प्रतिबद्धतालाई स्पष्ट पार्छ । यो मोडेलले स्वास्थ्य सेवालाई सुगम र शिक्षालाई समावेशी बनाउन कोशेढुंगा साबित हुनेछ ।
विगतलाई हेर्दा, २०६१ सालमा ३० करोडको लगानीमा बनेका संरचनाहरू २१ वर्षसम्म पूर्ण उपयोगमा आउन नसक्नु र विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरबाट गोठगाउँ सार्न १४ वर्ष लाग्नु हाम्रो प्रशासनिक सुस्तता र राजनीतिक इच्छाशक्तिको कमीको तीतो यथार्थ हो ।

तर, ढिलै भएपनि विश्वविद्यालयले ३०० शय्याको अस्पताल सञ्चालनमा ल्याउनु र आफ्नै शिक्षण अस्पतालमा प्रयोगात्मक अध्ययनको व्यवस्था मिलाउनुले अब विगतका कमजोरीहरूलाई सच्याएर अघि बढ्ने संकल्प देखिन्छ । ८०५ बिघामा फैलिएको विश्वविद्यालय परिसर अब साँच्चिकै एउटा शैक्षिक केन्द्रका रूपमा गुलजार हुनेछ ।

पूर्वाञ्चल विश्वविद्यालयको यो कदम एउटा शैक्षिक कार्यक्रमको थालनी मात्र नभएर दशकौंदेखिको प्रतीक्षाको सुखद अन्त्य, स्थानीय समुदायको आर्थिक पुनरुत्थानको आधार र गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य शिक्षाको दिशामा एक ऐतिहासिक फड्को हो । अबको चुनौती भनेको यो उत्साहलाई दिगो बनाउँदै शैक्षिक गुणस्तर कायम राख्नु र शिक्षण अस्पताललाई पूर्वी नेपालकै एक विश्वसनीय स्वास्थ्य केन्द्रका रूपमा स्थापित गर्नु हो । यो पहलले गोठगाउँको मात्र होइन, समग्र राष्ट्रकै लागि एउटा उज्यालो भविष्यको संकेत गरेको छ ।

Supported only between 1944-2022