कोशीकै उत्कृष्ट मनकामना सहकारी

विराटनगर । सदस्यको बचत जोखिममा पार्ने र सञ्चालकहरू भाग्ने घटनाले पछिल्लो समयमा सहकारी संस्थाप्रति जनविश्वास कमजोर बनेको छ । तर, यो अवस्थामा केही सहकारी संस्थाहरू सदस्यको विश्वास जितेर सफलताको मानक पनि बनिरहेका छन् ।मोरङको पथरीशनिश्चरेमा केन्द्रीय कार्यालय रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था त्यस्तै नमुना सहकारी हो । सहकारी नीति, विधि र प्रविधिको बलियो जगमा उभिएको मनककामना कोशी प्रदेशकै उत्कृष्ट सहकारीको रूपमा सम्मानित भएको छ भने एसियाली स्तरमै गुणस्तर प्रमाणित गर्न सफल भएको छ ।

कुनैबेला बैंकिङ पहुँच शून्यप्रायः रहेको पथरीशनिश्चरे क्षेत्रमा वित्तीय सेवा पु¥याउने उद्देश्यले २८ वर्षअघि २०५४ साल माघ १४ गते मनकामना स्थापना भएको हो । त्यसबेला १०१ जनाले प्रतिव्यक्ति ५ हजार रूपैयाँ संकलन गरी जम्मा ५ लाख ५ हजारको सानो पूँजीबाट शुरू भएको सहकारीमा अहिले ८ हजार ३ सय सदस्य छन् ।

संस्थाका अध्यक्ष युवराज भट्टराईका अनुसार वित्तीय पहुँच बढाउन खोलिएको सहकारी समुदायप्रतिको प्रतिबद्धता र पारदर्शी कार्यशैलीले सदस्यहरूको विश्वास जित्न सफल भएको छ । अहिले संस्थाको कूल सम्पत्ति (वासलात) ६४ करोड रूपैयाँ नाघेको छ ।

सहकारी क्षेत्रमा देखिएको मुख्य समस्या भनेकै कमजोर सुशासन र अपारदर्शी कारोबार हो । तर, मनकामना साकोसले शुरूदेखि नै यी पक्षमा आफूलाई अब्बल सावित गरेको छ । ‘हामी नीति, विधि र प्रविधिमा सञ्चालित छौं’ भट्टराईले भने, ‘हामीसँग संस्था सञ्चालनका लागि विभिन्न २२ वटा नीतिगत कार्यविधि छन् र हामी ऐन–नियमको पूर्ण पालना गर्छौं ।’
बलियो नीतिगत धरातलका कारण संस्थाले आजसम्म कुनै पनि किसिमको आरोप खेप्नुपरेको छैन । संस्थाको आफ्नै वेबसाइट छ, जहाँ वार्षिक प्रतिवेदनलगायत महत्वपूर्ण जानकारी सार्वजनिक गरिएको छ । संस्थाले प्रविधिलाई आत्मसात गर्दै सदस्यहरूलाई आधुनिक बैंकिङ अनुभव प्रदान गरेको छ । आफ्नै मोबाइल बैंकिङ एप र ई–बैंकिङजस्ता सेवाले सदस्यहरूलाई जुनसुकै समय र स्थानबाट कारोबार गर्न सहज बनाएको छ ।

मनाकामनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रमाणित गरिसकेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले संस्थालाई कोशी प्रदेशको उत्कृष्ट सहकारीका रूपमा सम्मान गरिसकेको छ । त्यस्तै, एसियाली ऋण महासंघ (एसीसीयू)ले सञ्चालन गर्ने गुणस्तर प्रमाणीकरण कार्यक्रम ‘एक्सेस’ मा सहभागी भई संस्थाले ‘सिल्भर ब्राण्ड’ प्राप्त गरेको छ ।
एसियाली स्तरका ८६ वटा सूचक पूरा गरेपछि मात्र प्राप्त हुने यो सम्मानले मनकामना साकोसको सञ्चालन पद्दति र सुशासन अन्तर्राष्ट्रिय स्तरको रहेको पुष्टि समेत गरेको अध्यक्ष भट्टराई बताउँछन् । संस्थाले मोरङका पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ नगरपालिका तथा मिक्लाजुङ र कानेपोखरी गाउँपालिकामा आफ्नो सेवा विस्तार गरेको छ भने जाँते र शनिश्चरेमा सेवा केन्द्र स्थापना गरी ग्रामीण भेगका सदस्यहरूलाई समेत वित्तीय पहुँचको दायरामा ल्याएको छ ।

संस्थाका अध्यक्ष भट्टराई सहकारी क्षेत्रलाई सुधार्न राज्य दरो हुनुपर्ने बताउँछन् । ‘नियमन र अनुगमन प्रभावकारी हुनुपर्छ र राम्रो काम गर्नेलाई पुरस्कार तथा नराम्रो गर्नेलाई दण्डको व्यवस्था हुनुपर्छ’, उनले भने, ‘मनकामनाको यात्रा नेपालका अन्य सहकारीका लागि मात्र नभई नियामक निकायका लागि समेत एक महत्वपूर्ण उदाहरण हो ।’

भदौ १, २०८२, बिहानको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर