विराटनगर । कोशी पर्यटन वर्षको विषयमा विवादमा परेका प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेसहित चार प्रदेश सचिवको सरुवा भएको छ ।
पर्यटन वर्षको कार्यक्रम व्यवस्थित गर्न नसकेकको र तेह्रथुममा भएको उद्घाटन कार्यक्रममा अनियमितता गरेको आरोप घिमिरेमाथि लागेको थियो । पर्यटन वर्ष उद्घाटनमा प्रयोग भएका होटलबाट खाली बिल ल्याएको र असार मसान्तसम्म होटलको रकम भुक्तानी नगरेको विषय बाहिरिएपछि घिमिरेले नगदै रकम होटलमा भुक्तानी गरेका थिए ।
मन्त्रालयको कार्यक्रममा सचिवले घिमिरेले आफ्नो व्यक्तिगत खाताबाट रकम भुक्तानी गरेपछि त्यो विषय संसदमा पनि उठेको थियो । घिमिरेले व्यक्तिगत रूपमा २ लाख ७६ हजार रुपैयाँ बैङ्कबाट निकालेर सम्बन्धित होटलहरूलाई भुक्तानी गरेको बताएपछि सांसदले संसदीय समितिमा त्यो प्रदेश सरकारलाई दिएको चन्दा हो कि ऋण हो भनेर सोधेका थिए ।
पर्यटन वर्षको कार्यक्रम निकट व्यक्तिलाई मात्र दिएको र त्यसबाट कमिसन लिएको आरोप घिमिरेमाथि लाग्दै आएको थियो । उनले भने प्रदेश सरकारलाई असर पुग्नेगरि कुनै काम नगरेको दावी गर्दै आएका थिए । प्रदेशका सचिवहरु सामान्यतः एक वर्षभन्दा धेरै नबस्ने गरेकोमा घिमिरे भने मुख्यमन्त्रीलाई प्रभावित पार्न सफल भएकै कारण अढाइ वर्षभन्दा धेरै समय प्रदेशमा बसेका थिए ।
घिमिरेको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको बताइएको छ । त्यसबारे अख्तियारले अनुसन्धान थालेको बेला उनको सरुवा भएको हो ।
घिमिरेको संघीय वन तथा वातावरण मन्त्रालयमा सरुवा भएको छ । घिमिसेसँगै भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार साह, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डे, स्वास्थ्य मन्त्रालयकी सचिव डा.राधिका थपलियाको पनि सरुवा भएको छ ।
साहको संघीय शहरी विकास मन्त्रालयमा, थपलियाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र पाण्डेको कृषि तथा पशुपंक्षी मन्त्रालयमा सरुवा भएको छ । संघीय सरकारले नयाँ शहर आयोजना बबरमहलबाट सहसचिव मिलन आचार्य र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट यदुचन्द्र घिमिरेलाई प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरेको छ । आचार्यले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र घिमिरेले स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नेछन् ।
प्रदेशबाट चार सहसचिवको संघमा सरुवा भएपनि संघले दुई सहसचिव मात्र पठाएको छ । यस्तै विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट योगेन्द्रप्रसाद दुलालको सरुवा भएको छ । यसअघि महानगरमा सरुवा भएका रामचलित्र महतोलाई महानगरले हाजिर नगराउने चेतावनी दिएपछि उनको महानगर नआई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।
महतोलाई हाजिर हुन नदिने मेयर नागेश कोइरालाले बताएपछि महानगर करिब ६ महिनादेखि कामु प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको थियो ।