विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘पार्टीको आन्तरिक जीवनमा देखिएको आन्तरिक विवादले पार्टी संकटमा परेको बताएका छन् । नेकपा एमाले कोशी प्रदेश कमिटीको सातौं पूर्ण बैठकलाई मंगलबार धनकुटाको हिलेमा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । पार्टीलाई बालियो बनाउने सिङ्गो पार्टी एकजुट हुनुपर्ने उनले बताएका छन् ।
कोही आयो भने म असुरक्षित हुन्छु भन्ने कुराबाट मुक्त हुनु पर्नेमा उनले जोड दिए । यो सोच र प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने उनको धारणा छ ।
उनले चुनावको बेलामा काम नलाग्ने नेता कार्यकर्ताको कुनै काम नभएको समेत बताए । पार्टीले बहुमतको सरकार बनाएपछि मात्र पार्टीको नीति लागू गर्न सकिने कुरा नबिर्सन महासचिव पोखरेलको आग्रह छ ।
अहिले देशमा स्थायित्वका लागि नेपाली कांग्रेससँग मिलेको भए पनि आउने चुनाव दुवै पार्टी एक्ला एक्लै लड्ने उनको भनाइ छ । पार्टीको आफ्नो नीति लागू गर्नका लागि एक्लै चुनाव लडेर बहुमतको सरकार बनाइ पार्टीको नीति कार्यान्वयनमा लैजाने पोखरेलले बताए ।
पार्टी नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्वलाई जोगाउनु सबैको दायित्व भएको उनले बताए । अहिले एमाले र त्यसको नेतृत्वविरुद्ध आक्रमण भइरहेकाले सिङ्गो पार्टी पंक्तिले एक भएर जोगाउनुपर्ने उनको धारणा छ ।
पार्टीमा दुईवटा मतभेद जस्तो देखिए पनि त्यो समाधान भइसकेको बताएका छन् ।
७० वर्षको उमेर हद र दुई कार्यकालको विषयमा मतभेद जस्तो देखिए पनि त्यो अन्त्य भइसकेको बताएका हुन् ।
पार्टी सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा सो विषयलाई टुङ्ग्याइसकेको पोखरेलले बताए । ‘यसमा एक जनाको मात्र असहमति छ, कर्ण थापाको मात्रै असहमति छ’, उनले भने ।
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने कुरा एमालेले लोकतन्त्र, पार्टी र स्वयं पूर्वराष्ट्रपतिको हितका लागि सोचविचार गरेर गरेको उनले बताए । बाँकी विषयमा महाधिवेशनमा आधारसहित छलफल गर्न सकिने उनको भनाइ छ ।
पार्टीभित्र विभिन्न खालका अन्तर्घात अहिले पनि कायम रहेको भन्दै उनले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन यसलाई त्यागेर एक ढिक्का भएर अघि बढ्नुपर्ने उनको धारणा छ ।