नेपालमा समाजबाद : भ्रम र यथार्थ

 विमल लामिछाने

नेपालमा कम्युनिष्ट पार्टीहरु धेरै छन् । सबैको आफ्नै विशेषता छ । सबैको मूल सिद्धान्त भनेको समाजवादी बाटो भएर वर्गविहिन समाज अर्थात साम्यवादसम्म पुग्ने रहेको देखिन्छ । तर यहाँ अनौठो कुरा के छ भने सँगै हिँड्न कुनै मान्दैनन् । सँगै नहिँडेसम्म समाजवादको मार्गचित्र नै कोरिँदैन । अनि कार्यकर्ता र सोझा जनतालाई भ्रम छ, समाजबाद र समृद्धी ल्याउने त मेरो पार्टीले मात्रै हो । तर यहाँ त वीरवलको खिचडी जस्तो जति दाउरा घचेडेपनि धुवाँमात्र निस्किरहेको छ ।

नेपाली कम्युनिष्ट पार्टीको आन्दोलनको इतिहासलाई हेर्ने हो भने नेपालका छरपष्ट कम्युनिस्ट पार्टीहरुले समाजवादबारे यतिवेला बहस होइन, निष्कर्षमा पुग्ने बेला पनि टरिसक्यो । समाजवाद ल्याउने त कम्युनिस्ट पार्टीको विचार, दर्शन र आचरणले हो । यसका लागि चाहिने जनशक्ति पनि हो । पार्टी छ, कार्यकर्ता छन् र माक्र्सवादी–लेनिनवादी विचार छ । तर, व्यहारमा उतार्न संगठन छैन । कार्यकर्ता आफ्नै नेतामाथि विश्वास गर्दैनन् । नेताको आचरण नै उपभोक्तावादी छ ।

लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात समाजवादउन्मुख प्रणालीको प्रस्तावना नेपालको संविधान २०७२ ले परिकल्पना गरिसकेको विषय हो । यो समय अवधिलाई हेर्ने हो भने बहस ढिलो भइसकेको छ । यो समाजबादका अनुयायी कम्युनिष्टहरुले यो घर्कीसकेको समयको समिक्षा गर्ने विषय हो ।

भनिन्छ, समाजवाद पुरानो समाजको क्रमभंगता हो । यो मात्रात्मक र गुणात्मक दुवै रुपमा हुन आवश्यक छ । धेरै किसिमका समाजवाद अभ्यास गर्ने मुलुक हामीसामु छन् । नेपाल लेनिनको सन् १९१७ को रुस र सन् १९४९ को माओको चीन होइन । आफैंले समाजवादको नयाँ मार्गचित्र कोर्न सक्ने भौगोलिक र वर्गीयचेतसहितको परिवेश नेपालसँग छ । यहाँ नेपालको भूगोल, अर्थतन्त्रको श्रोत, यहाँको जातीय बसोबास र वर्गीय धरातल हेरेर माटो सुहाउँदो समाजबादको बहस र परिकल्पना गरिनु अहिलेको सान्दभिकता हो ।

माक्र्सका अनुसार आर्थिक आधारले उपरिसंरचनालाई निर्धारण गर्छ र विकसित उत्पादन शक्तिले अन्ततः पिछडिएको उपरिसंरचनालाई फेर्दछ । नेपालमा अहिले परिकल्पना गरिएको समाजवादले किसान, मजदुर, ठूलो संख्यामा बेरोजगार युवाजमात, समानताको अधिकारको लडाई लडिरहेका जाति र समुदायमा रहेकाहरूको जीवनमा परिवर्तन ल्याउन सक्ला कि नसक्ला ? धनी र गरीबले पढ्ने फरक विद्यालय, ब्यापारको मुख्य क्षेत्र बनेको शिक्षामा समानता ल्याउन सक्ला कि नसक्ला ? जमिनको समान स्वामित्वको अनुभुति हुन सक्ला कि नसक्ला ? समान पहुँच भएको स्वास्थ्य सम्भव होला ? विहानदेखि बेलुकासम्म सडकमा मजदुरी गर्नेहरुको जीवनस्तरमा परिवर्तन आउँछ कि आउँदैन ? नेपाली कम्युनिष्टहरुले भनेको समाजवादसम्बन्धी बहस यी विषयमा केन्द्रित हुनुपर्ने जस्तो लाग्छ । अर्कोतिर सीमान्तकृत, पीछाडिएका वर्गीय मान्छेहरु राजनीतिक दलका नेतृत्व विशेष गरेर कम्युनिष्टहरुसँग त्रसित पनि छन् । अझै पनि समृद्धि तथा समाजवाद ल्याउने नाममा कतै यिनै सर्वहारा र निमुखा वर्गको जीवन नै उजाडिने त हैन ? शासकमा समृद्धिको महाभूत चढेको समयमा सर्वहारा तथा मजदुर वर्गले अधिकार माग्दा कतै उनीहरू समृद्धि यात्राका बाधक घोषणा हुने त होइनन् ? यी र यस्ता प्रश्नहरुका जवाफ समाजवादीहरुले खोज्न सक्नुपर्छ ।

समाजवाद जहिले पनि पुँजीवादको विकल्पमै चर्चित हुने अवधारणा हो । तर यतिबेला पुँजीवादबारे जति स्पष्टता छ, त्यत्तिकै स्पष्टता समाजवादबारे छैन । समाजबादबारे दार्शनिकहरुको आफ्नै किसिमको ब्याख्या छ । कुनै समाज वा देश साँच्चैको समाजवादी हो कि होइन भनेर नाप्ने कुनै सर्वस्वीकार्य मापदण्ड छैन । साम्यवादी खेमामा भएको विभाजनका कारण उहिल्यैदेखि समाजवादका विषयमा अन्योल देखिँदै आएको पाइन्छ ।

वास्तवमा समाजवाद राज्यको त्यस्तो आर्थिक अवस्थासँग गाँसिएको शब्द हो, जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व सरकारमा निहित हुन्छ । यसलाई अर्को शब्दमा सामाजिक स्वामित्व पनि भनिन्छ । यदि सामाजिक स्वामित्व नीति अँगाल्ने राज्य छ भने त्यसलाई समाजवादी राज्य भनिन्छ । सामाजिक स्वामित्व भन्नाले वस्तुको उत्पादन, नियन्त्रण र व्यवस्थापन सबै राज्यमै केन्द्रित हुनु हो । सोही समाजवादको सिद्धान्तलाई वकालत गर्ने व्यक्ति वा समूहलाई समाजवादी भनिन्छ ।

अहिलेसम्म अध्ययेताहरुले ब्याख्या गरेको सबैभन्दा सरल परिभाषा यस्तो छ – समाजवादमा निजीत्वको सम्भावना न्यून हुन्छ र सामूहिकताको सम्भावना बढी हुन्छ । समाजवादमा कुनैपनि कच्चा पदार्थ, औजार र उपकरण, कलकारखाना तथा श्रम सबै उत्पादनसँग सम्बन्धित तत्व हुन् । र, यसबाट उत्पादित वस्तु समूहमा सङ्कलन गरिन्छ तथा आवश्यकता अनुसार वितरण गरिन्छ ।कतिपय दार्शनिकहरुले समाजवादी सिद्धान्त लागु गरिएका देशमा व्यक्तिले गरेका उत्पादनलाई तलब वा सामानका रूपमा प्रदान नगरी उनीहरूको स्वास्थ्य, शिक्षा, सुरक्षा र अन्य आवश्यक प्रयोगमा लगाउने गरिन्छ भन्ने तर्क पेस गरेका छन् । लेनिनवादी दृष्टिकोणमा भने राज्यले संकलन गरेका यस्ता उत्पादनलाई आवश्यकताका आधारमा नभई कामका आधारमा वितरण गर्नुपर्छ भन्ने रहेको छ ।

नेपालमा समाजवादको विषयमा अहिले आआफ्नो तरिकाले परिभाषा आउने गरेका छन् । सबैको धारणा मन्थन गर्ने हो भने समाजवाद के हो, के होइन ? छुट्याउन कठिन भएको छ । समाजवाद शोषक र शोषित दुवै तथा फासिष्ट र प्रजातन्त्रवादीहरू सबैको साझा जस्तो भएको छ । तर समाजवाद भनेको बास्तवमा जनताको अधिकतम हित र सेवामा समर्पित भएर समानताका लागि काम गर्ने शासन व्यवस्था हो । अहिले राजनीतिक दल, आम नागरिक तथा समाजका सचेत समुदाय सबै समाजवादको बुझाइमा स्पष्ट हुन जरुरी छ ।

संविधानको परिधिभित्र रहेर समाजको खुसी र समृद्धिका लागि गरिने असल कार्य नै समाजवादका आधार हुन् । उत्पादनको साधनमाथि सामूहिक स्वामित्व तथा त्यहीअनुरूप वितरण हुनु नै समाजवादको सार हो भनिन्छ । यस प्रकारको स्वामित्व तथा वितरण प्रणालीका कारण नै श्रमजीवी वर्गले समाजवादी व्यवस्थामा आफूलाई काम गर्ने औजार जस्तो ठान्दैनन् । यो व्यवस्थामा अपनत्वको अनुभूति गरेकै कारण उनीहरूको श्रृजना गुणात्मक रूपमा नै वृद्धि हुँदै गइरहेको हुन्छ । चीनमा नयाँ जनवादी क्रान्ति पश्चात् आर्थिक र राजनीतिक रूपमा गुणात्मक फड्को मार्नुको मूल कारण पनि यही हो ।

Supported only between 1944-2022