विराटनगर । मोरङको बेलबारी नगरपालिकाले खरिद गरेको विद्युतीय नगर बस तीन महिनादेखि कार्यालय परिसरमा घाम तापिरहेको छ । नगरपालिका बस आपूर्तिकर्ता कम्पनी बिच भुक्तानी विवाद सिर्जना भएपछि बस पनि चलाइएको छैन ।
बस आपूर्तिकर्ता कम्पनीले नगरपालिकाले अनावश्यक बखेडा झिकेर अन्तिम किस्ताको ३० लाख रुपैयाँ भुक्तानी रोकेको आरोप लगाएको छ । नगरपालिकामा विगत ३ महिनादेखि बस घाम तपाएर राखिरहेको आरोप छ ।
आपूर्तिकर्ता कम्पनी नेशनल फायर सेफ प्रा.लि.ले भने सम्पूर्ण भुक्तानी नपाएको गुनासो गरेको छ । प्रालिका संचालक खगेन्द्र कार्कीले सम्झौतामा नभएको चार्जिङ स्टेसनको विषयलाई उठाएर नगरपालिकाले भुक्तानी रोकेको आरोप लगाए ।
कार्कीका अनुसार बस खरिद सम्झौतामा चार्जिङ स्टेसन निर्माण गर्ने कुनै प्रावधान थिएन । ‘त्यो हाम्रो स्कोपभित्र छैन, त्यसको कुनै टेक्निकल पारामिटर र स्पेसिफिकेसनहरू सम्झौतामा छैन,’ उनले भने । उनले थपे ‘इन्जिनियरलेसमेत इभ्यालुएसन रिपोर्ट बुझाइसकेको र सबै प्रक्रिया पूरा भएपछि नै मैले अघिल्लो किस्ताको भुक्तानी पाएको हुँ । ’
यता, प्रदेश सरकारले बेलबारीमा छुट्टै चार्जिङ स्टेसन निर्माण गरिसकेका छ । ट्रान्सफर्मरको अभावमा सञ्चालनमा आउन भने सकेको छैन् । नगरपालिकाले माग गरेको चिज दिइसक्दा पनि भुक्तानी दिन ढिलाइ भएको आपूर्तिकर्ताको आरोप रहेको छ ।
नेशनल फायर सेफ प्रा.लि.ले भ्याट बाहेक १ करोड १६ लाख रुपैयाँमा उक्त बस नगरपालिकालाई दिएको हो । १८ सिटे सुविधा सम्पन्न बस रहेको आपूर्तिकर्ताको दाबी रहेको छ । बेलबारीका नगर प्रमुख दिलप्रसाद राईले पहिलो निर्णय नै नगर बस सञ्चालन गर्ने भनेर गरेका थिए । उनको कार्याकाल आधा भन्दा बढी बितेको छ । नगरपालिकाले नगरवासीलाई सहज र सुलभ यातायात सेवा दिने उद्देश्यले बस खरिद गरेको नगरपालिकाले जनाउदै आएको छ ।
नगर बस खरिद गर्दा प्रमुख प्रशासकीय अधिकृत भने किरण ढकाल थिए । उमेरहदका कारण उनी गत जेठ २५ गते अवकास भएका छन् ।आपूर्तिकर्ताले यो विषयमा नगर प्रमुख दिलप्रसाद राईसँग पनि कुरा भएको तर प्रमुखले प्रशासकीय अधिकृतसँग नै कुरा गर्न भनेर पन्छिने गरेको आरोप लगाएको छ ।
नेशनल फायर सेफ प्रा.लि.का अर्का संचालकले भने ‘यदि सम्झौतामा कुनै कमजोरी हुन्थ्यो भने अघिल्लो हाकिमले भुक्तानी दिने थिएनन् किनकि उनीहरु पनि अख्तियारसँग डराउँछन ।’ यो विवादले गर्दा करिब ३ महिनादेखि बस त्यसै थन्किएको हो । जसले गर्दा नगरवासीले यातायातको सेवा पाउन सकेका छैनन् ।
नगरपालिकाले भने खरिद गरेको विद्युतीय बसको अन्तिम किस्ता भुक्तानी प्राविधिक स्पष्टतापछि मात्र गर्ने जनाएको छ । बसको स्पेसिफिकेसनमा ‘ई–बस विथ चार्जिङ स्टेसन’ भनेर उल्लेख भएपछि आपूर्तिकर्ताको जिम्मेवारीबारे अन्योल सिर्जना भएकाले भुक्तानी रोकिएको नगरपालिकाकी लेखा प्रमुख धनमाया राईले बताइन् ।
बस आपूर्तिकर्तालाई करिब ३० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको स्वीकार्दै लेखा प्रमुख राईले प्राविधिक विषय भएकाले केही गर्न सक्ने अवस्था नरहेको बताइन् ।
नगरपालिकाले अब मेकानिकल इन्जिनियरको प्रतिवेदनलाई आधार मानेर भुक्तानी प्रक्रिया टुंग्याउने तयारी गरिरहेको लेखा प्रमुख राईले जानकारी दिइन् । मेकानिकल इन्जिनियर आएपछि भुक्तानी प्रक्रिया अघि बढ्ने उनले बताइन् ।