
डा.बालकृष्ण साह
हरेक वर्ष अगस्ट महिनाको पहिलो हप्ता (१ देखि ७ तारिखसम्म) अर्थात हिजोबाट सुरु भएको विश्व स्तनपान सप्ताह सुरु भएको छ । यसले फेरि एकपटक स्तनपानबारे ध्यान मोड्न खोजेको छ । जीवनको प्रारम्भिक चरणमै गरिनुपर्ने एक अत्यन्तै महत्वपूर्ण तर उपेक्षित अभ्यास हो, स्तनपान ।
आमाको काखमै पहिलोपटक आँखा खोल्ने शिशुलाई जन्मेपछि जति छिटो आमाको दूध पाउँछ, उसले जीवन त्यति नै बलियो तरिकाले थालनी गर्छ । शिशुको मुखमा जाने पहिलो पहेंलो गाढा पदार्थ ‘कोलोस्ट्रम’ केवल दूध होइन, यो शिशुको शरीरमा रोगसँग लड्ने सुरक्षाकवच पनि हो । अर्को अर्थमा भन्ने हो भने प्राकृतिक खोप हो । यसमा भएका एन्टिबडीहरूले शिशुलाई अनेकौं संक्रमण र रोगबाट बचाउँछन्। यो खोपको न त पैसा तिर्नु पर्छ, न कुनै अस्पताल जानु पर्छ, न त संचित गर्न ‘कोल्ड चेन’ को व्यवस्थापन गर्नुपर्छ । आमा सक्षम छन् भने शिशु सुरक्षित हुन्छ ।
शिशुको जन्मपछिको पहिलो छ महिनासम्म केवल आमाको दूध खुवाउनु स्वास्थ्यसम्बन्धी सबैभन्दा राम्रा निर्णयहरूमध्ये एक हो । यस अवधिमा शिशुलाई न त पानी चाहिन्छ, न झोल खाद्य, न त बट्टाको दूध नै । आमाको दूध नै पर्याप्त हुन्छ शिशुको आहारका लागि । यसले उसको शारीरिक विकास, बौद्धिक परिपक्वता र मानसिक स्थायित्वका लागि गहिरो आधार तयार गर्छ ।
स्तनपानले आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्दछ । सुत्केरीको पाठेघर छिट्टै खुम्च्याउन तथा रक्तस्राव कम गराउन र प्रसूति पछिको संक्रमणको जोखिम घटाउन समेत यसले मद्दत गर्छ । लामो समयसम्म स्तनपान गराउने आमाहरूमा स्तन तथा डिम्बाशय क्यान्सर, हाड कम्जोरी र मोटोपनका समस्या कम देखिन्छन् । स्तनपानले आमा र शिशुबीचको आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउँछ, जुन सम्बन्ध केवल प्रेम होइन, सुरक्षा, विश्वास र जीवनको आधार हो ।
तर यतिखेर हाम्रो समाजमा एक दुःखद प्रवृत्ति मौलाउँदै गएको छ । शिशुलाई जन्मेपछि आमाको दूध नदिई बट्टामा प्याक गरिएको फार्मुला दूध खुवाउने चलन बढ्दो छ । आधुनिकता, सहुलियत र समयाभावको नाममा आमाहरू सजिलै ‘दूध आउँदैन’ भन्ने बहानामा फार्मुला दूधतर्फ आकर्षित भइरहेका छन् । कतिपय अवस्थामा स्वास्थ्यकर्मी स्वयंले समेत बिना आवश्यक परीक्षण आमा र परिवारलाई ‘दूध आउँदैन, फार्मुला सुरु गरौं’ भन्ने सल्लाह दिने गरेका छन् ।
बजारले बनाएको बट्टाको दूध सजिलो हुनसक्छ, तर शिशुको लागि सुरक्षित हुँदैन । यसमा न त रोगप्रतिरोधात्मक क्षमता हुन्छ, न त मातृत्वको ऊर्जा । कतिपय अवस्थामा असावधानीपूर्वक तयार पारिएको दूध, दूषित पानीको प्रयोग र सधैं उचित तापक्रममा राख्न नसक्नुका कारण शिशुहरूमा पेटका संक्रमण, झाडापखाला, एलर्जी र पोषण अभावका समस्या देखिने गरेका छन् । यस्ता बच्चाहरूमा दीर्घकालीन असर पनि पर्न सक्छ, जस्तै बौद्धिक विकासमा ढिलाइ, मधुमेह, मोटोपन जस्ता जीवनशैलीजन्य रोगहरूको जोखिम ।
नेपालमा ६ महिनासम्म शिशुलाई केवल स्तनपान गराउने दर पछिल्लो वर्षहरूमा घट्दो क्रममा छ। विभिन्न अध्ययनहरूले देखाएका छन् कि शहरका शिक्षित वर्गहरूमा समेत स्तनपानको दरमा कमी आएको छ । यसको पछाडि बजारमुखी विज्ञापन, अभिभावकमा बढ्दो व्यस्तता, प्रसूति पश्चातको कमजोर परामर्श प्रणाली र ‘बट्टाको दूधले बच्चा छिटो बढ्छ’ भन्ने भ्रमपूर्ण सोच जिम्मेवार छन् ।
स्तनपान केवल आमाको व्यक्तिगत निर्णय होइन, यो सार्वजनिक स्वास्थ्यको विषय हो । हरेक आमा सक्षम छिन् आफ्ना सन्तानलाई स्तनपान गराउन, तर त्यसका लागि परिवार, स्वास्थ्य प्रणाली, कार्यक्षेत्र र समाजले सहयोगी वातावरण बनाउन जरुरी छ । कामकाजी महिलाहरूका लागि स्तनपानमैत्री नीतिहरू, शिशु स्याहार कक्षहरूको व्यवस्था, स्वास्थ्यकर्मीद्वारा सही परामर्श र अभिभावकमा जागरण — यी सबै पक्ष समन्वयमा आउन सके मात्र हामीले स्तनपानको वास्तविक महत्व बुझाउने वातावरण बनाउन सक्छौं ।
स्तनपान हाम्रा लागि नयाँ कुरा होइन । हाम्रा हजुरआमा, आमाहरूले पुस्तौंपुस्तासम्म यस्तै गरिरहे । तर आज जब बजारको शक्ति, व्यस्त जीवनशैली र असजिलो बहानाहरूको कारणले हामी प्राकृतिक चीजहरूबाट टाढिँदै गएका छौं, त्यतिबेला यो सन्देश फेरि दिन जरुरी भएको छ । आमाको दूध केवल आहार होइन, जीवन हो ।
शिशुको पहिलो अधिकार नै आमाको दूध हो । यो अधिकार उसलाई हामीले सहजै छिन्न मिल्दैन। बजारले दिएको बट्टाभित्रको विकल्पले आमाको न्यानो अँगालो, प्राकृतिक पोषण र प्रेमको अनुभूति कहिल्यै दिन सक्दैन ।
यस वर्षको स्तनपान सप्ताहमा चेतनाबाट व्यवहारतर्फ स्तनपानलाई शुरु गरौ। शिशुको भविष्य सुरक्षित बनाउने जिम्मेवारी हाम्रो हो । आमालाई सहयोग गरौं, बच्चालाई बचाऔं । जीवनको सुरुवातलाई स्वाभाविक, सुरक्षित र सजीव बनाऔं । र यसका लागि हरेक शिशुलाई आमाको दूध नै राजांै ।