लम्पीस्किनबाट एक हप्तामा कोशीमा मरे १३९ पशु

नियन्त्रणका लागि २ लाख ६२ हजार पशुलाई खोप लगाइयो

विराटनगर । पशुमा लाग्ने लम्पीस्किन रोगबाट कोशी प्रदेशमा एक हप्तामा १३९ पशुको मृत्यु भएको छ । मृत्यु हुनेमा गाईको संख्या अधिक छ । एक सातामा १३६ वटा गाई मरेका हुन् भने तीनओटा अरु पशु मरेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशले जानकारी दिएको छ ।

लम्पीस्किनबाट यस पटक गाईका साना बाछाबाछीहरु बढी प्रभावित भएको पाइएको छ । यस वर्ष संक्रमण सुरु भएपछि ३३६ पशुको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । त्यसमध्ये ३३० ओटा गाई मरेका हुन् ।

यो हप्तामात्र कोशी प्रदेशका १० जिल्लामा ३ हजार ७७८ पशुमा लम्पीस्किनको संक्रमण देखिएको थियो । संक्रमण सुरु भएको दुई महिनाको अवधिमा १६ हजार ५१९ पशु संक्रमित भइसकेका छन् । जसमा १३६ ओटा भैंसीमा संक्रमण देखिएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय कोशीका निर्देशक डा. सुशिलकुमार अधिकारीले जानकारी दिए । उनले माउ गाईमा भने यस पटकको संक्रमण कम देखिएको र बाछाबाछीमा बढी संक्रमण देखिएको बताए ।

कोशी प्रदेशमा सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा र तेह्रथुम जिल्लामा लम्पीस्किनको संक्रमण फेला परेको छैन । बाँकी १० जिल्लामा रोगका संक्रमण फैलिएको छ । त्यसमध्ये झापामा सबैभन्दा बढी संक्रमण देखिएको छ ।

प्राप्त तथ्यांक अनुसार झापा जिल्लामा ४ हजार २४ पशुमा संक्रमण देखिएको छ । यसमध्ये ३ हजार ९९९ गाई र २५ भैंसी छन् । झापामा यस रोगका कारण ११२ पशुको मृत्यु भएको छ, जसमा १०५ गाई र ७ भैंसी छन् । संक्रमण नियन्त्रणका लागि झापामा ८ हजार ३८५ पशुमा खोप लगाइएको छ ।सुनसरी जिल्लामा ४ हजार संक्रमित पशुहरु छन् । यसमध्ये ३ हजार ९८४ गाई र १६ भैंसी छन् । सुनसरीमा ७१ पशुको मृत्यु भएको छ, जसमा ६८ गाई र ३ भैंसी छन् । सुनसरीका ११ हजार ४८१ पशुमा खोप लगाइएको छ ।

मोरङ जिल्लामा ३ हजार ७१६ पशुमा संक्रमण देखिएको छ । जसमध्ये ३ हजार ७०४ गाई र १२ भैंसी छन् । मोरङमा ६४ पशुको मृत्यु भएको छ, जसमा ६३ गाई र एउटा भैंसी रहेको छ । मोरङमा११ हजार ६०४ पशुमा खोप लगाइएको छ ।
न्यूनतम संक्रमण भएका जिल्लाहरुमा उदयपुरमा ४२५ पशुमा संक्रमण देखिएको छ । यसमध्ये ४१० गाई र १५ भैंसी छन् । उदयपुरमा ८ पशुको मृत्यु भएको छ र ४ हजार ४४७ पशुमा खोप लगाइएको छ । इलाम जिल्लामा ३९६ पशुमा संक्रमण देखिएको छ, जसमा ३८१ गाई र १५ भैंसी छन् । इलाममा ५ पशुको मृत्यु भएको छ भने ५ हजार ३७६ पशुमा खोप लगाइएको छ । भोजपुरमा ३७६ पशुमा संक्रमण देखिएको छ, जसमध्ये ३७५ गाई र एउटा भैंसीमा संक्रमण भेटिएको छ । भोजपुरमा ७ पशुको मृत्यु भएको छ र ३ हजार २५७ पशुमा खोप लगाइएको छ ।

यस हप्ता कोशी प्रदेशमा ५६ हजार ७१ पशुमा लम्पीस्किनविरुद्ध खोप लगाएर रोगको संक्रमण नियन्त्रण गर्ने प्रयत्न सरकारले गरेको छ । यस वर्ष कोशी प्रदेशका २ लाख ६२ हजार ६०९ पशुमा खोप लगाइएको निर्देशक अधिकारीले जानकारी दिए ।
तराई क्षेत्रका जिल्लाहरुमा संक्रमण बढी देखिएको छ भने पहाडी जिल्लाहरुमा तुलनात्मक रूपमा कम संक्रमण देखिएको छ । विशेष गरी बाछाबाछीहरुमा यस रोगको प्रभाव बढी देखिएकाले पशुपालकहरुले विशेष सावधानी अपनाउनुपर्ने सुझाव निर्देशनालयले दिएको छ ।

मङ्गलबार, ३१ असार, २०८२, बिहानको ०९:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर