सीता दाहालको स्मृतिमा सुन्दरहरैचाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विराटनगर । सीता दाहालको दोस्रो वार्षिक स्मृति दिवसको अवसरमा मोरङको सुन्दरहरैचा नगरपालिका–५ स्थित श्रीलाल आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य जीवन आचार्यको प्रमुख आतिथ्यमा ७० बढी विद्यार्थीहरूलाई झोला, कापी, कलम, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य आचार्यले स्व.सीता दाहालको योगदानको स्मरण गर्दै शिक्षा क्षेत्रमा लगानी र पहुँच विस्तारको आवश्यकता औंल्याए। “सीता दाहालले समाज र राजनीतिक रूपान्तरणमा निर्वाह गर्नुभएको भूमिकालाई आगामी पुस्ताले बुझ्न जरुरी छ। शिक्षा नै समृद्धिको आधार हो भन्ने उहाँको सोचलाई व्यवहारमा उतार्न हामी सबै प्रतिबद्ध हुनुपर्छ,” उनले भने।

विद्यालयमा अध्ययनरत आर्थिक रूपले पछाडि पारिएका र विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी वितरण गरिएको सामग्रीले पठनपाठनमा टेवा पुग्ने विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, र स्थानीय अगुवाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सीता दाहालको स्मृति दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोडेर विद्यालयमा सहयोग पुर्‍याउनु सकारात्मक सन्देश दिने कार्य भएको सहभागीहरूले बताएका थिए।

नेकपा माओवादी केन्द्रका सल्लाहकार एवं अध्यक्ष प्रचण्डकी जीवन संगिनी दाहालको दुई वर्ष अगाडि निधन भएको थियो।

शुक्रबार, २७ असार, २०८२, साँझको ०६:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर