विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउन युवालाई प्रेरित गर्नुपर्ने बताएका छन् ।
शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्रीले २० वर्षमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान जन्माउनुपर्ने बताए ।
अहिले मुलुकको नीति २ सन्तान रहेको छ । त्यसविपरित प्रधानमन्त्रीले प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने भन्दै ३ सन्ताजन जन्माउनुपर्ने बताए । ‘मेरा सन्तान छैनन्, किन भएनन् भनेर उपचार पनि गराइन’ उनले भने, ‘यति साह्रो व्यस्त हुनुपनि भएन ।’
ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरे । सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न उनको सुझाब थियो ।
अहिले ४० कटेपछि रमाउला भन्ने गीत चर्चामा रहेको बताउँदै प्रधानमन्त्रीले त्योबेला ढिलो भइसक्ने बताए । सन्तान जन्माउनुलाई रमाउनुको अर्थ लगाउँदै उनले भने, ‘४० वर्षमा ढिलो भइसक्छ, ३० वर्षमै तीन सन्तान जन्माइसक्नुपर्छ ।’ उनले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रूपमा लिनुपर्ने बताए ।
‘मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ । जनसङ्ख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरू चाल्नुपर्छ,’ उनले भने ।
सन्ताले डाँडाकाढा ढाकुन् नभनेर जनचेतना फैलाउँदा उल्टो असर परेर सन्तान नै नपाउने स्थिति भएकातर्फ चिन्ता व्यक्त गर्दै ओलीले विकास भएका देशमा पनि जनसङ्ख्या ऋणात्मक हुँदा मानव अस्तित्वको खतरा देखिएको दावी गरे । जनसङ्ख्याको उचित व्यवस्थापनका लागि यस नीतिको कार्यान्वयनमा लाग्नुपर्ने उनको भनाइ छ ।