गोल्डेन हस्पिटलले शल्यक्रिया सेवामा सहुलियत दिने

विराटनगर । गोल्डेन हस्पिटल विराटनगरले शल्यक्रिया सेवामा विशेष सहुलियत ल्याएको छ । बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा हस्पिटलले आफ्ना विभिन्न शल्यक्रिया सेवाहरूलाई सहज, सुरक्षित र किफायती बनाउने घोषणा गरेको हो ।

हस्पिटलका प्रबन्ध निर्देशक डा. श्यामकुमार रौनियारले लामो समयदेखि प्रतीक्षामा रहेका बिरामीलाई लक्षित गर्दै हस्पिटलले विशेष सहुलियत दरमा शल्यक्रियाको सेवा उपलब्ध गराउने योजना अघि सारेको बताए ।

उनका अनुसार हाइड्रोसिल र एपेन्डिक्सको शल्यक्रिया १९ हजार ९९९ रुपैयाँ, सिजरियन डेलिभरी १५ हजार र सामान्य डेलिभरी ४ हजार ९९९ रुपैयाँमा गरिनेछ । साथै, अन्य शल्यक्रिया सेवाहरू पनि यस्तै सहुलियत दरमा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

डा. रौनियारले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै नाफाभन्दा मानव सेवालाई प्राथमिकतामा राख्ने अस्पतालको मूल दृष्टिकोण रहेको बताए । उनले मातृ तथा शिशु मृत्युदर घटाउनु, गुणस्तरीय र सुरक्षित सेवा सुनिश्चित गर्नु तथा नागरिकलाई झन्झटिलो प्रक्रिया र लामो प्रतीक्षा सूचीबाट मुक्त गराउनु नै अस्पतालको मुख्य लक्ष्य रहेको जानकारी दिए ।

शल्यक्रिया सेवामा १० देखि १५ वर्षको अनुभव भएका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले ५ वर्षमुनिका बालबालिकालाई सम्पूर्ण सेवामा २५ प्रतिशत छुट तथा ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने पनि पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

‘तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी’ भन्ने नारालाई व्यवहारमा उतार्दै अस्पतालले पूर्वी नेपाल मात्र नभई देशभरका बिरामीलाई लक्षित गरेको छ । यस योजनाले नेपाली स्वास्थ्य क्षेत्रमा नयाँ उदाहरण स्थापित गर्ने विश्वास रहेको डा. रौनियारले बताए ।

अस्पतालले आगामी दिनमा थप जनमैत्री सेवाहरू ल्याउने प्रतिबद्धता जनाएको छ । यस निर्णयले विराटनगर मात्र नभएर देशभरका नागरिकलाई गुणस्तरीय र पहुँच योग्य सेवा उपलब्ध गराउने विश्वास अस्पतालको रहेको बताइएको छ ।

शुक्रबार, २७ असार, २०८२, साँझको ०५:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर