नर्स आत्महत्या प्रकरण : श्रीमानको मानसिक दवाबमा भएको आशंका

जितेन्द्र ठाकुर

विराटनगर । विराटनगरस्थित श्रीअस्पतालमा कार्यरक्त स्टार्फ नर्स पुजाकुमारी साहको मृत्युमा पतिको संलग्नता रहेको आरोप उनको परिवारले जनाएको छ । अनावश्यक मानसिक तनाव दिएर दुरुत्साहन गरेकै कारण पुजाले आत्महत्या गरेको उनीहरुले बताए । पुजाले विवाह गरेको चार महिनामा नै मृत्यु रोज्नुको कारण दाइजोका लागि दिइने गरेको दबाब मुख्य कारण भएको उनीहरुको दाबी छ ।

गएको फागुन १२ हिन्दु परम्परा अनुसार पुजाको बिहे पिन्टुकुमार साहसँग समाजिक परम्परा अनुसार भएको थियो । विराटनगरको नोबले अस्पतालमा एचए पदमा कार्यरत पिन्टुले बिहेपछि समान्य कुरामा पनि गम्भीर मानसिक दबाब दिने गरेको पुजाका बुवा बडेलाल साहले बताए । पुजाको विराटनगर महानगरपालिका ७ स्थित डेरामा मृत्यु भएको थियो ।
विवाह हुनु अघिदेखि नै पुजा श्रीअस्पतालमा कार्यरक्त थिइन् भने उनका पति विर्तामोडमा कार्यरक्त थिए ।

विवाह पश्चात पुजा बस्दै आएको कोठमा पिन्टु पनि बस्न थालेको उनको आफन्तले बताए । पतिको दीर्घायुको कामनासहित मिथिलमा विवाहित महिलाले लिने गरेको बटसावित्रिको ब्रतको दिन नै पुजाको बुवा बडेलालले ज्वाइँ पिन्टुलाई मोटरसाइकल किनेर दिएका थिए । विवाह गर्ने बेलामा भएको दाइजोको सम्झौता अनुसार करिव तीन लाख पर्ने मोटरसाइल ज्वाइँलाई दिएका हुन् । ज्वाइँ अस्पताल जान र आउन दैनिक दुई सय भाडा खर्च लाग्ने भएकोले दुःख गरेर ज्वाइँका लागि मोटरसाइकल किनिदिएको उनले सुनाए ।

सप्तरीकै खड्क नगरपालिका २ दुहबी टोल बस्ने पिन्टुको मानसिक दवाव सहन नसकेपछि पुजाले जागिर छोडेर माइत आउने बताएको बुवा बडेलालले बताए । उनले भने, ‘म बिहान १० बजेसम्म आउँछु भनेर उसले भनेकी थिई, मैले ज्वाइँसगै आउनु केही समस्या भए समाधान गर्नुपर्छ भनें । उसले ज्वाइँले टर्चर दिइरहन्छ भनेपछि बिहानै आउँछु भन्थी तर…।’

छोरी घरमा आउने कुरा गरेपछि ज्वाइँलाई समेत फोन गरेर सँगै आउन आग्रह गरेको उनले सम्झिए । तर ज्वाइँले चाहिँ छोडपत्र गर्ने कि नगर्ने भनेर जवाफ दिनु भनेर मेसेज पठाएको उनले देखाए । मेसेज आएपनि तत्काल नदेखेको भन्दै उनले भने, ‘अर्को दिन बिहान ९ बजे ज्वाइँले नै छोरीको मृत्यु भएको खबर गरे ।’

पिन्टुले पुजा काम गर्ने अस्पतालको वरिपरि र अस्पतालमा नै आएर बेला बखत मानसिक यातना दिने गरेको बताइएको छ । पुजाले काम गर्ने स्थानमा जाने, चुरोट र मदिरा खाएर फोन गरी हैरान बनाउने गरेको अस्पतालका एक सहयोगीले सुनाए ।
पिन्टुको दबाबकै कारण पुजाले इच्छाविपरीत गर्भपतनसमेत गराएकी थिइन् । तर त्यस बारेमा परिवारलाई नसुनाइएको उनका सहकर्मीले बताए ।

घटनाको विषयमा पिन्टुले आफूहरु बिच कुनै ठुलो तनाव र समस्या नरहेको तर सामान्य मतभेद भने हुने गरेको स्वीकार गरे । उनले आफूले आत्महत्या गर्नेगरी दुरुत्साहन नगरेको र कुनै दबाब नदिएको दाबी गरे । उनले भने, ‘समान्य मतभेद थियो । मेरो केरियर राम्रो बनाउन पुजाले दुई महिनाको गर्भपतन गराएकी हुन् ।’

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कोपीला चुडालले घटनाको छानविन गरिरहेको र केही दिनमै घटनाको यथार्थ खुल्ने बताइन् । उनले मोवाइल फोन परीक्षणको रिपोर्ट आएपछि धेरै कुरा खुल्ने विश्वास व्यक्त गरेकी छन् ।

बुधबार, २५ असार, २०८२, बिहानको ०८:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर