सहमतिपछि धरानको भुक्तानी सुचारु

धरान । उपप्रमुख आइन्द्रबिक्रम बेघाको असहमतिबीच मेयर हर्कराज राई (साम्पाङ)सहित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुबीच सहमति भएपछि सुनसरीको धरान उपमहानगरपालिकाको भुक्तानी सुचारु भएको छ ।

सुनसरीको धरान १६ नौलो बस्तीस्थित बहुभाषिक पाठशाला जोगाउन लगाएको तारजालीको भुक्तानी दिन कार्यपालिकाहरुले सर्जिमिन गरिदिएपछि मेयर साम्पाङले कब्जामा राखेको भुक्तानीका फाइल फिर्ता गरेका छन् ।

स्थलगत निरीक्षण पश्चात तारजालीको काम भएको देखिएको र उपभोक्ता समितिलाई भुक्तानी दिए फरक नपर्ने सर्जमिन मुचुल्का जनप्रतिनिधिहरुले गरिदिएका हुन् । सहमतिपछि वडा १६ को तारजालीसँगै मेयर साम्पाङले आफुसँग राखेको विभिन्न योजनाहरुको फाइल भुक्तानी प्रक्रियामा अघि बढेको छ ।

स्थलगत निरीक्षण र सर्जमिन मुचुल्कामा स्थानीयबासीसँगै एमाले, कांग्रेस र राप्रपाबाट निवार्चित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु सहभागी भएका थिए । उपमेयर बेघा र वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज) सहभागी भएनन् ।
उपमेयर बेघाले गैरकानुनी कार्य भएकोले आफूहरुले सहमति नजनाएको बताए । ‘गैरकानुनी काम भएको छ, जसले सदर गर्छ, उसैले जान्दछ,’ उनले भने, ‘मेरो सर्त केही छैन । फरक मत हो मेरो । कसैले भुक्तानी गर्छ भने उसले जिम्मेवारी लिन्छ ।’ मेयर साम्पाङले श्रमदानका नाममा गैरकानुनी रुपमा उपमहानगरपालिकाको बजेट प्रयोग गर्दै किर्ते फायल खडा गरेकोले त्यो फायलमा हस्ताक्षर नगर्ने अडान उनले राखेका हुन् ।

नगर प्रमुखले वैशाख १६ र १७ गते सम्पन्न भएको भनिएको आयोजनामा वैशाख २५ गते निवेदन दर्ता गराएर वैशाख २६ गते आयोजना सुरु गरेको कागजी प्रक्रिया बनाएको उमेयर बेघाले बताउँदै आएका छन् । उनका अनुसार श्रमदान लगातार १ गतेदेखि १३ गते सम्म भएको भनी डोर हाजिर गरिएकोले पनि किर्ते भएको स्पष्ट हुने उनको भनाइ छ ।

मेयर साम्पाङले वडा १६ को तारजालीको भुक्तानी नभए अन्य कुनै पनि योजनाको भुक्तानी पनि नहुने अडान राखेर भुक्तानीको सबै फायल कब्जा गरेका थिए । संघ र प्रदेशको ससर्त अनुदान, समपुरक अनुदान र सडक बोर्डको सम्पन्न योजनाहरुको भुक्तानी बुधबारसम्म नभए बजेट फिर्ता हुने र यसको दायित्व उपमहानगरमा थपिने जोखिम थियो ।

भुक्तानी नपाउने अवस्था देखेर निर्माण व्यवसायीहरु पनि अत्यन्त चिन्तित थिए । धरानका इञ्जिनियर प्रकाश शर्माका अनुसार धरान १६ मा लागत प्राविधिक विल वमोजिम जम्मा १७ लाख ४० हजार २९४.२२ पैसाको काम सम्पन्न भएको छ । त्यसमध्ये श्रमदानबाट ९ लाख ९८ हजार ७६० बराबर (५७ प्रतिशत) को काम भएको छ भने बाकी तारजालीको भुक्तानी लगत स्टमेटमा सम्झौता भएवमोजिम ७ लाख ४१ हजार उपभोक्ता समितिले पाउनेछ ।

वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले निरन्तर संवाद गरेर तयार पारेको सहमतिको पहिलो बुँदामा उपभोक्ता समिति गठन गर्दा यस कार्यालयको उपभोक्ता गठन कार्यविधिको अनिवार्य पालना गर्ने, वडाभित्र सञ्चालित आयोजनाहरु उपभोक्ता समितिमार्फत गर्नुपर्दा उपभोक्ता समितिमा योजनाको लाभग्राहीलाई समावेश गरी गठन गर्ने उल्लेख छ । यस्तै, वडा १६ को बहुभाषिक पाठशाला पश्चिम सर्दु खोलामा ग्याबिन वाल लगाउने आयोजनामा प्रकृयागत त्रुटी देखिएकोले नगर प्रमुख, उपप्रमुख, सम्पुर्ण वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरुसमेतको उपस्थितिमा सर्वपक्षीय सहमतिमा अनुगमन गरी नगरपालिकाबाट पत्राचार गरेपछि वडा समितिको सिफारिशमा भुक्तानी दिने उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिृकतलाई मेयर साम्पाङले लेखेको पत्र फिर्ता लिई सामाजिक सञ्जालबाट हटाउने र पत्र फिर्ता भएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराउने सहमति पनि भएको छ । नगरपालिकाको आन्तरिक बिषय जनप्रतिनिधि र कर्मचारीको आत्मासम्मानमा चोट पुग्ने गरी कोही कसैले सामाजिक सञ्जालमा नराख्ने सहमति पनि भएको छ ।

मङ्गलबार, २४ असार, २०८२, साँझको ०६:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर