विराटनगर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक शून्य दशमलव १४ अङ्कले घटेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो ।
यस दिन ३०४ कम्पनीको एक करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर ५६ हजार २७६ पटक खरिदबिक्री हुँदा ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ बराबरको कारोबार भएको छ । सोमबार ८ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको बजारमा कारोबार घटेको हो ।
यस दिन बुटवल पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ८.२१ प्रतिशत बढेको छ । त्यस्ते, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने रिभर फल्स पावरको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा धेरैले बढेको छ कारोबारमा आएको रसुवागढी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ५.०८ प्रतिशत घटेको छ । मूल्य घटेका अन्य स्टकहरुको गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल रि इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५१ करोड ६७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन बुटवल पावर कम्पनीको साढे ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको कारोबार रकम ४१ करोड नाघेको छ ।
बजारका १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२५ प्रतिशत बढेको छ । अरु उपसमूहको परिसूचक भने यस दिन सामान्य बढेको छ । यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।