वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार थप ४३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्षसहित दुई पत्रकार र अन्य ४१ जना एकैदिन कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् ।
पत्रकारहरु गत वैशाख ३० मा कोरोना पोजेटिभ पुष्टि भएपछि आइसोलेसनमा भर्ना भएका थिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार संक्रमितको पछिल्लो दुई परीक्षणमा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो ।
सोमबार डिस्चार्ज हुनेहरु एक जना सर्लाहीका र ४२ जना पर्साका हुन् । नारायणी अस्पतालको आइसोलेसन वार्डबाट आइतबार राति मात्रै करिब ११ बजे वीरगन्ज छपकैयाका एकै परिवारका १८ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए भने शनिबार ९ जना डिस्चार्ज भएका थिए ।
पछिल्लो ३ दिनमा नारायणी अस्पतालको आइसोलेसन वार्डका ७० जना कोभिड १९ संक्रमित निको भएर घर फर्किएका छन् । सोमबार ४३ जना डिस्चार्ज भएसँगै अस्पतालमा अब कोरोना संक्रमित छैनन् । बीरगञ्जकै गण्डक अस्पतालमा बनाइएको अस्थाई कोरोना अस्पतालमा २७ जना संक्रमितको उपचार भइरहेको छ ।