विराटनगर । विराटनगर महानगरपालिका–४ इक्राहीस्थित केसलिया खोलामा माटो चोरको बिगबिगी बढेको छ । दिनदहाडै खोलाबाट ठूलो परिमाणमा माटो चोरी गरी लैजाने गरिएको भएपनि नियमनकारी निकायहरुले आँखा चिम्लेर बस्दा चोरी धन्दामा संलग्नहरुको मनोबल बढेको छ ।
माटो चोरी गर्नेहरुले खोला किनारमा दोहन गर्दा राज्यको लाखौं राजश्व गुमेको छ भने अनधिकृतरुपमा जथाभावी उत्खनन् गर्दा बर्खामा खोला नै बस्तीमा पस्ने जोखिम पनि बढेको छ ।त्यहाँबाट दिनहुँ दर्जनौं ट्र्याक्टरबाट भरौट र बालुवा अवैध निकासी भइरहेपनि सम्बन्धित निकाय विराटनगर महानगरपालिकाको नगर प्रहरी र स्थानीय प्रहरी प्रशासन मौन देखिन्छन् ।
केसलिया खोलाबाट ट्याक्टरमा बालुवा लोड भइरहेको दृश्य जो कोहीले सजिलै देख्न सक्छ तर मिलेमतोमा अवैध रुपमा माटो र बालुवा निकासी गर्नाले उनीहरुमाथि कुनै कारवाही भएको छैन ।
‘सरकारले अहिले असारदेखि भदौसम्म खोलामा ट्याक्टर लगेर उत्खनन गर्न प्रतिबन्ध लगाएको छ । तर, केसलिया खोलामा हरेक दिन दर्जनौं ट्याक्टरबाट माटो निकासी भइरहेको छ’, एक स्थानीयले भने, ‘महानगरपालिकाको नगर प्रहरीदेखि राजनीतिक एवं प्रशासनिक अधिकारी तथा प्रहरी प्रशासनको आड नपाए कसैले यसरी भरौट निकाल्न सक्छ् ?’ निर्माण कार्यका लागि भरोट र बालुवा ढुवानी गर्ने व्यवसायीले महानगरपालिका र स्थानीय प्रशासनलाई मिलाएर माटोको अवैध तस्करी गरिरहेको स्थानीयको आरोप छ ।
अहिले केसलिया खोलाबाट अवैध रुपमा माटो उत्खनन् गणेश यादवको को १ त ३५८ नम्बरको ट्याक्टर, कमल यादव, अम्लु यादव, जयकिशोर यादव, प्रभुलाल यादवले गर्दै आएका छन् । उनीहरुले अहिले दैनिक एक जनाले ५ देखि ८ टिप ट्याक्टर माटो उत्खनन गरेर बिक्री गर्दै आएका छन् । अवैध रुपमा उत्खनन् गरेको एक ट्याक्टर माटोको विराटनगरभित्र १ हजार ५ सय देखि २ हजार रुपैयाँसम्म बिक्री गर्दै आएका छन् । यहाँबाट दैनिक सयौ ट्याक्टर भरौट निकालेर बिक्री हुने गरेको छ । जसले गर्दा अहिले केसलिया खोलामा १५ देखि २० फिटसम्म गहिरा खाडलहरु प्रसस्तै भेटिन्छन् । जसले गर्दा बर्खामा बाढी आउँदा बस्तीमा पस्ने खतरा बढेको स्थानीय बताउँछन् । यसरी अवैध रुपमा उत्खनन् गर्दा वर्सेनि केसलिया खोलाको बाढी बस्तीमा पस्दा विराटनगरको दक्षिण क्षेत्र डुवानमा पर्ने गरेको छ ।
अवैध उत्खनन् बिहान, दिउँसो र साँझको समयमा हुने गरेको छ । ‘केसलिया खोलामा अवैध उत्खननमा ट्याक्टर छिराएपछि स्थानीय प्रहरीलाई मिलाएकोले जिल्लाबाट प्रहरी टोली आउँछ कि भनेर निगरानी राख्नको लागि इक्राही चोकमा टोली खटाउने गरेको छ । इक्राही चोकबाट पश्चिमतर्फ प्रहरीको टोली लागेपछि उनीहरुलाई सूचना पुग्छ । त्यसपछि हतारहतार गर्दै ट्याक्टर खोलाबाट निकालेर भगाउँछन्,’ यहाँका एक जना स्थानीले भने । यसरी अवैध रुपमा उत्खनन हुने गरेको जानकारी पाएपछि बिहीबार दिउँसो संचारकर्मीहरुको टोली विराटनगर ४ इकराइस्थित केसलियखा खोलामा पुगेका थियौं । हामी यहाँ पुग्दा चार वटा ट्याक्टरमा अवैध रुपमा भरोट उत्खनन् भइरहेको थियो । संचारकर्मीहरुले फोटो र भिडियो खिच्न थालेपछि को १ त ४५८, ५४३१, १२२३, २४८० नम्बरको ट्याक्टरमा खोलाको आधा माटो मात्रै भोरेर बाहिर निस्कियो ।
स्रोतले दिएको जानकारी अनुसार अवैध रुपमा उत्खनन गर्नेहरुले नगर प्रहरीलाई मासिक रकम बुझाउने गरेको आरोप लगाए ।
विराटनगर महानगरपालिकाको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले जनशक्ति अभावको कारणले गर्दा खोलाहरूमा अनुगमन गर्न नसकिएको बताए । ‘यसअघि हामीसँग ४६ जना जनशक्ति रहेको थियो । अहिले १३ जना मात्रै रहेका छौं । भएको जनशक्तिले बजारतिर हेर्दा ठिक्क भएको छ,’ उनले भने, ‘हामीसँग म्यानपावर नभएपछि खोलामा हुने अवैध उत्खनन रोकथाम र नियन्त्रणको लागि हामीले जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार पनि गरेका छौं ।’
विराटनगर महानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन थपलियाले असार, साउन र भदौमा खोलाबाट कुनै पनि किसिमका नदीजन्य पदार्थ निकाल्न नपाइने र त्यस्तो गरेको पाइए कानुन अनुसार कारवाही हुने बताए । नगर प्रहरीलाई तत्काल पठाएर घटनाबारे बुझनले उनले बताए ।