कोशीमा मन्त्रीहरूको लफडा:

मुख्यमन्त्रीले अनावश्यक दबाब दिए, चाहेर पनि मलाई पदबाट हटाउन सक्दैनन् : मन्त्री हाङ्गाम

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हांगामले मुख्यमन्त्रीले चाहेर पनि आफूलाई पदबाट हटाउन नसक्ने बताएका छन् ।

गृहजिल्ला ताप्लेजुङमा एक युवालाई कुटपिट गरेर विवादमा आएका मन्त्री हांगामले पार्टी केन्द्रको सिफारिसमा मन्त्री भएकोले मुख्यमन्त्रीले हटाउन नसक्ने जिकिर गरेका हुन् ।

सरकारका मन्त्रीहरुले आफ्नो निर्देशन विपरीत काम गरे जुनसुकै बेला पदबाट हटाउन सक्ने अधिकार मुख्यमन्त्रीलाई हुन्छ । तर, संयुक्त सरकार भएकोले मुख्यमन्त्रीले हटाउन नसक्ने दाबी मन्त्रीहरुको छ । मन्त्री हाङ्गामले मुख्यमन्त्रीलाई खुलेआम चुनौती नै दिएका छन् ।

मन्त्री हांगाम विवादमा परेपछि विषयमा उनलाई फिर्ता लैजान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई आग्रह गरेको यसअघि सार्वजनिक भएको थियो । तर, यस विषयमा संसदीय कांग्रेसले कुनै निर्णय गरेको छैन ।

कांग्रेसका अर्का मन्त्री सदानन्द मण्डलले कर्मचारीसँग क्युआर पठाएर रकम मागेको विवादमा परेका छन् । एकपछि अर्का मन्त्री विवादमा परेपनि मुख्यमन्त्री कार्कीले केही गर्न सकेका छैनन् ।

मन्त्री हांगाम र मुख्यमन्त्री कार्कीबीच पछिल्लो समयमा राम्रो सम्बन्ध छैन । उनीहरूबीच राम्रो बोलचाल पनि नरहेको बताइएको छ ।

मन्त्री हाङ्गामाले भने मुख्यमन्त्रीको अनावश्यक दबाब स्वीकार नगर्दा आफूलाई हटाउन खोजिएको आरोप लगाएका छन् । ‘मलाई हटाउनु भनेर मुख्यमन्त्रीले दलका नेतालाई आग्रह गरेको मैले पनि थाहा पाएको छु । तर, यो दुई दलको संयुक्त सरकार हो,’ उनले भने, ‘मेरो मन्त्री पद माथिबाटै तय भएर आएको हो । दलले अथवा मुख्यमन्त्रीले चाहेर मात्र केही हुँदैन ।’ आफूले सरकारमा रहेर कुनै गलत काम नगरेको उनको दाबी छ।

हाङ्गामले चालू आर्थिक वर्षको बजेटमा राखिएको चिया सम्मेलन मुख्यमन्त्रीले चाहेको व्यक्तिलाई आयोजना गर्न दिन दबाब आएको बताएका छन् । आफूले त्यसलाई अस्वीकार गरेका कारण कृषिमा विपद्को लागि विनियोजित बजेट पनि अन्यत्र लगिदिएको उनको आरोप छ । 

मन्त्री र मुख्यमन्त्रीबीच कुरो नमिल्दा चिया सम्मेलनको बजेट फ्रिज भएको थियो। मन्त्रीले असहमति जनाएको कारण नै मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्षको लागि चिया सम्मेलन गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेट राखेका छन्।

‘मुख्यमन्त्रीज्यू र उहाँको सचिवालबाट पनि त्यस्तै दबाब थियो तर मैले मानिनँ,’ उनले भने, ‘त्यही भएर पनि मसँग बढी बायस भएजस्तो लाग्छ ।’ मन्त्री हांगामले प्रदेशसभा बैठकमै आफ्नो मन्त्रालयको बजेट घटाएको भन्दै असन्तुष्टि जनाएका थिए ।

नेपाली कांग्रेस संसदीय दलका  प्रमुख सचेतक गोपाल तामाङले सरकारका मन्त्रीको काम कारबाहीको बारेमा दलभित्रबाट समीक्षा भइरहेको बताएका छन् । ‘सरकार हेरफेर गर्ने कुरामा संसदीय दलका नेताहरूको बिचमा हुने कुरा हो, तर, दलहरूभित्र पनि मन्त्रीहरूको मुल्यांकल भइरहेको छ, मन्त्री  परिवर्तन हुनसक्छ’ उनले भने ।

शुक्रबार, २० असार, २०८२, दिउँसोको ०२:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर