विराटनगर । विराटनगरका कुख्यात मिटरब्याजी सञ्जय प्रसाद रौनियार उर्फ ‘मन्टु’ लाई जिल्ला प्रशासन कार्यालय मोरङमा उपस्थित गराउन निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार मोरङ प्रहरीलाई पत्रचार गर्दै अविलम्ब मन्टुलाई कार्यालयमा झिकाउन आदेश गरेको हो।
मन्टु छलफलमा नआएर मोबाइल अफ गरेर बसेपछि प्रहरीलाई तत्काल झिकाउन आदेश गरेको जिल्ला प्रशासन कार्यालय मोरङका सहयोगी प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता विनोद कुमार पोखरेलले जानकारी दिए। मिटरब्याजी मन्टुविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा २० जना पीडितले उजुरी दिएका छन्।
उजुरी परेपछि प्रशासनले छलफलमा एक हप्ता अगाडि पनि बोलाएको थियो। छलफलमा मन्टु बेहोस भएको बहाना बनाएर उनी फुत्किए। त्यसपछि मोबाइल अफ गरेर बसेका छन्। त्यसैले उनलाई तत्काल जिल्ला प्रशासनमा झिकाउन पत्रचार गरेको सहयोगी प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। त्यसपछि थप प्रक्रिया अगाडि बढाउने उनले बताए।
‘मन्टु’ विरुद्ध अनुचित लेनदेन ९मिटर ब्याज० सम्बन्धी उजुरीमा विपक्षी बनाइ पेश गरेको उजुरीमाथि छलफल गर्नुपर्ने भइ पटक पटक उपस्थित हुन जानकारी गराउँदा समेत इन्कार गरी मोबाइल अफ गरी बसेकोले छलफल प्रभावित भएको हुँदा निज विपक्षी सञ्जय प्रसाद रौनियारलाई अविलम्ब यस कार्यालयमा उपस्थित गराइदिनुहुन आदेशानुसार अनुरोध छ,’ बिहीबार गरेको पत्रमा उल्लेख छ।
मन्टु १६ महिना जेल बसेर निस्किएपछि पनि कर्जा दिएका सर्वसाधारणलाई झूटो तमसुक देखाएर अदालतमा मुद्दा हाल्ने र सर्वसाधारणलाई हुलाकमार्फत पैसा मागेर आतंक पारेपछि उनीविरुद्ध प्रशासनमा जाहेरी दिएका हुन्। मिटरब्याजुको नाममा आर्थिक विपन्न, अशिक्षित र कमजोर वर्गका मानिसहरूलाई आर्थिक र मानसिक रूपले पीडा दिने मन्टुको शृंखला जेल बाहिर आएपछि झन् भयावह बन्दै गएको छ ।
प्रशासनमा मन्टुविरुद्ध उजुरी दिनेमा गुल्जार मियाँ, दिलिप कुमार मण्डल, संगीता कामत, सावित्रा प्रसाई, बेबी खातुन, रोसनी खातुन, मिना शाक्या, मञ्जु शर्मा, गणेश राय, गोपाल राउत, राजेन्द्र चौधरी, अमित यादव, खगेन्द्र कुमार केवरत, साजिद मियाँ, परमेश्वर कामत, दिपक कुमार रायलगायत छन्। मन्टुको आतंक फेरि सुरु भएकोले हामीले सामुहिक रूपमा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको सुनवर्षी नगरपालिका–४ का अमित यादवले बताए।

२०७९ जेठ ९ गते मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश कपिलमणि गौतमको इजलासले मन्टुविरुद्ध दायर भएको ठगी र अपराधिक लाभ मुद्दाबाट सफाइ पाएपछि चिठी पठाएर पैसा माग्ने गरेको सर्वसाधारणको भनाइ छ। पीडितहरूका अनुसार, उनीहरूले पहिल्यै मन्टुलाई साँवा र ब्याज गरी बढी पैसा तिरेर जग्गा फिर्ता लिएका थिए। तर अब फेरि मन्टुले ुअझै पैसा तिर्नु बाँकी छु भन्दै पत्र पठाएर त्रास फैलाइरहेको उनीहरूको गुनासो छ।
मन्टुबाट मिटरब्याज पीडित भएका १७ जनाले मोरङ प्रहरीमा ठगी र अपराधिक लाभ मुद्दामा जाहेरी दिएपछि २०७७ मंसिर २९ गते पक्राउ परेका थिए। १३ माघ २०७७ मा मन्टुविरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको थियो।
मन्टुले १७ जना सर्वसाधारणलाई विभिन्न मितिमा ुठगीु र अपराधिक लाभ लिएको मोरङ प्रहरीको अनुसन्धानबाट पुष्टि भएपछि १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रुपैयाँ बिगो, दुवै मुद्दामा ७ वर्ष कैदको मागदाबी लिएर मुद्दा दायर भयो।
०७७ माघ २० गते मोरङ अदालतका तत्कालीन न्यायाधीश ईश्वर पराजुलीको इजलासले मन्टुलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिए। त्यसपछि उनी मोरङ कारागार चलान भए।
कारागार गएपछि फैसला हुनुभन्दा अगाडि बकपत्र भयो। त्यसबेला मन्टुविरुद्ध उजुरी दिने १७ जना सर्वसाधारणको जग्गा फिर्ता गरिदिने कबुल गरे। त्यसबेला निवेदकहरू र मन्टुबीच जग्गा फिर्ता गरिदिने छलफल भयो। मन्टुले सहमतिको पत्रमा हस्ताक्षरको लागि श्रीमती ज्योती रौनियारलाई अख्तियारी दिएका थिए।
सोही सहमति अनुसार १७ जना पीडितको जग्गा फिर्ता भयो। २०७९ जेठ ९ सफाइ पाएर मन्टु जेलमुक्त भए। जेलबाट सफाइ पाएर छुटेको दुई वर्षपछि फिर्ता गरेको जग्गाको पैसा दिनुपर्ने भन्दै १७ जना मध्ये ११ जनालाई पत्र पठाउँदै पैसा माग्ने गरेका हुन्।