चोरीका घटनामा लागुऔषध प्रयोगकर्ताको संलग्नता : पूर्वमुख्यमन्त्री कै मोबाइल चोरी

विराटनगर । विराटनगरमा हालका दिनहरूमा बढ्दो चोरीका घटनाहरूमा लागुऔषध प्रयोगकर्ताहरूको मुख्य संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। जोगवनी नाकामा सुरक्षा व्यवस्था कडा गरेपछि यस क्षेत्रमा चोरीका घटनाहरू उल्लेख्य वृद्धि भएको मोरङ प्रहरीले जनाएको छ।

गत वैशाख २७ गते कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाको कोठाबाट दुई वटा मोबाइल चोरी भएको घटनामा विराटनगर महानगरपालिका वडा नम्बर २ सरस्वती टोल बस्ने ३० वर्षीय सुमन तोलाङीको संलग्नता पाइएको छ। चोरी गरेका दुवै मोबाइल भारत लगेर बेचेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

तोलाङीले पूर्वमुख्यमन्त्री थापाको कोठा फुटाएकै दिन विराटनगर ३ बरगाछीस्थित पार्टी प्यालेस सञ्चालकको कोठाबाट दुई लाख नगद र सुनका गहनाहरू चोरी गरेका थिए। उनले सुनको सिक्री, सुनको बाला र औँठीलगायतका गरगहना चोरेका थिए।
यसअघि वैशाख १९ गते उनले मोरङ बूढीगंगा गाउँपालिका वडा नम्बर १ बस्ने नवराज भट्टराईको घरबाट घरको चाबी फुटाएर दराज भित्र राखेको सुनको तिलहरीलगायतका गहना चोरी गरेका थिए।

गत वैशाख ११ गते मोरङको कटहरी गाउँपालिका वडा नम्बर ४ स्थित राज मोबाइल केयर पसलमा अज्ञात व्यक्तिहरूले ल्यापटप, एन्ड्रोइड मोबाइलहरू र मर्मतका लागि ल्याइएका पुराना मोबाइलहरू चोरी गरेका थिए ।

यस घटनामा मोरङको धनपालथान वडा नम्बर ७ बस्ने २२ वर्षीय विशालकुमार सिंहलाई गत जेठ २७ गते प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेपछि सिंहले चोरीका सामान विराटनगर महानगरपालिका वडा नम्बर ११ मा डेरा गरी बस्ने २६ वर्षका रोशनकुमार मण्डलको कोठामा लुकाएर राखेको बताएका थिए ।प्रहरीले मण्डलको कोठामा तलासी गर्दा विभिन्न कम्पनीका नयाँ मोबाइल सेट, पुराना मोबाइल सेट र चोरी कार्यमा प्रयोग हुने औजारहरू जस्तै ड्रिल मशिन, हथौडा, रड, पेचकस, पिलास लगायतका सामग्री बरामद गरेको थियो ।

गत जेठ ६ गते बाँकेको नेपालगन्ज उपमहानगरपालिका २२ वर्षीय दीपेश तामाङ विराटनगरमा विभिन्न व्यक्तिहरूको घर र वरिपरिका सामानहरू चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । मण्डल र उनको कोठामा सँगै रहेका भारत अररिया जिल्लाका १८ वर्षका कृष पासवानलाई समेत पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानबाट चोरीमा दुई वटा फरक समूहको संलग्नता देखिएको छ। पहिलो समूहले बन्द घर देख्ने बित्तिकै तोडफोड गरेर हिँडिहाल्छ भने दोस्रो समूहले पहिलेदेखि नै नियालेर घरमा पसेपछि नगद, सुन र चाँदी मात्रै लिएर हिँड्छ। दोस्रो समूहले घरमा छिरेको दुईतीन घण्टासम्म लगाएर सामग्री खोज्ने गरेको पाइएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार जोगवनी नाकामा सुरक्षा व्यवस्था कडा गरेपछि विराटनगर क्षेत्रमा चोरीका घटनाहरू बढेको पाइएको छ। प्रहरी स्रोतका अनुसार नाकामा कडाइ हुनुअघि यी व्यक्तिहरूले सामान ओसारपसार गरेर १०००देखि १५०० सम्म कमाउने गर्थे, तर नाका कडा भएपछि उनीहरू चोरीमा संलग्न भएका हुन्।

एसपी चिमरियाका अनुसार चोरीमा संलग्न अधिकांश व्यक्तिहरू लागुऔषध प्रयोगकर्ता हुन्। प्रयोगकर्ताहरूले लागुऔषधको लत लागेपछि यस्ता आपराधिक गतिविधिमा संलग्न हुने गरेको उनको भनाइ छ।

प्रहरीले सबै पक्राउ परेकाहरूलाई चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

बिहिबार, १९ असार, २०८२, दिउँसोको ०१:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर