चिकित्सकहरूको सुरक्षा र अधिकारका लागि आन्दोलनको घोषणा

विराटनगर । उपभोक्ता अदालतले गरेको फैसलाहरूको विरुद्धमा नेपाल चिकित्सक संघले गरेका आन्दोलनका कार्यक्रमहरूप्रति नेपाल चिकित्सक संघ कोशी शाखाले ऐक्यबद्धता जनाएको छ।

अध्यक्ष डा.राजेन्द्र चौधरी र महासचिव डा. बालकृष्ण साहले एक विज्ञप्ति प्रकाशित गरी मंगलबार अस्पताल तथा निजी क्लिनिकहरूमा कार्यरत चिकित्सकहरूले कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने संघको आन्दोलनलाई समर्थन गरेको जनाएको हो । उक्त संस्थाले आन्दोलनमा सहभागी सबैलाई धन्यवाद दिएको छ ।

उपभोक्ता अदालतको फैसलाले अस्पताल, चिकित्सक लगायत स्वास्थ्यसेवामा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी तथा नर्सको मनोबल खस्किएको विज्ञप्तिमा उल्लेख छ । संघको केन्द्रीय कार्यसमितिको कार्यक्रमलाई निरन्तरता दिंदै बुधबार र बिहीबार पनि कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने सो संस्थाले जनाएको छ ।

यसैबीच नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयले यस सम्बन्धमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ। संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिले आन्दोलनको घोषणा गरेको हो । २००७ फाल्गुन २० मा स्थापना भएको नेपाल चिकित्सक संघ विश्व चिकित्सक संघ, दक्षिण एसिया चिकित्सक संघ र एसिया ओसानिया चिकित्सक संघ महासंघको सदस्य संस्था हो।

मङ्गलबार, १७ असार, २०८२, साँझको ०७:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर