विराटनगर । नक्कली प्रहरी बनेर लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २५ वर्षीय आसिफ अन्सारी रहेका छन् । घटनामा संलग्न तेस्रो व्यक्ति भने फरार छन् ।
पक्राउ परेका व्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी भन्दै असार ११ गते बिहान विराटनगर–१३ को महतो टोलबाट विक्रमकुमार साहलाई अपहरण गरी ३ लाख ६४ हजार रुपैयाँ लुटपाट गरेका थिए । अपहरण गरेर लुटपाट गरेको पाँच दिनपछि आइतबार उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार तीन जनाको समूहले महतो टोलबाट अपहरण गरेर विक्रमलाई आँखा अस्पताल छेउ हुँदै रेल–वे लाइनतर्फ लगेको थियो । त्यहाँ पुर्याएर उनीसँग रहेको ३ लाख ६४ हजार रुपैयाँ लुटिएको अनुसन्धानबाट खुलेको छ ।
साहले उक्त रकम बैंकमा मौज्जाद गर्न लैजाने क्रममा बिच बाटोमा रोकेर जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी हो भन्दै विराटनगर १४ जतुवास्थित एकान्त ठाउँमा पुर्याएर लुटपाट गरेको प्रहरीले जनाएको छ । घर फर्कंदै गर्दा बाटैमा ‘प्रहरी हौं’ भन्दै समातिएको र ‘पछाडि फर्केर हेरेमा मारिदिन्छौं’ भन्दै धम्क्याएर रकम लुटिएको विक्रमले बताएका छन् ।
प्रहरीले लुटपाटमा प्रयोग गरिएको को १४ प ३३३० नम्बरको रातो स्कुटर पनि बरामद गरेको छ । पक्राउ परेका दुबैजनामाथि शरिर बन्धक बनाइ डाँका गरेको मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको र फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।