नेप्सेमा बृद्धि हुँदा कारोबार घट्यो

विराटनगर । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

सोमबार नेप्से परिसूचक ९.१९ अंक बढेर २६३१.४८ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.९५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक बढेको छ ।नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । आइतबार ७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ६३ हजार ३७१ पटकको कारोबारमा ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँबराबरको १ करोड ४१ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सो कम्पनीको शेयरमूल्य ३२ रुपैयाँ ४८ पैसा बढेर ३५८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

कारोबारमा आएको पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ४.९२ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ ।साहस उर्जा कम्पनीको यस दिन ३६ करोड ५३ लाख ९८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन सानिमा माइ हाइड्रोपावरको करिब साढे ३१ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम साढे ३० करोड नाघेको छ ।

बजारका १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.६३ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ । यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।

असार १६, २०८२, साँझको ०६:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर