महानगरको महत्वकांक्षी बजेट

 सम्पादकीय

लक्ष्य अनुसार कुनै पनि वर्ष आम्दानी गर्न नसकेको विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि चालु वर्षको आम्दानीको दोब्बर बढि आम्दानी हुने दावीसहति बजेट ल्याएको छ । महानगरले मंगलबार सार्वजनिक गरेको ४ अर्ब ४० लाखको बजेट अति महत्वाकांक्षी देखिन्छ । १ अर्ब ४० करोड आन्तरिक राजस्व संकलनको लक्ष्य लिँदै विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, महिला सशक्तीकरणदेखि प्रविधिमैत्री सेवाप्रवाहसम्म विविध कार्यक्रम महानगरले प्रस्तुत गरेको छ । जबकि चालु वर्षमा महानगरले ६० करोड हाराहारी मात्र आम्दानी गर्ने अवस्था छ ।  विगतका तथ्यांकले देखाएको राजस्व संकलनको गति, खर्चको क्षमतागत कमजोरी र कार्यान्वयन पक्षको फितलो अवस्थाले यी योजनाहरूको यथार्थिकता माथि गम्भीर प्रश्न उठाउँछ ।

चालु वर्षमा जेठ मसान्तसम्मको तथ्यांक हेर्दा महानगरको आम्दानी ६५ प्रतिशतमा सीमित छ । आन्तरिक राजस्वतर्फ केवल ४० प्रतिशत मात्रै संकलन भएको छ । यसले देखाउँछ कि वास्तविक संकलनको धरातल कमजोर छ । विगत चार वर्षमा आन्तरिक आम्दानी ६४ करोडभन्दा माथि जान सकेको छैन । यो अवस्थामा आगामी १ अर्ब ४० करोडको लक्ष्य यथार्थविहीन र हावादारी हुने निश्चित छ । स्रोत परिचालन, करप्रणालीमा सुधार र नागरिक सहभागितालाई सशक्त बनाउने उपाय नअपनाई लक्ष्य निर्धारण गर्नु केवल आँकडामै सीमित हुनेछ । बजेटले ‘शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’को परिकल्पनामा पूर्वाधार, शिक्षा र स्वास्थ्यमा विशेष जोड दिएको छ । १५ करोडभन्दा बढीको स्वास्थ्य बजेट, ७५ करोडको शैक्षिक लगानी, मेगा विद्यालय निर्माण, स्मार्ट कक्षा, कृत्रिम बुद्धिमत्ता पढाउने योजना, नगर अस्पतालमा २४ घण्टा सेवा जस्ता कार्यक्रम महत्वाकांक्षी छन् । तर, कार्यान्वयन गर्नै सकिने किसिमका छन् भन्नेमा शंका गर्नुपर्ने अवस्था छ । यस्तै, महिला र युवालाई लक्षित गर्दै ‘एक घर एक रोजगारी’, उद्यमशीलता प्रवद्र्धन, सहकारी सुधार, शहरी कृषि लगायतका कार्यक्रमहरू समावेश हुनु सकारात्मक छ । तर, कार्यान्वयन क्षमतामा प्रश्न छ ।

कार्यक्रमहरू सार्थक बनाउन प्रशासनिक क्षमता, स्पष्ट कार्ययोजना, पारदर्शिता र जनसहभागितामूलक कार्यप्रणाली अपरिहार्य हुन्छ । बजेटमा पुँजीगत खर्च ३१ प्रतिशतमै सीमित छ । ठूला आयोजना तथा बहुवर्षीय योजनामा अपेक्षित गति नहुनु र स्रोत–व्यवस्थापन चुनौती बन्नुजस्ता विगतका गल्तीहरू यथावत् छन् । जसले गर्दा बजेटले पनि केवल आकांक्षा मात्र व्यक्त गर्न सक्छ । विराटनगरको अग्रगामी विकासका लागि बजेट मात्रै होइन, त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित हुनुपर्छ । नागरिक–मैत्री सेवा, पारदर्शिता, अनुगमन र परिणाममुखी कार्यदिशा बिना यस्ता महत्वाकांक्षी योजनाहरूको प्रभाव देखिन्न। महानगरले विगतका कमजोरीहरूमाथि स्पष्ट आत्मसमीक्षा गर्दै व्यवहारिक योजना, सशक्त अनुगमन र दीर्घकालीन सोचको साथ अघि बढ्न सके मात्रै यो बजेट कागजमा सीमित नहुनेछ ।

बिहिबार, १२ असार, २०८२

प्रतिक्रिया:

सम्बन्धित खवर