कोरोनाको त्रास : फेरि ‘लक डाउन’ हुने हो ?

नयाँ भेरियन्टले १८७ जना संक्रमित, एकको मृत्यु । स्वास्थ्य मापदण्ड पालना भएन ।

नेपालमा पुनः कोभिड–१९ को संक्रमण बढ्दो क्रममा छ । मंगलबार मात्रै विराटनगरमा एक जना महिलाको मृत्यु भयो । गत माघदेखि देखिएको संक्रमणको दर अहिले बढ्दै गएर १८७ जनामा पुगेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको जोखिम, सरकारी तयारी र अपनाउनुपर्ने सतर्कताबारे के गर्दैछ ? विगतको कोभिड महामारीजस्तै फेरि ‘लक डाउन’ युगमा फर्किनु पर्ने अवस्था आउँदैछ ? यसै विषयमा हाम्रा सम्वाददाता अर्जुन आचार्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीसँग संक्षीप्त कुराकानी गरेका छन् । प्रस्तुत छ उनीसँगको कुराकानी ।

आज एक जनाको कोभिडका कारण मृत्यु भएको भनेर समाचार आइसकेको छ । यस सन्दर्भमा सरकारले कोभिड नियन्त्रणको तयारी र अपनाउनुपर्ने सतर्कताबारे के गरिरहेको छ ?

– यो विषयमा हामीले मिडिया ब्रिफिङमार्फत भन्न थालेको लगभग एक महिना भइसक्यो । जब भारतमा संक्रमण फैलियो, हामीले नेपालमा पनि छिटो वा ढिलो संक्रमण फैलिन्छ भनेर सिमानाका र हवाइ नाकामा रहेका हेल्थ डेस्कमार्फत काउन्सिलिङ र परीक्षण सुरु गरिसकेका थियौं । पछिल्लो समय देखिरहनुभएको संक्रमितको संख्या त्यसैको परिणाम हो । हामीले आम मानिसलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न, रुघाखोकी लागेका व्यक्तिहरू भिडभाडमा नजान, जानै परे मास्क लगाउन, साबुनपानीले हात धुन र प्रभावित क्षेत्रबाट आएकाहरू एक हप्ता क्वारेन्टाइनमा बस्न अपिल गरिरहेका छौं । तर, यसको कार्यान्वयन पक्ष फितलो देखिएको छ । त्यसैले विगतको तुलनामा संक्रमण बढ्दो क्रममा छ ।

अहिले नेपालमा चाहिँ संक्रमणको अवस्था के छ ?

– हामीले माघदेखि हेर्दा अहिलेसम्म १८७ जनामा संक्रमण पुष्टि भएको छ ।

अनि मृत्यु भएको केसचाहिँ विराटनगरको यो पहिलो हो ?

– हो, २०८० वैशाख २१ गते पछिको यो पहिलो केस हो । तर हामी यसलाई भेरिफाइ गर्दैछौं । किनभने सम्बन्धित अस्पतालले मृत्युको कारण कोभिड–१९ नै हो भनेर रिपोर्ट गरेको छैन । उहाँहरूले ‘कार्डियोपल्मोनरी अरेस्ट’ उल्लेख गर्नुभएको छ । त्यसैले हामी अस्पताल र सम्बन्धित फिजिसियनसँग थप पुष्टि गर्दैछौं ।

तपाईले नै स्वास्थ्य मापदण्डमा कडाइ गर्ने, लक्षण भएकालाई क्वारेन्टिनमा राख्ने र सिमा क्षेत्रमा निगरानी बढाउने भनेर गरेका निर्देशनको कार्यान्वयनमा फितलो छ भन्नुभयो । एक जनाको मृत्यु भइसकेपछिको अबको अवस्थालाई चाहिँ कडाइ गर्नुपर्ने हो कि यस्तै तरिकाले चल्छ ?

– हो अझै पनि कडाइका साथ लागू भएको छैन । हामीले देखेको संक्रमण र धेरैले खोप लगाएका कारण प्रायःमा लक्षण देखिएको छैन वा सामान्य मात्रै छ । त्यसैले हामीले जोखिम समूहलाई जोगाउनकै लागि भए पनि अन्यले मापदण्ड पालना गरिदिनुस् भनेका हौं । अर्को कुरा, कोभिड सिमानाकाबाटै छिरेर फैलिएको भन्ने पनि होइन । नेपालभित्रै पनि फाट्टफुट्ट देखिइरहेको थियो । त्यसैले अब नेपालभित्रै सचेतना बढाएर सबैले मास्क लगाउने, भिडभाडमा नजाने र घरका जोखिम समूहमा रहेकाहरू, जस्तै– दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका र खोप नलगाएकाहरूलाई जोगाउन बाँकी सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ । अहिले एउटा मृत्युको खबर आइसकेपछि त सबैले यो पालना गर्नैपर्ने अवस्था आएको छ । त्यो पालना गर्न अनिवार्य गर्नुपर्छ होला भन्ने लाग्छ ।

बुधबार, ११ असार, २०८२, बिहानको ०८:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर