
गणेशप्रसाद उप्रेती
अर्थ मन्त्रालयले भर्खरै तपाईंहाम्रो अगाडि ल्याएको एउटा रातो किताब, बजेटको किताब भनिएको छ । तर यो किताबलाई समग्र अध्ययन गर्दाखेरि, यो बजेटको किताब होइन, यो अराजकताको दस्तावेज हो भन्ने लाग्दछ । यो सन्तुलन होइन, असन्तुलनको पहाड हो भन्ने लाग्दछ ।
हुन त प्रतिपक्ष बोल्यो, सायद विरोधै गर्छ भन्ने आनन्दले सुन्नुहुन्छ साथीहरु । तर एकपल्ट यो किताबलाई राम्रो अध्ययन गरौं हामी । प्रहरी हेर्ने मन्त्रालयले बाटो बनाउन पैसा हालेको छ । मालपोत उठाउने मन्त्रालयले पुल बनाउन पैसा हालेको छ । यो अराजकता नभए के हो ?
अघिल्लो वर्ष धेरै माननीयहरुले यहाँनिर जोरो फुट्ने गरी यो स्टेजमा आएर भन्नुभयो, बजेट असन्तुलन भयो भनेर । त्यसको गाली पनि हामीले खायौं। अहिले मैले अघिल्लो वर्षको रातो किताब हेरेँ र अहिलेको हेरेँ। हाम्रो खोटाङ जिल्लामा डेढ अर्ब, एक अर्ब त भौतिकबाट मात्रै, २५ करोड पर्यटनबाट मात्रै, खानेपानी प्लस गरेर झण्डै डेढ अर्बको बजेट एउटा जिल्लामा । जहाँ एउटा मात्रै संघीय निर्वाचन क्षेत्र र दुइटा प्रदेश निर्वाचन क्षेत्र छ । मोरङमा त छ वटा निर्वाचन क्षेत्र छ, १२ वटा प्रदेश छ । झापा मोरङ सुनसरीमा हेर्ने हो भने झण्डै बहुमत निर्वाचन क्षेत्र यतै छ ।
त्यतिखेर असन्तुलनको ठूलो राग अलाप्यो । म ती माननीयहरुलाई आज सोध्न चाहन्छु, के यो बजेटमा सन्तुलन देखिराख्नुभएको छ ? डेढ अर्ब एउटै जिल्लामा, अनि तपाईंको अढाई करोड जम्मा । यो सन्तुलन, असन्तुलनको पहाड नभएर के हो ? मसोध्न चाहन्छु, पर्यटन मन्त्रालयका २५ प्रतिशत बजेट पर्यटन मन्त्रीको क्षेत्रमा मात्रै छ ।
हामीले पर्यटन वर्ष भनेका छौं तर पर्यटनको त यसरी नै धज्जी उडाइयो । हामीले पर्यटनमा के ग¥यौं, के मा बजेट छुट्यायौं एकपल्ट राम्रो गरी हामी अध्ययन गरौं । प्रदेशप्रति मान्छेहरुको वितृष्णा बढ्दै गइरहेको छ, यो बजेटले त्यसमा थप टेवा पु¥याएको छ । हामी माओवादीहरुले जो भनिरहेका छौं कि सांसदहरुबाट मन्त्री बन्ने प्रथाको अन्त्य गरेर विज्ञहरुबाट मन्त्री बनाउनुपर्छ र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छ भनेर सायद नकारात्मक हिसाबले यो बजेटले त्यता पनि बल दिएको छ ।
एक मानो कनिका धेरै हुन्छ । त्यो एक माना कनिका एकातिर छर्दिएको छ अनि हामी ८५ भन्दा बढी चराचरीहरु त्यो कनिका टिप्दै रमाइरहेका छौं । केही मुट्ठीभर शिकारीहरुले हात्तीकै शिकार गरे त्यो हामी देखिरहेका छैनौं । अझ हामी केही फुर्के चराचरीहरु त कनिका टिप्न पाएकोमा रमाइरहेका छौं । तर हात्तीको शिकार भएको हामीले देखेका छैनौं । यो बजेटको परिदृश्य त्यही छ ।
मैले त्यत्तिकै भनेको होइन । एकपटक राम्ररी अध्ययन गरौं। सायद अध्ययन गर्ने चेतना भएकै मतदाताले हामीलाई यहाँ पठाएका छन् । हामीले यो सदनमै मुख्यमन्त्रीज्यू र सबै मन्त्रीहरुलाई भन्यौं कि प्रतिपक्षलाई कम्तिमा नयाँ बजेट नहाल्नुस् तर पुराना योजनाहरुलाई सम्पन्न गर्र्नुपर्छ त्यसमा न्याय गर्नुस् भनेर ।
मुस्लिम बच्चा पढ्ने र ब्राह्मण बच्चाहरु पढ्ने केही स्कुलहरुमा पैसा हालिएको थियो। त्यो चारवटा पिल्लर खडा भएर बसेको छ। त्यसको छात हाल्नुपथ्र्यो यसपाली । छात हाल्न तपाईंलाई जाँगर चलेन । कति असहिष्णु ! त्यहाँ त ब्राह्मणका बच्चाहरु र मुस्लिमका बच्चाहरु पढ्ने स्कुल थिए । कम्तिमा त्यो पूरा गर्नुस् । पुलमा आधा पिलर लागेर बसेको छ कम्तिमा त्यो पूरा गर्नुस् । नयाँ बजेट नदिनुस्, तपाईंले दिनुहुन्न हामीलाई विश्वास पनि छैन भनेर हामीले भनेका थियौं । तर तपाईंले त्यहाँ पनि त्यत्रो असहिष्णुता प्रकट गर्नुभयो, यो एक प्रकारको बेइमानी नै भयो।
म सरकारलाई भन्न चाहन्छु, सन्तान जन्माउँदा दुर्भाग्यवस आमाको मृत्यु भएमा सन्तानलाई त्यही आमाकै चिहानमा लगेर गाड्ने हो कि अरु परिवारले सन्तान हुर्काउने हो ? बजेट निर्माण गर्दाखेरि नयाँ आयोजनाहरु हामी जब जन्माउँछौं तर किन त्यसलाई सम्पन्न गर्नेतिर ध्यान दिँदैनौं ? सरकारहरु अदलबदल भइरहन्छन् छ–छ महिनामा तर बजेट निर्माण भइसकेपछि नयाँ आयोजना त जनताको हो नि । त्यहाँ त माओवादीले बनाएको बजेटबाट बनेको योजनामा माओवादी मात्रै हिँड्ने वा अरु पार्टीले बनाएको बजेटमा अरु पार्टी मात्रै हिँड्ने हुँदैन होला नि ?
प्रदेशभरि नै सामुदायिक विद्यालयहरु, मदरसाहरु, पुलहरु, सरकारी भवनहरु अपूरा थिए त्यसमा बजेट राखिएन । तर फेरि मुख्यमन्त्रीज्यूको पोखरीमा चार वर्ष भैसक्यो, कन्टिन्यु पैसा गएकै छ । अपूरोमा हाल्नु भएन भनौं भने त्यहाँ हाल्नुभयो तर जहाँनिर मानिसहरु पढ्छन्, जहाँ आवास क्षेत्र छ, त्यहाँ तपाईंले छुटाउनुभयो । आमा मरेपछि जिउँदो बच्चालाई पनि त्यहि चिहानमा गाड्ने पूर्वाग्रहयुक्त मनोवृत्ति तपाईंहरुले देखाउनुभएको छ । यो गम्भीर छ र इतिहासले तपाईंहरुसँग सोध्ने छ, ।
मैले सिंगो प्रदेशको सिनारियोको कुरा गर्दैछु। अझ मेरो निर्वाचन क्षेत्रमा हेर्नुहुन्छ भने पारिपट्टि अहिलेको प्रधानमन्त्रीज्यू र मुख्यमन्त्रीज्यूको निर्वाचन क्षेत्र छ, वारिपट्टि मेरो निर्वाचन क्षेत्र छ । मैले अघिल्लो पल्ट पनि भनेको थिएँ कि त्यो निर्वाचन क्षेत्रलाई आदरणीय गिरिजाप्रसाद कोइराला र मदन भण्डारी बिलोङ्स गर्नुहुन्छ । बहुदलीय जनवादको राग अलापेर एमाले पार्टी बनाएर मुख्यमन्त्री हुनुभयो, प्रधानमन्त्री हुनुभयो त्यही पारिपट्टि खर्बभन्दा बढी बजेट छ, मुख्यमन्त्रीज्यू र प्रधानमन्त्रीज्यूको । वारिपट्टि तपाईंले अधुरा योजनाहरु पनि पूरा गर्दिनुभएन । मैले त पहिलो पल्ट, सायद अहिलेसम्म गिरिजाप्रसाद कोइराला त्यहाँबाट प्रधानमन्त्री हुनुभयो, आमोदबाबु मन्त्री हुनुभयो, मिनेन्द्र रिजालजी मन्त्री हुनुभयो, अहिले पनि ऋषिकेश पोखरेल सार्वजनिक लेखा समितिको सभापति हुनुहुन्छ । तर कहिल्यै पनि न्यायपूर्ण बजेट परेको थिएन । एकपल्ट हामीले सामान्य, अहिले पनि मैले त्यो किताब हेरेँ, त्यहाँ १०–१५ करोड बढी गएको रहेछ। तर तपाईंले एक अर्ब लगेर आफ्नो बहादुरी देखाउनुभयो र हिजो असन्तुलित थियो भनेर तपाईंले यहाँ आएर भन्नुभयो। न्याय गर्नुभएन हिजोको जो साथीहरुले चाहिँ यहाँ कुरा राख्नुभयो। एकपल्ट अघिल्लो किताब पनि हेर्नुस् र अहिलेको किताब पनि हेर्नुस् तपाईं । कत्रो ठूलो असन्तुलनको पहाड खडा गरेर यो बजेट आएको छ ।
अहिले पनि हामी हेरिरहेका छौं, पारिपट्टि जिउँदो हुनुभएको कारणले केपी ओली र हिक्मत कार्कीजीको क्षेत्रमा खर्ब बजेट । सायद त्यही मदन भण्डारीको नाम लिएर पार्टी बनाएर यहाँसम्म आएको मदन भण्डारीको क्षेत्रमा जिरो बजेट । जम्मा अढाई करोड अनि हाम्रा दुईजना समानुपातिक हुनुहुन्छ त्यहाँबाट एमालेका साथीहरु । उहाँहरुको पनि बजेट म देख्दिनँ कहाँनेर चिप्ल्याइ दिनुभयो । भनेपछि यो प्रकारको असन्तुलन अनि गिरिजाप्रसाद कोइरालाकै पार्टीको मान्छे भौतिक मन्त्री हुनुहुन्छ। हामीले त सोचेका थियौं गिरिजाप्रसाद कोइरालामाथि हामीले गर्न नसकेको न्याय होला, उहाँको सपनामाथि न्याय होला भनेर ठानेका थियौं। म रतुवामाई र सुनवर्षीका कांग्रेस र एमालेका साथीहरुलाई भन्न चाहन्छु, हिजो मैले हालेको बजेटले बनेका बाटाघाटा माओवादीले मात्रै प्रयोग गर्छ ? तपाईंकै पार्टीका मान्छेहरु, तपाईं गिरिजाप्रसाद कोइरालाको कुरा गर्नुहुन्छ, मदन भण्डारीको कुरा गर्नुहुन्छ, यही क्षेत्रको हो भनेर गर्व गर्नुहुन्छ। तर तपाईंकै पार्टीका मान्छेहरुले आज सरकार चलाइरहँदा उहाँहरुमाथिको अपमान कहिलेसम्म सहनुहुन्छ ? कांग्रेस र एमालेका, मेरो क्षेत्रका साथीहरुलाई म सोध्न चाहन्छ ु। यो सरकारलाई म केही पनि सोध्न चाहन्न । यो प्रकारको विश्वास तपाईंहरुलाई जो पैदा भएको छ आफ्नो पार्टीका नेताहरुप्रति र आफ्नै पार्टीका नेताहरुमाथि अपमान गर्ने जो तपाईंहरुले गर्नुभएको छ, यो अत्यन्तै विडम्बनापूर्ण छ ।
किसान त हेरेको हेरै भयो यो बजेटबाट । अघिको माननीय भन्दै हुनुहुन्थ्यो १४ करोड । त्यो त ऋण लिनुप¥यो अनि न मिनाहा हुन्छ ? ऋण दिन तयार छैन बैंक । त्यसको जिम्मा कसले लिन्छ ? के पायो किसानले ? मलाई भन्दिनुस् । त्यो विभागीय मन्त्री आएर के पायो किसानले ? रोजगार सिर्जना गर्ने र उत्पादन बढ्ने के कार्यक्रम छ हामीसँग ? पुराना थोत्रा बासी कार्यक्रमहरु बाहेक केही पनि छैन। अनि हामीले १४ करोड छुट्यायौं, ब्याज मिनाहाको लागि भनेर तपाईंहरु गर्वका साथ भन्दिनुहुन्छ । त्यो गलत कुरा हा े। किनभने कर्पोरेट बैंकहरुले अहिले ऋण दिन मानिरहेको छैन। किसान किन, किसानले धलौटी राख्न सक्दैन। धलौटी बिना ऋण दिने व्यवस्था मिलाउनुस् अनि तपाईंको बहादुरीता देखिन्छ त ? होइन भने उत्पादन बढाउने कार्यक्रम पुराना बासी कार्यक्रम बाहेक केही पनि बजेटमा छैन । तर, पनि मैले अघि भनेँ, कनिका टिपिरहेका हामीहरु रमाइरहेका छौं, हात्तीको शिकार गरेको हामीले देखेका छैनौं, यसप्रति म दुःख व्यक्त गर्दै यो बजेटले प्रदेशप्रतिको वितृष्णा बढाउने बाहेक केही काम गरेको छैन । र असन्तुलनको एउटा नमूनालाई फेरि पनि एउटा ज्यामितीय हिसाबले अगाडि बढाएको छ । यो बजेटले प्रदेशको वास्तविक बजेटको नेतृत्व गर्न सक्दैन । (प्रदेशसभामा बजेटमाथिको टिप्पणी जस्ताको त्यस्तै ।)