सप्तरी । जग्गासम्बन्धी विवादका कारण सप्तरीमा २ जनाको मृत्यु गएको छ ।
छिमेकीको कुटाइबाट सप्तरीको डाकनेश्वरी नगरपालिका ५ का ५० वर्षीय सुकदेव खंग मण्डलको शनिबार राति मृत्यु भएको हो ।
घाइते मण्डललाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएकोमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल भर्ना गरिएकोमा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी तिलक भारतीले बताउनुभयो । मृतकका छोरा अशोककुमारका अनुसार १२ जनाको समूहले उनलाई धारिलो हतियार र लाठी प्रहार गरेका थिए । कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सप्तरीको महदेवा गाउँपालिका १ मा पनि जग्गासम्बन्धी विवदकै कारण एक जनाको ज्यान गएको छ । वैशाख २३ गते छिमेकीको कुटाइबाट टाउको र खुट्टामा गम्भीर चोट लागेका महदेवा १ का ८० वर्षीय सुबिलाल यादवको उपचारका क्रममा मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।