विश्वविद्यालयको विश्वसनीयतामाथि प्रश्न

 सम्पादकीय

परीक्षा मर्यादित र बिधिसम्मत हुनुपर्छ । तर, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (पुसोई) मा भएको छैटौं सेमेस्टरको परीक्षामा देखिएको अनियमितता गम्भीर चिन्ताको विषय बनेको छ । पुसोईमा परीक्षामा खटिएका कर्मचारी मनिष यादवको स्कुटीबाट ८० हजार रुपैयाँ नगद र दुई थान उत्तरपुस्तिका फेला परेपछि पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालन भइरहेका परीक्षामा व्यापक सेटिङ हुने आशंका पुष्टि हुने स्थितिमा पुगेको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले गुप्त सूचनाको आधारमा गार्ड यादवको स्कुटी जाँच गर्दा यस्तो अनियमितता फेला परेको थियो । स्कुटीको डिकीबाट बरामद उत्तरपुस्तिका खाली थिए । तापनि, ती परीक्षा हलमा वितरण गरिएका उत्तरपुस्तिका नै भएको विश्वविद्यालयका अधिकारीहरूले स्पष्ट पारेका छन् । यसले गम्भीर शंकाको वातावरण सिर्जना गरेको छ कि यादव परीक्षा हलबाट उत्तरपुस्तिका बाहिर लैजाने, बाहिर लेखाएर पुनः भित्र ल्याउने योजनामा संलग्न थिए । यदि यथार्थ हो भने, यो केवल एक व्यक्तिको काम होइन; यसमा विश्वविद्यालय, सम्बन्धित क्याम्पस र अन्य कर्मचारीहरूको मिलेमतो हुनसक्छ ।

यो घटनालाई थप गम्भीर बनाउने पक्ष भनेको प्रहरीको निष्क्रियता हो । अपराधसम्बन्धी प्रमाण हात लागे तापनि, यादवलाई नियन्त्रणमा नलिएर केवल मुचुल्का उठाएर छोडिएको छ । प्रहरीको यस्तो दृष्टिकोणले अपराधीलाई जोगाउने र अनुसन्धानलाई प्रभावित पार्ने खतरा बढाउँछ । यसले प्रहरीमाथिको जनविश्वास घटाउने मात्र होइन, शैक्षिक संस्थामा बढ्दो भ्रष्टाचारलाई पनि प्रश्रय दिनेछ । परीक्षाको गरिमा, निष्पक्षता र विश्वसनीयता विश्वविद्यालयको मूल आधार हो । यदि परीक्षा प्रणालीमै भ्रष्टाचार, घूस र सेटिङले जरा गाड्ने हो भने त्यसबाट निस्कने स्नातकहरूको योग्यता नै प्रश्नको घेरामा पर्छ । यस्तो पृष्ठभूमिमा पढेका विद्यार्थीहरू न समाजमा योगदान दिन सक्षम हुनेछन्, न विश्वसनीय पेशेवर बन्न सक्नेछन् ।

यो घटनामा विश्वविद्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ, जुन स्वागतयोग्य कदम हो । तर, चिन्ता यसमा छ कि छानबिन समितिमा विश्वविद्यालयकै कर्मचारी संलग्न छन् । जसले निष्पक्षता माथि प्रश्न उठाउँछ । छानबिन स्वतन्त्र र निष्पक्ष नहुने हो भने, यो समिति केवल दोषीलाई जोगाउने माध्यम बन्नेछ । अब आवश्यक छ—स्वतन्त्र निकायबाट गहन छानबिन होस् । प्रहरी प्रशासनले पनि घटनालाई सामान्य रूपमा नलिई, गम्भीर आपराधिक काण्डको रूपमा अनुसन्धान अगाडि बढाओस् । यदि दोषीहरूलाई कारबाहीको दायरामा ल्याइएन भने, भविष्यमा यस्ता घटनाहरू झनै मौलाउनेछन् । शिक्षा क्षेत्रको शुद्धता र परीक्षाको विश्वसनीयता जोगाउन विश्वविद्यालय, प्रहरी र राज्य सबै गम्भीर हुनैपर्छ । किनभने शिक्षा भनेको देशको मेरुदण्ड हो—त्यसमा भएको अनियमितता देशको भविष्यमै कालो बादल बन्नसक्छ ।

Supported only between 1944-2022