किन कमजोर भयो खेल प्रदर्शन ?

 सम्पादकीय

अघिल्ला वर्षको तुलनामा यो वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी प्रदेशको लज्जास्पद प्रदर्शन गरेको छ । प्रदेश सरकारले खेलकुद प्रतियोष्तिाको लागि करोड माथि बजेट खर्च गरेपनि यो नतिजाले प्रदेशको खेलकुद क्षेत्रमा विद्यमान गम्भीर संरचनात्मक र व्यवस्थापकीय समस्यालाई सतहमा ल्याइदिएको छ । खेलकुद क्षेत्रलाई सुधार्ने नाममा बजेट बढाइँदै गएको देखिए पनि त्यसको परिणाम पूर्णतः विपरित दिशामा गएको छ । प्रदेशले २ करोड रुपैयाँ खर्च गर्दा पनि एक स्वर्ण पदकसमेत हात पार्न नसक्नु अत्यन्तै चिन्ताजनक अवस्था हो । पछिल्लो वर्षको तुलनामा कोशी प्रदेश सातौं स्थानमा झर्नु कुनै सामान्य कुरा होइन । अघिल्लो वर्ष १ करोड २ लाख रुपैयाँ खर्च गरेर ८ स्वर्णसहित २६ पदक जित्न सफल प्रदेशले यस पटक दोब्बर बजेट खर्च गर्दा ७ रजत र ८ काँस्य पदकमै चित्त बुझाउन बाध्य भयो । प्रदेश सरकारले खेलकुदको जिम्मेवारी लिएको नेतृत्वको कार्यदक्षता र इच्छाशक्तिप्रति जनस्तरमा गम्भीर शंका उत्पन्न हुनु स्वाभाविक छ ।

विवादको श्रृंखला छनोट चरणदेखि नै सुरु भएको थियो । तीन जिल्ला—सुनसरी, सोलुखुम्बु र खोटाङ—बाट खेलाडी छनोट नै हुन सकेन । प्रदेश खेलकुद विकास बोर्डले समयमै पत्राचार नगरेको, बजेट नपठाएको र समन्वय नगरेको गुनासो जिल्ला खेलकुद समितिहरूले गरेका छन् । यसले देखाउँछ कि बोर्डको आन्तरिक तयारी नै अस्तव्यस्त छ । अति दुःखको कुरा त के भने सामाजिक विकास मन्त्री स्वयं अध्यक्ष रहेको बोर्डले मन्त्रीकै गृह जिल्ला खोटाङबाट खेलाडी पठाउन सकेन । अर्कोतर्फ प्रशिक्षक नियुक्तिको विषयमा उठेका प्रश्न झनै गम्भीर छन् । दक्ष र अनुभवी प्रशिक्षकको सट्टा राजनीतिक आस्थाका आधारमा कोच नियुक्त गरिएको छ । कराँतेमा खुट्टा उचाल्न नजान्ने व्यक्तिलाई प्रशिक्षक बनाउनु भनेको खेलकुदको अपमान मात्र होइन, भविष्यमा लज्जास्पद हारको तयारी पनि हो । परिणाम त्यहि भयो । प्रशिक्षक, व्यवस्थापक र खेलाडीको छनोट कुनै राजनीतिक नियुक्तिको अभ्यास होइन, यो विशुद्धरूपमा कौशल र क्षमता आधारित प्रक्रिया हुनुपर्छ ।

समस्या यत्तिमै सीमित छैन । चयन भएका खेलाडीहरूलाई पनि समयमै तयारी गराउने, प्रशिक्षण दिने र मानसिक तथा शारीरिक रूपमा तयार बनाउने काम प्रभावकारी देखिएन । प्रदेश छनोट सकिनासाथ केन्द्रमा पठाइएका थकित खेलाडीहरूबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्नु नै अन्याय हो । यसले खेलकुदको क्यालेन्डर निर्माण र कार्यान्वयनमा पनि गम्भीर कमजोरी रहेको देखिन्छ । यसरी देखिएको व्यवस्थापनको समग्र असक्षमता, बजेट खर्चको प्रभावहीनता र नेतृत्वको राजनीतिकरणका कारण कोशी प्रदेशको खेलकुद क्षेत्र दिशाहीन बन्दै गएको छ । खेलकुदमा दीर्घकालीन सोच, व्यावसायिक योजना, पारदर्शी प्रणाली र योग्य नेतृत्वको खाँचो अब हिजोभन्दा आज झनै गहिरिएको छ ।

कोशी प्रदेशसँग खेलकुदमा उत्कृष्ट सम्भावना छ । होनहार खेलाडी, खेलप्रेमी समुदाय र ऐतिहासिक गौरव छन् । तर यी सम्भावनालाई मूर्त रूप दिन अब प्रदेश सरकारले खेलकुदलाई राजनीतिक भाँडाभाँड र ‘भर्तीकैन्द्र’ होइन, पेशागत संरचना र दीर्घकालीन लगानीको विषयको रूपमा लिनुपर्छ । नत्र अहिले देखिएको ‘शून्य स्वर्ण’ भविष्यको स्थायी पहिचान बन्ने खतरा छ ।

बुधबार, ०४ असार, २०८२

प्रतिक्रिया:

सम्बन्धित खवर