विराटनगर । भ्रमण अवलोकनका लागि इजराइल पुगेका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला इरान–इजराइल युद्धको चपेटामा छन् । जेठ ६ गते फर्कने कार्यक्रम भएपनि युद्ध लम्बिएमा उनको फिर्ता अन्यौलमा छ ।
इजरायलको राजधानीबाट ३० किलोमिटर दुरीमा रहेको सेफाइम भन्ने सहरमा रहेका कोइरालाले मिसाइल आउने सूचना साइरनले दिने जानकारी दिँदै त्यसपछि बंकरमा पस्ने गरेको बताए । अहिलेसम्म २५ पटकभन्दा धेरै बंकरमा छिर्नुपरेको जानकारी दिँदै उनले भने, ‘सुरक्षित छु । बंकर सुरक्षित मानिँदो रहेछ । मिसाइल आउने सूचना १५ मिनेट अगाडि नै आउने भएकोले कुनै समस्या छैन ।’
हाम्रोमतसँगको कुराकानीमा कोइरालाले बंकरभित्रको अनुभव सुनाएका छन् । बंकरभित्र रमाइलो नै मानेको बताउँदै उनले भने, ‘रमाइलो छ यार । भनेर साध्य छैन । फिल्ममा मात्र बम देखेको पड्केको, आफूले विराटनगरमा पटका पड्काएको थिएँ । यहाँ त प्रत्यक्षै देखियो, बम पड्केको ।’
कुराकानीको समाय बंकर बाहिर रहेका उनले सडकमा देखिाएको सामान्य चहलपहल देखाउँदै भने, ‘अहिले तबाहिरै छु, साइरन बज्यो भने बंकरमा छिर्ने हो ।’ बंकरमा जाने जानकारी मोबाइल र हरेक घरको साइरनले दिने गरेको उनले बताए ।
‘मोवाइलमा सफ्टवेयर हालेको हुने रहेछ, मिसाइल आउन लाग्यो भन्ने जानकारी मोबाइमै आउँछ । हरेक बिल्डिङको माथि पनि साइरन बज्ने रहेछ । बम आउन लाग्यो भनेपछि ठूलो साइरन बज्छ । बम आउन लाग्यो तयारी बस है भनेर प्रहरीले भन्छ । त्यसपछि सबै तयार भएर बस्ने हो’ उनले भने, ‘जब एम्बुलेन्सको जस्तो साइरन बज्छ, त्यतिखेर चाहिँ बंकरभित्र छिर्ने हो । त्यो डेढ मिनेटभित्र छिरिसक्नुपर्दो रहेछ ।’
बंकरमा खानेकुरा सबै व्यवस्थित रहेको तथा सुत्ने, एसी, डिसी सबै रहेको उनले जानकारी दिए । ‘उनीहरूले १० मिनेट, १५ मिनेट भएपछि चाहिँ अब सहज भयो, बाहिर निस्किनु भन्छ । त्यसपछि नर्मल लाइफमा जाने हुँदो रहेछ’ उनले भने, ‘एउटा बङ्करमा २५ जना, ३० जना, ५० जनासम्म बस्ने गर्दा रहेछन् ।’
तीन चार दिनमा २०–२५ चोटी बंकरमा बसेको जानकारी दिँदै मेयर कोइरालाले आइतबार साँझ मात्र तीन बंकरमा जानुपरेको बताए । इजरायलको प्रतिरक्षा प्रणाली सशक्त भएपनि अहिले एकैचोटि १००–१५० वटासम्म मिसाइलहरु आउने गरेको उनले बताए । ‘प्रायः सबै आकाशमै निस्तेज पार्ने रहेछ’ उनले भने, ‘तर, एउटा–दुइटा त झुक्किएर पनि झर्दो रहेछ ।’
तेल अबिबमा धेरै आक्रमण भएको भएपनि आफू बसेको स्थानमा टार्गेट नभएकोले ठूलो क्षति नभएको कोइरालाले बताए । तीन महिनासम्मको भिसा लगाएर गएको भएपनि २० तारिखमा फर्किने टिकट रहेकोमा त्यसबेलासम्म एयरपोर्ट खुल्छ कि भन्ने अपेक्षा गरिरहेको उनको भनाइ छ ।
इजरायलमा नेपाली राजदूत धनप्रसाद पण्डितसँग कुराकानी र भेटघाट भइरहेको जानकारी दिँदै कोइरालाले दुताबासमार्फत जोर्डनको लागि भिसा मिलाउन कोशिश भइरहेको बताए । ‘त्यो मिल्यो भने म जोर्डनबाट निस्किने हो, यहाँबाट चार–पाँच घण्टामा एयरपोर्ट पुगिन्छ’ उनले भने, ‘एयरपोर्टसम्म तपाईंलाई मेरो गाडीमा लिएर जान्छु भनेर राजदुतले भन्नुभएको छ ।’
मिसाइल र साइरनको आवाज आइरहेपनि त्यस्तो त्रास इजरायमा नभएको कोइरालाले बताए । ‘हामी बसेको ठाउँमा फिलिपिन्सको दुई सांसद र पालिकाको प्रमुखहरू तथा उपप्रमुखहरू पनि हुनुहुन्छ । हामी १७ जना छौँ टिममा’ उनले भने, ‘हामीलाई सुरक्षाको लागि १ सय जना सुरक्षाकर्मी खटाइएको छ । त्रसित हुने अथवा र डर हुने खालको वातावरण छैन ।’
युद्ध सुरु भएपछि बजार, स्कूल र यातायात प्रायः बन्द भएको जानकारी पाएको बताउँदै कोइरालाले एउटा युद्धको अनुभूति गरेको बताए । तपाईंको फर्कने समय ढिलाइ भएमा विराटनगरको बजेट के होला भन्ने प्रश्नमा उनले सकेसम्म समयमै आउने प्रयासमा रहेको जानकारी दिए । ‘कथम् कदाचित म आइपुगिन भने परिषद् सुरु गराउनु भनेको छु’ उनले भने, ‘परिषद् सुरु गराएर स्थगित गर्दिनु, त्यसपछि म आएर टुङ्ग्याउँला भनेको छु ।’