कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै : बजेटको आकार ३७ अर्ब पुग्ने अनुमान

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि आज बजेट ल्याउँदैछ । सरकारले आज दिउँसो ३ बजे बस्ने कोशी प्रदेशसभाको बैठकमा बजेट प्रस्तुत गर्न लागेको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्नेछन् । उनले दोस्रो पटक बजेट पढ्न लागेका हुन् ।

प्रदेश सरकारले ल्याउन लागेको बजेटको आकार वृद्धि हुने प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा मन्त्री मगरले संकेत गरेका छन् । प्रदेश सरकारलाई संघबाट प्राप्त गर्ने सशर्त, समपुरक र समानीकरण अनुदानको रकम विगत वर्षहरुमा भन्दा घटेको छ । आन्तरिक राजस्व संकलनको अवस्था पनि लक्ष्य भेट्न सक्ने अवस्थामा छैन ।

तर, बजेटको आकार भने चालू आर्थिक वर्षको भन्दा बढाएर ३७ अर्ब हाराहारी पुर्याउन लागेको स्रोतले दाबी गरेको छ । यसअघि प्रदेश सरकारले मन्त्रालयहरुलाई २८ अर्ब ८५ करोडको सिलिङमा आधारित भएर योजना प्रविष्ट गर्न निर्देशन दिएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट चालू आर्थिक वर्षको भन्दा बढ्ने बताए । ‘आर्थिक स्रोतको चाप छ । सँगसँगै योजनाहरु समावेश गर्नुपर्ने पनि चाप छ । त्यसो हुँदा बजेट केही बढ्ने देखियो,’ मन्त्री मगरले भने ।

आर्थिक मामिला मन्त्रालय स्रोतका अनुसार सरकारले आगामी वर्षका लागि ३७ अर्ब हाराहारी बजेट ल्याउन लागेको हो । चालू आर्थिक वर्षमा प्रदेश सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट बनाएको थियो ।

यसैबीच प्रदेशका मुख्यमन्त्री कार्कीले स्रोत खुम्चिएको कारण प्रदेशको बजेटको आकार प्रत्येक वर्ष घट्दो रहेको भएपनि यस पटक बढ्नसक्ने बताए । उनले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि बजेटको अन्तिम तयारी गरिरहेको जानकारी दिँदै बजेटको आकार ३६–३७ अर्बको आउन सक्ने बताए । ‘अहिले हामीले तानतुन पारेर ३७ अर्ब जतिको बजेट तयार गरिरहेका छौँ तर वास्तविक श्रोतको अवस्था हेर्ने हो भने अहिले हामीसँग ३३ अर्ब बराबरको मात्र स्रोत,’ मुख्यमन्त्री कार्कीले भने ।

प्रदेश सरकारको बजेटले प्रदेश सरकारका भवन तथा संरचना निर्माण, पूर्वाधार निर्माण, शिक्षा र सामाजिक क्षेत्रलाई प्राथमिकता दिने तयारी गरेको छ। सीमित स्रोतका कारण अपेक्षा अनुसारको बजेट ल्याउन कठिनाइ भएको मुख्यमन्त्री कार्कीले बताए ।

असार १, २०८२, बिहानको ११:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर