कोइलाखाद : मेघालयका खानीमा नेपाली श्रमिकको संघर्ष

विराटनगर । भारतको मेघालयकाकोइलाखानीअहिले बन्द छ । एक समयत्यहाँ धेरै नेपाली श्रमिक काम गर्थे । उनीहरू जमिनमुनि धेरै तलसम्म पुगेर काम गर्थे । उनीहरूले कोइला खानीलाई ‘कोइलाखाद’ भन्थे ।

यही कोइलाखाद शब्दलाई लेखक श्याम सिंघकले आफ्नो नयाँ उपन्यासको शीर्षक बनाएका छन् । उनका लागि यो केवल शीर्षक मात्र होइन, हजारौं नेपाली श्रमिकको जीवन संघर्षको प्रतीक पनि हो । झापाका श्याम, जसले ‘रेमिटल्याण्ड’ उपन्यासबाट नेपाली साहित्यमा छुट्टै पहिचान बनाएका थिए । अब भने ‘कोइलाखाद’ लिएर पाठकसामु उपस्थित भएका छन् । ५ वर्ष लामो अनुसन्धानपछि यो उपन्यास तयार भएको उनी बताउँछन् ।

सिंघकको यो उपन्यास लेख्ने यात्रा सामान्य थिएन । वास्तविक कथा बनाउन उनले चारपटक मेघालयको यात्रा गरे । महिनौंसम्म नेपाली श्रमिकहरूसँगै बिताए । उनीहरूको जीवन नजिकबाट अध्ययन गरे । कोइलाखानीको सरदार राजन कुलुङसँगै उनी त्यहाँगएका थिए । १२ वर्ष अगाडि भएको त्यो भ्रमणले उनको मन छोयो र अहिले उपन्यास बनेर आएको छ ।

‘त्यहाँ नेपालीले पाएको दुःखहरू देखियो । उनीहरूले गरेका संघर्षहरू देखियो । त्यहाँ काम गर्न जाने मानिस मरेपछि पशुलाई जस्तै गाड्ने गरिएको छ । हाम्रो लागि त अचम्म भयो । त्यो देखेपछि लेख्नुपर्छ भन्ने लागेर लेखेको हो,’ सिंघक आफ्नो अनुभव सुनाउँछन् ।

साढे चार महिनामा पटक पटक गएर कोइला खानीमा काम गर्नेहरूसँगै बस्दै र उनीहरूसँगै खाँदै पाँच वर्ष लगाएर उनले यो उपन्यास तयार पारेका हुन् । ‘म उनीहरूजस्तै बनेर उनीहरूकै पीडा महसुस गर्न चाहन्थें,’ सिंघक भन्छन् । यो वास्तविक भोगाइले कृतिलाई थप बलियो र विश्वसनीय बनाएको छ ।

लेखक सिंघकका अनुसार यो उपन्यासमा केवल दुःख र पीडाको कथा मात्र छैन, मानवीय साहस र जिजीविषाको कथा पनि छ । कोइलाको कालो धूलोमा डुबेका श्रमिकहरूको सपना र आशाका किरणहरू पनि उपन्यासमा समेटिएका छन् ।

‘मेघालयका कोइला खानीहरूमा साढे तीन फुटसम्ममा कोइलाको लेयर भेटिन्छ । खानी सुरुङजस्तो खनिन्छ र ट्रलीबाट ओसारेर ढक्कीमार्फत भ्याङबाट कोइलाबाहिर निकालिन्छ । ‘त्यहाँ बस्न क्याम्पहरू बनाइएका थिए । सरदार भनेको ठेकेदार जस्तै हो, जसले काम लगाउने र कामदारको बस्ने–खाने व्यवस्थापन गर्ने गथ्र्याे,’ सिंघकले भने ।

पहिला नेपालीहरूले त्यो ठाउँमा गाई पालेर दूधदहीको व्यापार गर्थे । पछि कोइला निकाल्न थालिएपछि उनीहरू नै सरदार भएर कोइला उत्खनन्को काममा लागे । तर, सन् २०१४ मा भारत सरकारले मेघालयका कोइला खानीहरू बन्द गर्ने निर्णय गरेको थियो । यो निर्णयले हजारौं नेपाली श्रमिकको रोजीरोटी एकैचोटी खोसेको थियो । अहिले त्यहाँ कोइला निकाल्न प्रतिबन्ध छ । घर फर्कने बाध्यता र भत्किएका सपनाहरूको कथा ‘कोइलाखाद’मा दस्तावेजीकरण गरिएको छ ।

२०७४ सालमा प्रकाशित ‘रेमिटल्याण्ड’ले वैदेशिक रोजगारीमा आधारित कथा भन्दै पाठकहरूको मन जितेको थियो । यो उपन्यास लेख्न सुरू गरेदेखि प्रकाशन हुनसम्म झण्डै चार वर्ष लागेको थियो । सुरूमा ‘मनसुन’ नाम राख्ने सोच थियो तर, सुविन भट्टराईले त्यही नामको कृति ल्याइसकेपछि साथीहरूको सल्लाहमा ‘रेमिटल्याण्ड’ राखिएको लेखक बताउँछन् ।
‘यो कोइला खानीको कथामात्रै होइन, नेपाली श्रमिकको रित्तिदै गएको सपना र घर फर्कनु परेको बाध्यताको कथा पनि हो,’ लेखक सिंघकको भनाइ छ ।

नेपाली साहित्यमा श्रमजीवी वर्गको कथा भन्ने परम्परा पुरानो भएपनि विदेशी धर्तीमा कष्ट भोगिरहेका नेपाली कामदारहरूको यथार्थलाई यति गहिराइका साथ उजागर गर्ने कृति विरलै रहेको साहित्यकारहरू नै बताउँछन् ।

श्याम सिंघककको ‘कोइलाखाद’ नेपाली साहित्यमा श्रमिक जीवनको प्रामाणिक दस्तावेज बन्ने र पाठकहरूलाई एउटा नयाँ संवेदना दिने अपेक्षा गर्न सकिन्छ । यो उपन्यासले नेपाली साहित्यको परिधिलाई विस्तार गर्दै सामाजिक यथार्थलाई कलात्मक रूप दिने काममा योगदान र्पुयाउने विश्वास साहित्य क्षेत्रमा लाग्नेहरू बताउँछन् ।

शनिबार, ३२ जेठ, २०८२, बिहानको ०७:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर