कमल थापा ‘उत्तानो’

  अर्जुन आचार्य

काठमाडौंको रत्नपार्कमा देशभरबाट भेला भएका केही हजार ‘रैती’हरू कथित छाता आन्दोलन चलाइरहेका छन् । उनीहरूले ‘नेपाल एकीकरण’का अगुवा पृथ्वीनारायण शाहको उवाच लेखिएको प्लेकार्ड र ब्यानरहरु प्रदर्शन गरिरहेका छन् । त्यहाँ लेखिएको छ, ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन ।’ यो मुलुक उनै पृथ्वीनारायण शाहले आज्र्याको हो कि होइन ? त्यसबेला जनता थिए कि थिएनन् । राजा महाराजाहरुको बलिदानबाट बनेको हो कि जनताको बलिदानबाट मुलुक एकीकरण भएको हो ? यो बहस गर्नुपर्ने विषय नै होइन । किनकी इतिहासका निर्माता जनता हुन् र जनताले नै मुलुक निर्माण गर्ने हो । अब चर्चा गरौं कथित राजतन्त्रवादीको आन्दोलनतर्फ ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा बनाउने भनेर सुरु भएको आन्दोलनका क्रममा आइतबार कमल थापालाई प्रहरीले ‘तुर्लुङ’ पार्दै पक्राउ गर्यो । यो घटनाको भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल छ । गणतन्त्रवादीहरुले ‘पालाको पैंचो’ भन्दै फोटो पोष्ट्याएका छन् । धेरैले जनआन्दोलनका कमाण्डर तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको टाउकामा प्रहरीले बर्साएको लाठीचार्जको फोटो प्रदर्शन गरेका छन् । अर्थात् त्यसबेलाको स्मरण गराएका छन् । यद्यपि त्यसबेला गिरिजाप्रसाद कोइरालाको टाउकोमा मात्रै लाठी बर्सिएको थिएन । त्यसबेलाका प्रत्यक्ष शासनमा रहेका ज्ञानेन्द्र शाह र तिनै गृहमन्त्री कमल थापाहरूको निर्देशनमा जनताको छातीमा गोली हानिएको थियो । सयौं मानिस प्रहरीको लाठी र अश्र्रुग्यासबाट घाइते भएका थिए । संचारमाध्यामहरुमा सेन्सरसिप लगाइएको थियो । मिडियाहाउसहरु तत्कालीन शाही सेनाको निगरानी र हस्तक्षेपमा परेका थिए । टेलिफोन अवरुद्ध पारिएको थियो । त्यति हुँदा हुँदै पनि त्यसबेला गणतन्त्र र लोकतन्त्र पुनःस्थापित भयो । पृथ्वीनारायण शाहले जस्तै भन्ने हो भने जनताको साना दुःखले गणतन्त्र आएको थिएन ।

सुरक्षाकर्मीको गोली र बुटको कुन्दाले गणतन्त्रको नारालाई रोक्न खोज्दा शीर्ष नेताहरुका साथै होनाहार १९ जनाले ज्यान गुमाए । अहिले थापालाई घिसारेको फोटो हेर्दा गज्जब लागिरहेको छ । उनका टाउकोमा प्रहरीको लाठी बर्सिएको भए पनि गणतन्त्रवादीलाई विस्मात हुनुपर्ने होइन । तर, हामी लोकतन्त्रमा, गणतन्त्रमा छौं । यो व्यवस्थामा नागरिकले आवाज उठाएकै कारण सरकारले दमन गर्नु हुँदैन भन्ने मान्यता राखिन्छ । एक पटक तथाकथित पूर्वराजा ज्ञानेन्द्र शाह पनि यसैगरी आन्दोलनमा आउन् र उनको टाउकोमा यस्तै डण्डा बर्सियोस्, रगतको धारा बगोस् भन्ने मेरो अपेक्षा छ । यो अपेक्षा सबैको लागि रुचिकर नहुन पनि सक्छ । मेरो अपेक्षा मात्रै हो ।

कम्युनिष्टहरुको भाषामा भन्ने गरिन्छ, ‘तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकाले लडौंला ।’ हो लोकतन्त्र र गणतन्त्रको पक्षपातीहरु आफ्नै तरिकाले लड्न आवश्यक छ । लोकतन्त्र या तानाशाहीतन्त्र के रोज्ने भन्ने कुरा जनताले नै फैसला गर्छन् । अर्थात् फेरि पनि भनौं जनता नै मुलुकका निर्माता हुन् । जनता नै इतिहासका निर्माता हुन् । यसको मतलब गणतन्त्रको टालोले छोपेर तमाम् राज्यकोषमा लुटको धन्दा चलाउनेलाई छुट दिइनुहुँदैन । हामी सबैले तिनीहरुलाई तिरस्कार गर्नुपर्छ । बरु गणतन्त्र खतरामा पर्ने भयो भन्ने भाष्य निर्माण गरेर ब्वाँसोले जस्तो जनताको करमा रजाइँ गर्ने कथित नेतातन्त्र फालेर हामीले जनताको गणतन्त्र बनाउन लाग्नुपर्छ । जनआन्दोनलको बेला जनताको छातीमा गोली ठोक्ने, जनताको टाउकोमा लाठी बजार्ने र बजार्न लगाउने तत्कालीन कमल थापालाई रायमाझी आयोगले सिफारिस गरेको आधारमा पक्राउ गरी अनुसन्धान गर्नुपर्छ । होनाहार मानिसको छातीमा गोली दाग्नेहरुलाई खोजीखोजी कारबाही नगर्दाको परिणाम अहिले देखिँदैछ । तर, बिडम्बना ओली सरकारले यसो गर्न अहिले पनि सक्दैन । किनकी दुई तिहाई नामको ढोडको तोक्मा भिजिट भिषारुपी बडेमानको ढाकरले थिचिएर भाँचिन लागेको छ । अर्थात् ओलीतन्त्रले तानाशाही निरंकुशता ल्याउन चाहनेहरुका लागि पर्याप्त ‘मसला’ दिइरहेको छ । त्यस्ता मसला भनेकै वाइडबडी घोटला, गिरिबन्धु टिस्टेट, भिजिट भिषा, नक्कली भुटानी शरणार्थी, विद्युत् प्राधिकरणभित्रको हस्तक्षेप, न्यायलयमाथिको हस्तक्षेप, प्रहरीमाथिको हस्तक्षेप, तस्करी, विमानस्थल निर्माणमा भएको अर्बौं घोटलालगायत हुन् । त्यसबाट आम गणतन्त्रवादी सचेत हुन जरुरी छ । गणतन्त्रवादीमध्येका पनि असली गणतन्त्रवादीहरुले नयाँ आन्दोलनको सुत्रपात गर्नु आवश्यक छ ।

अन्त्यमा, जनताले कहिल्यै निरंशुकता चाहँदैनन् । अहिले जस्तो बेथिति, भ्रष्टाचार र कुशासन पनि चाहँदैनन् । बरु जनताले शासन, प्रशासनमा नयाँपन र नयाँ विकल्प चाहन्छन् । कथित पुरानै ढर्रा, पुरानै तरिका, पुरानै सोच, पुरानै रटानले आजको युगलाई नेतृत्व गर्न सक्दैन । बरु, आउँ सबैले बहस गरौं देश र जनताको विकास र समृद्धिको सपनालाई साकार पार्न एकजुट बनौं । निरंकुशतन्त्रको भूत र गणतन्त्रका ब्वाँसाहरुलाई पराजित गरौं । नयाँ क्रान्तिको सृष्टि गरौं ।

सोमबार, २० जेठ, २०८२

प्रतिक्रिया:

सम्बन्धित खवर