गर्भावस्थामा बुवा वेपत्ता : आमाको नामबाट नागरिकता नबन्दा वृत्तिविकासमा बाधा

विराटनगर । सप्तरी हनुमाननगर कंकालनी नगरपालिका ४ का शंकरकुमार मंडल ३१ वर्षका भए तर, उनको अहिलेसम्म नागरिकता बनेको छैन ।

गर्भावस्थामा बुवा बेपत्ता भएका मण्डलले आमाको नामबाट नागरिकता नपाउँदा उनका तीन बालबच्चाको शिक्षा प्रभावित भएको छ । ३१ वर्षीय मण्डलको आफ्नै नागरिकता नभएकाले बच्चाहरूको जन्मदर्ता बनाउन र विवाह दर्ता गर्नसमेत असमर्थ छन् ।

मण्डलका बुवा दौरिकलाल मानसिक सन्तुलन गुमाएर बेपत्ता भएपछि आमा सुकेश्वरीदेवीले एक्लै पालनपोषण गरेकी थिइन् । आमासँग नागरिकता, सामाजिक सुरक्षा परिचयपत्र र राष्ट्रिय परिचयपत्र सबै भए पनि मण्डलले आमाको नामबाट नागरिकता पाउन सकेका छैनन् । “नागरिकता नहुँदा न त कुनै व्यवसाय गर्न सकेको छु, न त बालबालिकालाई उचित शिक्षा दिन, “मण्डलले आफ्नो पीडा व्यक्त गरे ।

भारतकी रंजनदेवीसँग विवाह गरेका मण्डलका अहिले ८ वर्षीया छोरी सपना, ५ वर्षीय छोरा कार्तिक र ३ वर्षीय छोरा प्रलाद छन् । विवाह भएको १० वर्ष हुनलाग्दा पनि विवाह दर्ता नहुँदा समस्या झन् थपिएको छ ।

विस २०५० चैत्र २८ गते जन्मेका मण्डलले नेपाली नागरिकता नपाउँदा उनको एक छोरी सहित तीन सन्तानको पढाइ नै प्रभावित भएको हो । आमासँगै आफ्नो सबै प्रमाण सहितको कागजात भएपनि नागरिकता नपाउँदा मण्डल बिच्चलीमा परेको सुनाउँछन् ।

आमाको नामबाट नागरिकता दिने भएपछि नागरिकता प्राप्त गर्ने फर्मसमेत भरे तर केही दिनमा नै फेरि बन्द भयो, उनले भने –‘नागरिकता नहुँदा न त केही ब्यवसाय गर्न सकेको छु , न त बालबालिकालाई शिक्षा दिन सकेको छु ।’

छोरा छोरीलाई विद्यालयमा भर्ना गर्न जन्मदर्ता माग्छ उनले भने –‘आफ्नो नागरिकता नहुँदा बच्चाको जन्मदर्ता बनाउने कुरै भएन । समान्य व्यवसाय गरेर दैनिक जीवीकोपार्जन गर्दे आएका छन् । मानसिक सन्तुलन गुमाएका बुवा आफू गर्वाअवस्थामा रहेकै बेला बेपत्ता भएपछि लामो समयदेखि नागरिकताको लागि दौडधुप गरिरहेको उनको भनाइ छ ।

बुवा बेपत्ता भएकाले आफूले पढ्न नसकेको बताउदै उनले भने –‘छोराछोरी बढाउने निधो पनि नहुने जस्तै भएको छ । १६ वर्ष उमेर पुगेपछि नागरिकता बनाउन सकिने कानुनी व्यवस्था छ । तर आमाको नामबाट नागरिता दिने कानुन लामो समयदेखि पारित नहुँदा मण्डलजस्तै सयांै युवाहरुले भोग्न बाध्य छन् ।

जिल्ला प्रशासन कार्यलय सप्तरीले आमाको नामबाट नागरिकताका लागि सिफारिस लिन जाने सेवाग्राहीलाई सिफारिस गरी पठाइदिन स्थानीय तहलाई २०८० कार्तिक १९ गते नै सर्कुलर गरेको थियो ।

गैर आवासीय नेपाली तथा आमाको नाममा नागरिकताको लागि सिफारिस लिन कार्यालयमा आउने सेवाग्राहीलाई विस्तृत रुपमा पहिचान गरेर मात्र सिफारिस गर्न जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई पत्राचार गरेको थियो ।

सिफारिस गर्नुपर्ने अनुसूचिका लागि नेपाली नागरिकता (तेस्रो संशोधन) नियमावली, २०६३ को अनुसूची ४क र ४ख (बुवा पहिचान नभएको व्यक्तिको लागि) तथा अनुसूचि ८ ग, ८ घ, ८ च र ९ (गैर आवासीय नेपालीको लागि) लाई प्रयोगमा ल्याइ सिफारिस गरी पठाउन पत्र मार्फत् स्थानीय तहसँग अनुरोध गरिएको थियो । तर जिल्ला प्रशासनले स्थानीय तहलाई पत्राचार गरेको केहि दिनमा नै बन्द भएको थियो ।

सोमबार, ०६ जेठ, २०८२, दिउँसोको १२:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर