आकाशको आक्रोश !

हरेक विभेदको अन्त्यको लागि,
आफ्नो जीवन सहर्ष त्यागी,
लडाईको रणमैदानमा लडेको
म एक सच्चा रातो सिपाही !

सामन्ती राज्यसत्ताको अन्यायको विरुद्धमा,
होमिएको थिए म जनयुद्दमा,
तर, लड्दा लड्दै मरेको म!
तर, मर्दा मर्दै पनि नमरेको म!
मेरो आत्माले शरीर छोड्यो,
तर मैले देखेको पवित्र सपना छोडेन ।

मैले हेरिरहे सपना!
जनयुद्धले जनतन्त्र ल्याउने,
भुका नाङ्गाले सुनौलो भविष्य पाउने,
मैले पर्खिरहे स्वर्णिम समय,
चिहान भित्र चिसो अँध्यारोमा बसेर,
मेरो बलिदानीले यो देश मा उज्यालो ल्याउने ।
सामन्तीरूको दासत्वबाट यो देशले मुक्ति पाउने।

तर आज यो देशलाई हेर्दा!
क्रान्ति विफल भएको देख्दा,
लाग्छ,
म ढाटिए,
म बेकारमा मारिए!
मेरो बलिदानीको मूल्य केवल सत्तामा साटिए!
लाग्छ,
मेरा विश्वास माथि गम्भीर खेलबाड गरियो !
मेरो आस्था माथि निर्मम बलात्कार गरियो !

म,
थोरैको लागि मात्र सहिद भएछु !
धेरैको लागि कुपात्र अहित भएछु !
न देशको भएछु, न जनताको साझा भएछु !
न घरको भएछु न घाटको भएछु ।

ए गद्दारहरु हो!
ए पथ भ्रष्टहरु हो!
मलाई चिहानबाट उठ्न बाध्य नपार!
मेरो शरीर त उहिल्यै मरिसक्यो,
मेरो आत्मालाई समेत अब नमार!
मलाई चिर निन्द्राबाट बिउँझिन् मन छैन!
मलाई फेरि योद्धा भएर व्यूतिन मन छैन।

यदि म उठें भने,
तिमीहरू सुत्ने छैनौं!
अझै नसच्चिए,
म तिमीहरूलाई तर्साइरहनेछु!
गोलीझै छेड्ने प्रश्न भएर,
बमझै पडकिने आवाज बनेर,
आँधीझै उडाउने आन्दोलन भएर,
रगतझै रातो क्रान्ति बनेर,
आक्रोसित आकाश भएर,
प्रलय प्रकाश बनेर !

नोट : जनयुद्धमा सहिद भएका आकाशको सहादत भएको दिन (वैशाख २१) को सम्झना गर्दै उनका छोरा प्रतिश श्रेष्ठले लेखेको कविता…

आइतबार, २१ बैशाख, २०८२, दिउँसोको १२:३४ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर