विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि कोशी प्रदेश अनुकुल रहेको बताएका छन् । शान्तिसुरक्षा, श्रमिक र लगानीकर्ताहरुबीच सुमधुर सम्बन्ध, विद्युत, सडकलगायत पूर्वाधार आदिका हिसाबले कोशी प्रदेश निकै अनुकुल रहेको प्रधानमन्त्री ओलीले बताए ।
कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनको बिहीबार विराटनगरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वपश्चिम राजमार्ग तथा समानान्तर ढंगबाट मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गजस्ता बैकल्पिक सडक सञ्जालको विकासले उत्पादित वस्तुलाई सहजरुपमा बजारमा लैजान सकिने अवस्था रहेको बताए ।
लगानीका लागि आवश्यक पर्ने कानुनी अवस्था र अन्य विषयहरुलाई सरकारले सरल बनाएको प्रधानमन्त्रीले बताए । ‘कोशी प्रदेशमा सबैतिर सडक सञ्जाल जोडिएकाले कच्चा पदार्थ ढुवानी र उत्पादनलाई बजारसम्म पुर्याउन कुनै समस्या छैन, हुलाकी राजमार्ग अन्तर्गत कनकाई र कमलामा पुल निर्माण भएलगत्तै चितवनसम्म सहज पहुँच हुने अवस्था छ, माथिल्लो तर्फ एसियन मापदण्डको राजमार्ग निर्माण भइरहेकोले लगानी सुरु गर्दा बजारसम्म सामान पुगाउँदा राजमार्ग तयार भइसक्छ ।
मदन भण्डारी राजमार्ग, कोशी, तमोर, किमाथांका, टिप ताला नाकाजस्ता स्थानहरू खुला भइसकेको र कोशी करिडोर निर्माण भइरहेकोले जहाँसुकै सामान ढुवानी गर्न सकिने अवस्था रहेकोले लगानी गर्न डराउनु पर्दैन, ढुक्क भएर लगानी गर्नुहोस ,’प्रधानमन्त्री ओलीले भने । देशमा सामान ल्याउन र लान कुनै हिसाबले नरोकिने, आफ्नो उत्पादनको बजार कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लान सकिने, सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका साथै सगरमाथासहित विभिन्न हिमाल र जडिबुटीहरुको थलो भएकोले कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना रहेको उनले बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट जलमार्गको प्रयोग गरी सामान ढुवान गर्ने प्रक्रिया फेरि सुरु गर्ने बताए । गंगा नदीहुँदै कोशी र कर्णाली नदीसम्मको जलमार्गको प्रयोग गरी वस्तु ढुवानी गर्ने भन्दै उनले त्यसको प्रक्रिया सुरु गर्ने जानकारी दिए । गंगा नदीसम्म दुई नदीबाट नेपालसँगको कनेक्टिभिटी गर्ने उनको भनाइ थियो ।प्रधानमन्त्रीले श्रमिक र रोजगारदाताबीच समस्या देखिए पनि सहजै समाधान हुने र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सिद्धान्तअनुसार सन्धि कार्यान्वयन भएकाले आइएलओले नेपालको प्रसंसा गरेको बताए ।
लगानी सम्मेलनको अध्यक्षता गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजीक्षेत्रको वारेस बस्न तयार रहेको बताए । उनले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लागनीका लागि भएका झन्झटहरु अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरु अध्यादेशमार्फत संसोधन गरेको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनबाट निजी क्षेत्र उत्साहित बनेको जानकारी दिए । कोशी प्रदेशमा जारी लगानी सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजनाहरु सोकेसमा राखिएको पनि उनले जानकारी दिए । उनले एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफल गरेपछि परियोजनाहरु छनोट गरिएको पनि बताए ।
यसैबिच उक्त कार्यक्रममा उपस्थित मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले युवाहरुको पलायन रोक्न नेपालमा उद्योग र पर्यटन क्षेत्रको विकास गर्नु पर्ने बताए । उनले उद्योग र पर्यटनमा लगानी गरेर युवाहरुलाई रोक्न नसके देश अझ पछि पर्दै जाने भएकोले पर्यटन र उद्योगमा लगानी बढाएर युवाहरुलाई स्वदेशमै रोजगारीको अवसरका सिर्जना गर्नुपर्ने बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कोशी प्रदेशजस्तै कर्णाली पनि धेरै हिसाबले समृद्ध रहेको बताए । उनले कोशी प्रदेशले आयोजना गरेको लगानी सम्मेलनबाट सिक्नका लागि आफूले धेरै विषय प्राप्त गरेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रदेश प्रमुख पर्शुराम खापुङ, गैरआवासीय नेपाल संघका अध्यक्ष बद्रि केसी, कोशी प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बो, पूर्व मुख्यमन्त्रीहरु राजेन्द्र राई, उद्धव थापा, शेरधन राईलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कोशी प्रदेश लगानी सम्मेलनमा बिहीबार साँझ लगानीकर्ता तथा विज्ञहरुसमेतको सहभागितामा नलेज सेयरिङको सेसन सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ । त्यस्तै शुक्रबार बिग होटल र रत्ना होटलमा थिमेटिक सेसनहरु सञ्चालन हुनेछन् । ती थिमेटिक सेसनहरुमा लगानीकर्ताहरुले आफ्नो आवश्यकता अनुसार सहभागिता जनाउने छ