विराटनगर । केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री शिवकुमार मण्डलले विराटनगरमा माओवादीको छुट्टै प्यानल बनाएका छन् ।
गत आइतबार भएको माओवादीको नगर सम्मेलनबाट ८१ सदस्यीय कार्यसमिति छनौट भएपनि पदाधिकारी छानिएका थिएनन् । पदाधिकारीमा सहमति हुन नसकेपछि भोली (शनिबार)का लागि निर्वाचनको मिति तोकिएको छ । माओवादीको विधानमा छानिएका कार्यसमिति सदस्यहरुले पदाधिकारी छान्ने व्यवस्था छ ।
सोही अनुसार हुन लागेको निर्वाचनमा नेता मण्डलले (दिनेश) देव राजवंशीको नेतृत्वमा छुट्टै पदाधिकारीको प्यानल बनाएका हुन् । जसको उपाध्यक्षमा सनोजकुमार यादव, धर्मलाल माझी, चन्द्रबहादुर वन सचिवमा सोनु केवट, सहसचिव दिनेशकुमार यादव रहेका छन् । सो समूहलाई भोट भाग्दै मण्डलले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
उता माओवादी केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज समेत रहेका कुलप्रसाद साम्बा लगायतले विराटनगरको अध्यक्षमा नमिता न्यौपानेको प्यानल अगाडि सारेको छ । उक्त प्यानलको उपाध्यक्षमा शिवराम थन्दार, शारदा मैनाली, सरस्वती ओझा, सचिवमा मो. आजम परवेज र सहसचिवमा भरत गिरी रहेका छन् ।
कोषाध्यक्षमा भने यसअघि नै मनिष सोनी निर्विरोध निर्वाचित भएका छन् ।