कोशी सरकारको कामप्रति सत्तारुढ दल नेपाली कांग्रेस असन्तुष्ट

विराटनगर । कोशी प्रदेश सरकारको कामप्रति सत्तारुढ दल नेपाली कांग्रेस असन्तुष्ट नरहेको देखिएको छ ।

कोशी प्रदेश सरकारमा कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल र उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिंह हागाम सहभागी छन् ।

मंगलबार बसेको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा वर्तमान सरकारको कामप्रति असन्तुष्टि पोखिएको छ । । बैठकले सरकारमा रहेका दुई प्रमुख दलबीच समन्वय अभाव रहेको र अपेक्षाकृत गतिमा काम हुन नसकेको निष्कर्ष निकालेको छ । ‘अहिलेको सरकारप्रति जनताको चाहना पर्फर्मेन्स द्रुत गतिमा होस् भन्ने थियो । तर त्यस्तो देखिएन,’ प्रमुख सचेतक गोपाल तामाङले भने, ‘यहाँ त झन्डै दुईतिहाईको सरकार छ । निर्णय फटाफट हुन्छ भन्ने थियो, तर त्यो देखिएन भनेर माननीयज्यूले प्रश्न उठाउनु भएको छ ।’

बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटका विषयमा छलफल भएको छ । साथै, सुझाव संकलनका लागि प्रमुख सचेतक तामाङको नेतृत्वमा एक समिति गठन गरिएको छ । समितिमा सचेतक सोभा पालुङवा, प्रदीप सुनार, शमशेर राई र योजना आयोगका सदस्य नारायण कोइराला सदस्यका रूपमा रहने छन् ।

कांग्रेसबाट मन्त्री भएकाहरूले आफ्नो मन्त्रालयले गरेका कामको बारेमा संसदीय दलमा ब्रिफिङ गरेका थिए । बैठकमा पर्यटन वर्ष उद्‌घाटन कार्यक्रमलाई लिएर पनि आपत्ति जनाइएको थियो ।​

बैठकमा छुटेका योजनाहरू समावेश गर्ने विषयमा पनि छलफल भएको थियो ।

सरकारमा सहभागी हुँदा नै रकमान्तर गरेर बजेटको व्यवस्थापन गर्ने र छुटेका योजनाहरू समावेश गर्ने सहमति भएको तर अहिलेसम्म कार्यान्वयन नभएको भन्दै सत्तारुढ दलका सांसदहरू नै आक्रोशित बनेका थिए । सरकारको कामप्रति कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री प्रदीप सुनुवारले प्रश्न उठाएका थिए । मनमोहन विश्वविद्यालयलाई प्राथमिकतामा राख्दा शैलजा आचार्य हृदय रोग केन्द्र किन अलपत्र परेको भनेर प्रश्न उठेको एक सांसदले बताए ।

‘सरकार एमाले–कांग्रेसको हुँदा मनमोहन चाहिँ राम्ररी चल्ने अर्कोतिर शैलजा आचार्य हृदयरोग केन्द्र किन चल्न सकेन ?,’ भनेर प्रश्न उठेको ति सांसदले भने ।

बैठकले सरकारको काम ढिलासुस्ती भएको भन्दै समस्या समाधानका लागि सचिवहरूसँग बैठक गरी अड्चन भए त्यसलाई फुकाउन र तुरुन्त कानूनी व्यवस्थापन गर्न सुझाव दिएको छ ।

बैशाख ९, २०८२, रातीको ०८:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर