गाडीमा विद्युतको तार छोडर भएको घटनामा दोषी को ?

विराटनगर । ताप्लेजुङको प्रशिद्ध तीर्थस्थल पाथीभरा दर्शनको लागि गएका एकै परिवारका तीनसहित चार जनाको सोमबार विहान दुःखद् निधन भएको छ । फुङलिङ नगरपालिका–१० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा उनीहरुको निधन भएको हो ।

घटनामा झापाको भद्रपुर–८ स्थित अस्पताल चोकका ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षकी श्रीमती सरिता पौडेल, छोरीतर्फकी नातिनी ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्यको मृत्यु भएको थियो । यस्तै बोलेरो चालक फुङलिङ नगरपालिका–१० का दुर्गा भट्टराईको पनि मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा पौडेल दम्पतीकी छोरी ललितपुरकी वर्ष ४५ वर्षीया सविना आचार्य र नाति वर्ष १० का अबियम आचार्य घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि काठमाडौं लगिएको छ ।

सोमबार बिहान झिसमिसेमै ताप्लेजुङ सदरमुकामबाट जाँदै गरेको मे १ भ ३०११ नम्बरको बोलेरो जिप फुङलिङ–१० सेवारो चोक भन्ने स्थानमा लत्रिएको बिजुलीको तारमा अल्झिएर करेन्ट प्रवाहपछि आगलागीमा परेको थियो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी भीमबहादुर दाहालका अनुसार झट्ट हेर्दा यो लत्रिएको बिजुलीको तारका कारण दुर्घटना भएको देखिएको छ ।

दुर्घटनास्थलको सडक हिलाम्य रहेको छ । मृतकहरुको शव हिलोमा गाडिएको अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार बिहान ३ बजेतिर सदरमुकामबाट बलेरो हिँडेको देखिएको छ । दुर्घटनास्थको सडकमा खाल्डो रहेकोले त्यसलाई छलेर अगाडि बढ्ने क्रममा बिजुलीको तारमा अल्झिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

पाथीभरा जाने फुङलिङदेखि सुकेटार विमानस्थलसम्मको सडक कालोपत्र भएपनि सुकेटारदेखि काफ्लेपाटीसम्मको सडक खण्ड अझै कालोपत्रे भएको छैन । ट्रयाक खुलेको डेढ दशक भएपनि प्रशिद्ध तीर्थस्थल जाने सो सडक कच्ची नै छ । पछिल्लो समयमा सरकारले पाथीभरा क्षेत्रमा केबुलकार बनाउने कुरामा चासो दिएपनि सडक कालोपत्रे गर्ने कामा ध्यान नदिएको भन्दै स्थानीयले आलोचना गर्दै आएका छन् । सोही सडकमा दुर्घटना भएको हो ।

ललितपुर–१० निवासी ४५ वर्षीया सविना पौडेलले छोराछोरी र बुवाआमालाई लिएर पाथीभरा दर्शनका लागि हिँडेकी थिइन् । परिवारका अनुसार आइतबार बेलुका फुङलिङ आएका उनीहरू होटल प्यारिजमा बास बसेका थिए ।होटल सञ्चालक सविन बानियाँले उनीहरुको आग्रह अनुसार काफ्लेपाटीसम्म पुग्ने ट्याक्सी व्यवस्थापन गरिदिएका थिए । ट्याक्सीका मालिकसमेत रहेका दुर्गा भट्टराईले उनीहरुलाई लिएर जाने क्रममा आफ्नो पनि ज्यान गुमाएका हुन् ।

बिजुलीको तार माथिबाट झरेको चालकले जानकारी नपाएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । तारमा बोलेरो जीप ठोक्किने बित्तिकै गाडीमा करेन्ट प्रवाह भएर आगजनी भएको अनुमान छ ।घाइते सविना र छोरा भविमय गाडीबाट तत्काल बाहिर निस्कन सफल भएकोले उनीहरुको ज्यान बचेको भएपनि भविमयको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना भएको गाडीको पछाडि रहेको अर्को गाडीका यात्रुले घाइतेहरुको उद्धार गरेका थिए ।

पछिल्लो गाडिमा रहेका चितवनको भरतपुर नगरपालिका–४ चितवनका जनार्दन भण्डारीका अनुसार बिजुलीको तारमा छोएको गाडी जलिरहेको देखेपछि उनीहरु रोकिएका थिए । जलिरहेको गाडी छेऊमा सविनाले हात उठाइरहेको देखेपछि उनलाई तानेर पर सारेको उनी बताउँछन् । जलिरहेको गाडीमा रहेका चालकसहितका चार जनालाई उद्धार गर्नसक्ने अवस्था नभएको उनको भनाइ छ ।

घटनापछि भण्डारीले आफू चढेर पाथीभरा जाँदै गरेको गाडीमा सविना र भविमयलाई राखेर फुङलिङतर्फ फर्किएका थिए । ‘सविना अचेत अवस्थामा थिइन् । सानो भाइ बोल्दै थिए’ उनले भने, ‘सुकेटार आइपुग्दा एम्बुलेन्स भेटेपछि घाइतेलाई एम्बुलेन्समा राखेर अस्पताल ल्यायौं ।’

ताप्लेजुङ अस्पतालमा प्राथमिक उपचारपछि सविनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । उनका श्रीमान् काठमाडौँको एक निजी अस्पतालमा नसारोग विशेषज्ञका रुपमा कार्यरत छन् । उनकै पहलमा घाइतेहरूलाई हेलिकोप्टरमार्फत काठमाडौँ उपचारका लागि लगिएको हो ।

नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका प्रमुख सुरेशप्रसाद चौधरीले भने आइतबार रातिको वर्षा र चट्याङले तारको पिन फुटाएका कारण तार लत्रिएको दाबी गरेका छन् । चट्याङले तारको पिन फुटाएको अनुमान गर्दै उनले भुईमा तार नछोएको कारण विद्युत अबरुद्ध नभएको र आफूहरुलाई पनि त्यसबारे जानकारी नभएको दावी गरे ।

विद्युत प्राधिकरणका कोशी प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले पनि घटनालाई ‘दुर्घटना’ भन्दै प्राधिकरणको यसमा कुनै दोष नरहेको दाबी गरेका छन् । उनले घटनाका लागि प्राकृतिक कारणलाई जिम्मेवार ठह¥याए । ‘हिजो राति त्यहाँ हावाहुरी र चट्याङसहित पानी परेको रहेछ, चट्याङले बिजुलीको पोलमा फलामे पिनमा अल्झाएर राखिने तारलाई च्यानलबाट तल झारिदिएछ,’ ठाकुरले भने, ‘बिजुलीको पोलमा त्यसरी तार राखेको ठाउँमा माटोको डल्लो पनि राखिएको हुन्छ । चट्याङले पहाडी इलाकामा त्यो डल्लो फुटाइदिन्छ। हिजो पनि फुटायो अनि तार च्यानलभन्दा तल खस्यो ।’

दुर्घटनास्थल फुङलिङ नगरपालिका– १० का वडाध्यक्ष सन्तोष लिम्बूले दिएको जानकारी अनुसार प्राधिकरणले नियमित अनुगमन र मर्मतसम्भार नगर्दा त्यस क्षेत्रमा विद्युतका पोल जताततै विद्युतीय धराप जस्तो रहेको बताएका छन् । बिजुलीका पोलहरू ढल्किएका छन् भने कतिपय ठाउँमा अझैपनि तार लत्रिएको अवस्थामा रहेको उनीहरुको भनाइ छ ।
मृतकका आफन्तहरूले विद्युत प्राधिकरणलाई जिम्मेवार ठह¥याउँदै घटनाको छानविन र उचित क्षतिपूर्तिको माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा सोमबार भएको छलफलमा मृतकका आफन्तहरुले क्षतिपूर्ती दिनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गरिदिनुपर्ने र गाडीको क्षतिपूर्ती दिनुपर्ने माग राखेका थिए । छलफलमा सहभागी फुङलिङ नगरपालिकाकी उपप्रमुख भिमा देवी ओझाका अनुसार ती मागबारे प्राधिकरण र सरकारलाई जानकारी गराइएको छ ।
प्राधिकरणबाट लिखित जवाफ आएपछि पीडितले शव बुझ्ने बताएका छन् । घटनाको छानविन गर्नुपर्ने माग भएको भन्दै उनले त्यसबारे प्रशासन वा सरकारले निर्णय गर्ने जानकारी दिएकी छन् ।

मङ्गलबार, ०९ बैशाख, २०८२, दिउँसोको १२:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर