शिक्षक आन्दोलनको २० औँ दिनमा शिक्षामन्त्रीकै राजीनामा

विराटनगर । २० दिनदेखि आन्दोलनमा रहेका शिक्षकहरुको माग पुरा गर्न प्रधानमन्त्री नै बाधक भएपछि शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् ।

शिक्षक आन्दोलन समाधान गर्न शिक्षामन्त्रीले प्रयास गरेपनि प्रधामन्त्री केपी शर्मा ओलीले तयसमा साथ दिनुको साटो शिक्षकहरुलाई सार्वजनिक मञ्चबाट गाली गर्ने र होच्याउने काम गर्दै आएका थिए ।

ओलीको व्यवहारकै कारण आगामी संसदबाट शिक्षा ऐन पारित गर्ने सरकारको प्रतिबद्धतालाई विश्वास नगरी शिक्षकहरुले सडक नछाडेपछि शिक्षामन्त्रीले राजीनामा दिएकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास पुगेर सोमबार अपरान्ह भट्टराईले राजीनामा पत्र थमाएकी हुन् ।

सरकारले शिक्षकहरुको माग पूरा गर्न प्रतिबद्ध रहेको आश्वासन दिँदै जारी आन्दोलन स्थगित गर्न आग्रह गरेपनि शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले विश्वास गर्ने आधार नदिएकोले अनुशासन र मर्यादा कायम राखेर संयम सहित आन्दोलनमा निरन्तर गरिरहने बताएका छन् ।

माग पूरा नहुँदासम्म माइतीघर क्षेत्रमा निरन्तर आन्दोलन भइरहने शिक्षकहरुको भनाइ छ । २० औँ दिनको आन्दोलनमा पनि सरकारले माग पुरा गर्ने विश्वाशिलो वातावरण नदिएको भन्दै शिक्षकहरु विद्यालय फर्कन नमान्दा वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षा पनि अन्यौलमा छ ।

शिक्षामन्त्रीको राजीनामासँगै सरकार र प्रधानमन्त्री केपी शर्मा ओली भने दबाबमा परेका छन् । आजै मन्त्रीपरिषद् बैठक राखिाएको छ । बैठकले शिक्षक आन्दोलनबारे केही निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार मात्र देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आग्रह गरेका थिए । उनले आफूहरुको आन्दोलनकै कारण ऐन आयो भन्ने बनाउन मात्र आन्दोलन गरिएको भन्दै ऐन बोक्न धेरै शिक्षकहरु सडकमा आउन नपर्ने बताएका थिए ।

सोमबार, ०८ बैशाख, २०८२, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर