समृद्धिको यात्रामा तिरहुत गाउँपालिकाः

मधेश प्रदेशको पूर्वी भागमा अवस्थित सप्तरीको तिरहुत गाउँपालिका ऐतिहासिक, सांस्कृतिक र कृषि क्षेत्रको समृद्ध परम्परा बोकेको एक महत्वपूर्ण स्थानीय तह हो । कोशी नदीको किनारी क्षेत्रमा फैलिएको तिरहुत गाउँपालिका तराईको समथर भू–भागमा अवस्थित छ । पूर्वमा कोशी नदी, पश्चिममा खाँडो नदी र उत्तरमा चुरे पहाडको काखमा रहेको यस गाउँपालिकाको भौगोलिक विविधता यसको विशेषता हो । बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय पहिचान बोकेको यस गाउँपालिकामा मैथिली भाषी समुदायको बाहुल्यता रहेको छ । यादव, मैथिल ब्राम्हण, थारु, मुस्लिम, दलितलगायतका विभिन्न जातजातिको मिश्रित बसोबास रहेको छ ।

तिरहुत गाउँपालिकाको अर्थतन्त्र मूलतः कृषिमा आधारित छ । धान, गहुँ, मकै, दलहन र तेलहन यहाँका प्रमुख बालीहरू हुन् । कोशी र खाँडो नदीको जलाधार क्षेत्रमा अवस्थित भएकोले उर्वर माटो र सिंचाइको राम्रो सम्भावना रहेको छ । पशुपालन, मत्स्यपालन र कुटीर उद्योगहरू पनि यहाँका जीविकोपार्जनका महत्वपूर्ण स्रोतहरू हुन् ।

मिथिला संस्कृतिको गहन प्रभाव रहेको यस क्षेत्रमा जितिया, छठ, दशैं, तिहार, रमजान, बकरइद जस्ता चाडपर्वहरू धुमधामसँग मनाइन्छन् । मिथिला पेन्टिङ्ग, लोक संगीत र नृत्य यहाँको कलात्मक पहिचान हो। जातीय र सांस्कृतिक सद्भाव यहाँको समाजको अनौठो विशेषता हो ।

पूर्वाधार विकासमा फड्को मार्दै

पछिल्ला वर्षहरूमा तिरहुत गाउँपालिकाले पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको छ । ग्रामीण सडक सञ्जाल, विद्युतीकरण, खानेपानी आपूर्ति, स्वास्थ्य संस्थाहरू र शैक्षिक केन्द्रहरूको विस्तारले जनजीवनमा सकारात्मक परिवर्तन ल्याएको छ । गाउँपालिकाको प्रशासनिक भवन, वडा कार्यालयहरू र सामुदायिक भवनहरूको स्तरउन्तीले सेवा प्रवाहमा सहजता ल्याएको छ ।

छात्रालाई साईकल

–विजय यादव निर्वाचित भएपछि गाउँपालिका छात्राहरु नियमित अध्ययन तर्फ अग्रसर गराउन साईकल वितरण गरेको छ । आर्थिक वर्ष २०७९–८० मा ४०० र २०८०–८१ मा ३५० छात्रालाई साईकल वितरण गरेको हो । कक्षा ८ देखि ११ सम्मका छात्रालाई साईकल वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी एसईई उत्तीर्ण ४० जना विद्यार्थीहरुलाई २५ हजारका दरले छात्रवृत्तिसमेत वितरण गरेको छ । उच्च शिक्षा हासिल गर्ने ५ जना विद्यार्थीहरुलाई जनही एक लाखले छात्रवृत्ति प्रदान गरेर नेपालमै पालिकाले नमुना काम गरेको दावी गरेको छ ।
गाउँपालिका अन्तर्गत रहेको मावि डिवन र मावि मैनाकरेडीमा भवन निर्माणको साथै गाउँपालिकाको प्रवेश गेटसंगै गाउँपालिकाको बजेटले अधिकाश सडक खण्डमा कालोपत्रे गरेको छ ।

कृषिमा विद्युतीकरण

गाउँपालिका अन्र्गत रहेको डिवन र लोहजारामा किसानको लागि विद्युतीकरण गरेको छ । गाउँपालिकाले नै विद्युत प्राविधिकरणलाई महसुल तिर्नेगरी बोरिङ्ग र मोटर किसानलाई कृषिबाट आत्मनिर्भर बनाउन निःशुल्क प्रदान गरेको छ । दलित समुदायलाई घर निर्माणसमेत गरिदिएको छ ।

चुनौती र भावी योजना

अध्यक्ष यादवका अनुसार, “बाढी व्यवस्थापन, बेरोजगारी समस्या समाधान र कृषि उत्पादकत्व वृद्धि हाम्रा प्रमुख चुनौती हुन् ।” यी चुनौतीहरूलाई सम्बोधन गर्न आगामी वर्षहरूमा विशेष योजनाहरू तय गरिएको छ। कोशी र खाँडो नदी नियन्त्रण, युवा रोजगार कार्यक्रम, कृषि उद्यमशीलता प्रवद्र्धन र पर्यटन विकासका परियोजनाहरू प्राथमिकतामा रहेका छन् ।
“जनताको सेवा नै मेरो धर्म हो“ भन्ने विश्वासका साथ अध्यक्ष यादवले जनता र जनप्रतिनिधिबीच प्रभावकारी सम्बन्ध स्थापित गर्न सफल भएका छन् । नियमित जनसम्पर्क, सार्वजनिक सुनुवाइ र पारदर्शी कार्यशैलीले उहाँलाई जनप्रिय नेताको रूपमा स्थापित गरेको छ ।

जनप्रतिनिधिहरूले समग्र विकासका लागि विभिन्न नीति तथा कार्यक्रमहरू अगाडि बढाएका छन् । कृषि आधुनिकीकरण, बाढी नियन्त्रण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, रोजगारी सिर्जना र सुशासन प्रवद्र्धन जस्ता क्षेत्रहरूमा विशेष जोड दिइएको छ । संघीय र प्रदेश सरकारसँगको समन्वयमा विभिन्न विकास निर्माण कार्यहरू भइरहेका छन् । स्थानीय स्रोत–साधनको समुचित उपयोग र जनसहभागितामा आधारित विकास मोडेल अपनाउँदै तिरहुत गाउँपालिका समृद्धिको यात्रामा अगाडि बढिरहेको छ ।

विकासको नयाँ दिशातर्फ अग्रसर नेतृत्व

गाउँपालिकाले अध्यक्ष विजय यादवको नेतृत्वमा गाउँपालिकाले समग्र क्षेत्रमा फड्को मारेको छ । सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय कृषक परिवारमा जन्मिएका यादव गाउँपालिको नेतृत्मा आएपछि पालिकाले आफ्नो स्वरुप नै फेरेको छ ।
“समृद्ध तिरहुतको आधार, आधुनिक कृषि व्यवसाय र पूर्वाधार“ भन्ने मूल नाराका साथ अध्यक्ष यादवले कृषि क्षेत्रको आधुनिकीकरणमा विशेष जोड दिएका छन् । सिंचाइ सुविधा विस्तार, कृषि यान्त्रिकीकरण, उन्नत बिउबिजन वितरण र कृषक तालिम कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिएका छन् ।

“शिक्षित र स्वस्थ नागरिक, तिरहुत गाउँपालिकाको पहिचान“ भन्ने मान्यताका साथ विद्यालय भौतिक पूर्वाधार सुधार, शिक्षकहरूको क्षमता अभिवृद्धि र बालमैत्री शिक्षण वातावरण निर्माणमा पहल गरिएको छ । स्वास्थ्य चौकीहरूको स्तरोन्नति, नियमित खोप कार्यक्रम र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन गरिएको छ ।

गाउँपालिकाको समग्र विकासका लागि यातायात सञ्जाल, खानेपानी, विद्युतीकरण र सार्वजनिक भवनहरूको निर्माणमा उल्लेखनीय प्रगति हासिल गरिएको छ । ग्रामीण सडकहरूको स्तरोन्नति, पुल–पुलेसा निर्माण र सामुदायिक भवनहरूको विस्तारले जनजीवनमा सहजता ल्याएको छ ।

अध्यक्ष यादवले सामाजिक न्याय र समावेशिताका लागि विशेष पहल गर्नुभएको छ । सीमान्तकृत समुदाय, महिला, दलित र अल्पसंख्यकहरूको सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन् । लघु उद्यम विकास, सीपमूलक तालिम र सामाजिक सुरक्षा कार्यक्रमहरू उल्लेखनीय रहेका छन् ।

प्रशासनमा ललन यादवको कुशल नेतृत्व

तिरहुत गाउँपालिकाको प्रशासनिक नेतृत्व सम्हालिरहेका कार्यकारी अधिकृत ललन यादवले पालिकाको कामलाई अब्बल रुपमा नेतृत्व दिएका छन् । सेवा प्रवाहलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन उनको भूमिका महत्वपूर्ण रहेको स्थानीयवासीले बताएका छन् । जनप्रतिनिधिसँगको उचित तालमेलसहित उनले पालिकाको दैनिक प्रशासनिक कामलाई विवादरहित रुपमा सञ्चालन गरिरहेका छन् ।

कार्यकारी अधिकृत यादवको नेतृत्वमा तिरहुत गाउँपालिकाले प्रशासनिक सुधारका महत्वपूर्ण कदमहरू चालेको छ । डिजिटलाइजेशन र प्रविधिमैत्री प्रशासन सञ्चालन गरिरहेको यादवले बताएका छन् । “सूचना प्रविधिमा आधारित सेवा प्रवाह हाम्रो प्राथमिकता हो” उनले भने । गाउँपालिकाले सम्पूर्ण अभिलेखहरूको डिजिटलाइजेशन, अनलाइन राजस्व संकलन प्रणाली, डिजिटल नागरिक बडापत्र र कर्मचारीहरूको बायोमेट्रिक हाजिरी प्रणाली लागू गरेको छ । यसले सेवा प्रवाहमा पारदर्शिता र छिटोछरितोपन ल्याएको छ ।

सेवाग्राही पृष्ठपोषण प्रणालीको विकासले सेवाग्राहीहरूको सन्तुष्टि बढेको छ । वडा कार्यालयहरूको सुदृढीकरण र कर्मचारीहरूको क्षमता विकासमा पनि जोड दिइएको छ । गाउँपालिकाको राजस्व संकलन प्रक्रियामा सुधार, सार्वजनिक खरिद प्रक्रियाको पालना, नियमित लेखापरीक्षण र सार्वजनिक सुनुवाइमार्फत वित्तीय पारदर्शिता कायम गरिएको छ । बेरुजु फछ्र्यौटमा उल्लेखनीय प्रगति हासिल गरिएको छ ।
सीमित जनशक्ति, भौतिक पूर्वाधारको कमी र बढ्दो जनआकांक्षा प्रमुख चुनौतीहरू रहेको यादव बताउँछन् । त्यसको सामना गर्न आगामी दिनमा कर्मचारी क्षमता विकास, संस्थागत सुदृढीकरण र सेवा प्रवाहको नवीन मोडल अपनाउने योजना रहेको उनले जानकारी दिए ।
पर्यटनको केन्द्र बन्दै लोहजारा दह

सप्तरीको तिरहुत ५ स्थित महुली नदीको पश्चिमी किनारमा महेन्द्र राजमार्गको दक्षिण एउटा ठूलो वन छ, करिब कोसभर लामो । वनको आकृतिलाई हेर्दा यसले आफ्नो शिरले महुलीलाई ढोगेको प्रतीत हुन्छ । गुगल म्यापमा यो वन ‘वामकोल्टे परी सुतिरहेको भालु’ प्रतीत हुन्छ । यो वन मूलतः चुरिया वनको एउटा खण्ड हो, लोहजारा दह ।

यो वनमा २२ प्रकारका रूखहरू भएपनि मुख्य रूपमा साखुवन हो । स्थानीय बोलचालमा यसलाई कुकुरहर्का भनिन्छ । वनको मध्य भागमा पूर्वी र पश्चिमी किनारमा अत्यन्तै रमणीय शीतल दहहरू छन् । लोहजारा दह भनेपछि प्रायः पश्चिमपट्टिको दह नै बुझिन्छ ।लोहजारा भनेपछि दह, वन, गाउँ र बाबा भनी चारैथोक बुझिन्छ । बाबा (महात्मा) लोहजारा ठाकुर वा बाबा ठाकुरको समाधिस्थल त्यहि छ । यसमा मूल लोहजारा भनेको कुन हो; दह, वन, गाउँ वा बाबा ? जान्न मुश्किल छ । दहको बीचमा निर्मित एक मन्दिरमा बाबाको प्रतिमा स्थापित छ । मन्दिरसम्म पुग्न पुल निर्माण गरिएको छ । यहाँ दुईवटा आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ ।

दहमा कमल फुल्छ । दहमा रंगविरंगी चराहरूको चिरविर शीतल वातावरणलाई अत्यन्तै मनमोहक र रमणीय बनाउँछ । त्यहाँ म्युजिक भिडियो सुटिङ गर्नेहरु धेरै पुग्छन् ।

कमल फूलको विकास र विस्तारमा बाधा पु¥याउँने भएकोले जलविहार बन्देज छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिले दहको संरक्षण र विकासमा योगदान गरेको छ ।नजिकै भेडिया मठ छ । भेडिया मठमा पनि सिद्ध महात्माको प्रसिद्ध समाधि छ । भेडिया मठ लोहजारा वनको पुछारमा छ । भेडिया मठ बाबा वनखण्डीको प्रसिद्ध समाधिस्थल हो । लोहजारा दहमा बाबा लोहजारा ठाकुरको र भेडियामा बाबा वनखण्डीको समाधिस्थल छ । इतिहासकारका अनुसार यहाँ नजिकै एक ढिस्कोमा प्राचीन धातुका सामग्रीहरूको अवशेष भेटिने गरेको छ । यस स्थानको उत्खनन भएमा प्राचीन कुराहरू प्रकाशमा आउन सक्छ । तर, वनखण्डी नै चुरियाको अन्तस्थ हो ।

वनखण्डी अर्थात् भेडिया मठ

वनखण्डीलाई वनसखण्डी पनि भनिन्छ । भेडिया मठमा एउटा गुरुकुल छ । जसको नाम ‘वनखण्डी गुरुकुल’ हो । भेडिया मठ भन्नेमा कुनै अस्पष्टता छैन । मठ भनेको एक आध्यात्मिक केन्द्र भन्ने बुझिन्छ । जहाँ गुरुवास हुन्छ र गुरुले आफ्ना शिष्यहरूलाई शिक्षा, दीक्षा दिनुका साथै सर्वसाधारणलाई उपदेश दिन्छन् ।

मठको मतको प्रचार अभियानमा योगी, सन्त, साधु, सन्यासी, महात्माहरू खटिन्थे, दुर्गम स्थानहरूमा गएर तप गर्दथे । लोहजारा वन र दह पनि त्यसै क्रममा योगीहरूको तपस्थल बन्न पुग्यो ।

लोहजारा दह ५० हजार वर्गमीटरमा फैलिएको जनाइएको छ । मध्यवर्ती क्षेत्र १५ हजार वर्गमिटर, गहिराइ ५ देखि १० फिट, पानीको स्रोत ः वर्षा र भूमिगत पानी, प्रजाति÷जैविक विविधता ः रैथाने माछा १६, अन्य माछा ७, रूख २२, चरा ५५, जलीय वनस्पति ३ । यसभन्दा थप कुरा बताइदिनेको अभाव छ ।

इतिहासकार हरिकान्तलाल दासका अनुसार भेडिया मठ सिख सम्प्रदायका संस्थापक गुरु नानकका शिष्य बाबा मोहनदास वैरागीको आश्रम हो, जो पछि उनको समाधिस्थलमा परिणत भयो । यो मठ बाबा मोहनदासका साथै उनका शिष्य महात्माहरूको पनि समाधिस्थल हो । चुरेको पुछारमा अन्तिम टाकुरामाथि मठको आकर्षक भवन निर्माण गरिएको छ । डिजाइनको दृष्टिले भवनलाई अद्वितीय र अनुपम छ । पिरामिड शैलीमा निर्मित मठ (भवन) को केन्द्रमा मूल भवनमा र उत्तरी–पश्चिमी कोणस्थित उपभवनमा बाबा मोहनदासको समाधि छ । वर्तमानमा कायम रहेको मठको भवन २०४९ सालमा निर्माण गरिएको हो ।

भेडिया मठमा एउटा सिख ग्रन्थको पाण्डुलिपि थियो, अब छैन । पुरातत्व विभागले उक्त पाण्डुलिपि राष्ट्रिय अभिलेखालयमा राख्न निर्देशन दिएको थियो । तर, चोरी हुनगयो । भनिन्छ यहाँ गुरु नानक आफैं आएका थिए र उनले नै उक्त पाण्डुलिपि छोडेका थिए । यस कुराबाट यो मठ साढे पाँच सय वर्षभन्दा पुरानो रहेको देखिन्छ । मठको महन्तसँग राजा राजेन्द्र विक्रम शाहको अभिलेख रहेको कुरा इतिहासकार दासले दुई दशकअघि लेख्नुभएको थियो । हाल विभिन्न मन्दिर, मूर्ति, प्रतिमा, शिवलिंग, शालिग्राम स्थापित छन् । छेउमै गुरुकुल सञ्चालन गरिएको छ ।

सप्तरीमा समयमा वर्षा नहुँदा भेडिया मठमा सरकारी स्तरबाटै पूजा गर्ने चलन छ । वर्षा पूजाको खर्च तिरहुत गाउँपालिकाले बेहोर्ने गरेको छ । मठमा पूजा–हवन गर्नाले अतिवृष्टि वा अनावृष्टि नहुने विश्वास रहेको छ । भेडिया मठ अर्थात् वनखण्डीको सबैभन्दा चर्चित कुरो साखुको वृक्षमा आँप फल्छ । केहि साखुको वृक्षमा मौसमी आँप फल्ने गरेको छ ।

मठमा वि.सं. १७३२ देखि ८६ वर्षसम्म तप गरेको बताइन्छ । मठमा समाधिस्थ महात्माहरूमा जौरा भेरा साहेब, लकरी महन्त, मोहन दास, ठाकुरदास, बुद्ध दास, तीर्थ दास, गोपाल दास, गम्भीर दास, निहाल दासको नाम लिइन्छ । रामधुनीका महात्मा मोहनदास र भेडिया मठका संस्थापक मोहनदास एकै व्यक्ति थिए कि भनी अनुमान गर्न सकिन्छ । लोहजाराको ठाकुर बाबा दह र भेडिया मठको सम्बन्ध रामधुनीदेखि पिण्डेश्वर महादेवसँग जोडिन पुगेको छ । रामधुनीको बारेमा शोध प्रबन्ध गरिएको पनि जानकारीमा आएको छ ।

लोहजारा पर्यटन क्षेत्रले पर्याप्त प्रचार भने पाउन सकेको छैन । यहाँ नयाँ वर्ष छठ, शिवरात्रि, फागु पूर्णिमा, रमजानमा मेला लाग्दछ । भेडिया मठमा कात्तिक हरिबोधनी एकादशी तथा माघको भीमा एकादशीमा ठूलो मेला लाग्दछ । तर, पर्यटकीय सम्भावना र पूर्वाधारको व्यवस्थाको विषयमा छलफल गर्ने गरिएको देखिंदैन । आन्तरिक वा बाह्य पर्यटकहरूका लागि आवश्यक सेवा र पर्याप्त सूचनाको अभाव छ ।

पूर्व–पश्चिम राजमार्गको महुली बजार (अग्निसाईर कृष्णासवरन गाउँपालिका–६) देखि ४ किमि दक्षिण जाँदा यो पर्यटकीय स्थलमा पुग्न सकिन्छ । बस, जिप, बाइक आदि जाने–आउने गरेको देखिन्छ । भेडिया बस्तीदेखि ५०० मिटरको दूरीमा यो मठ पर्दछ । राजविराजबाट जाँदा कञ्चनपुर हुलाकी राजमार्गको मैनाकडेरी चोकबाट ५ किलोमिटर उत्तर बस, जिप, बाइक वा सिटीरिक्साबाट भेडिया मठ पुग्न सकिन्छ ।

५६.४४ करोडको मास्टर प्लान

“बाबा बनासखण्डी धार्मिक परिसर” मा विभिन्न संरचनाहरु बनाउन मास्टर प्लान बनेको छ । ५६ करोड ४४ लाखको लागत अनुमानसहित मुख्य प्रवेशद्वार र बनासखण्डी मन्दिरको प्रवेशद्वार, बनासखण्डी मन्दिर, सनी मन्दिर, शिव मन्दिर, बंगलामुखी मन्दिर, हनुमान मन्दिर निर्माणको गुरुयोजना छ । यस्तै पूजा सामग्रीका लागि पसलहरू (५ कोठा), साइकल र मोटरसाइकल पार्किङ, सार्वजनिक शौचालय र पानीको फोहरा, भजन÷सत्संग हल (५० व्यक्तिको क्षमता), संग्रहालय (३० व्यक्तिको क्षमता), बाबा बनासखण्डी पाठशाला (१२ कक्षा सम्म), गौशाला (३० गाईको क्षमता), अतिथि गृह (३० व्यक्तिको क्षमता) र वृद्धाश्रम (५० व्यक्तिको क्षमता) बनाउने योजना छ । यस्तै परिसरमा हवन कुण्ड, साल वृक्ष सजावट, पोखरी, पार्क, कला संग्रहालय, स्वास्थ्य चौकी, प्रहरी चौकी र १ लाख लिटर क्षमताको पानी ट्यांकी बनाउने योजना छ ।

गुप्तगंगा परियोजनाको अर्को मास्टर प्लान

गुप्तगंगा क्षेत्रमा निर्माणाधीन भव्य धार्मिक–पर्यटकीय परिसरको मास्टर प्लानले पूर्वाधार विकासको एक महत्वाकांक्षी योजना प्रस्तुत गरेको छ । करिब ५४.३५ करोड लागतमा निर्माण हुने यस परियोजनाले आध्यात्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थानको रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

परियोजनामा २.७५ बिघा क्षेत्रफलमा फैलिएको गुप्त गंगा ताल सहित निम्न संरचनाहरू समावेश छन् । जसमा ५० फिट अग्लो शिव प्रतिमा, विभिन्न मन्दिरहरू शिवलिंग र ६८ फिट व्यासको प्रदक्षिणा पथ, ६०० दर्शक क्षमताको खुला नाट्यशाला र ६० फिट व्यासको आरती मञ्च, बोटिङ क्षेत्र, भ्यू डेक, सन डेक, ८ वटा घाट र प्रतीक्षालयसहित पर्यटकहरूको सुविधाका लागि रिसेप्सन, रेस्टुरेन्ट र आँगनसहितको ८ कोठे अतिथि गृह निर्माण गर्ने योजना छ । त्यस्तै, लिभिङ एरिया, किचन÷डाइनिङसहितको ५ बेडरूम भएको पुजारी आवास गृहसहित सुरक्षाका लागि प्रहरी बुथ र २ बेडरूम सहितको गार्ड हाउसको व्यवस्था गरिएको छ ।
परियोजनामा २७ कार र ३० मोटरसाइकल क्षमताको पार्किङ क्षेत्र, ४ वटा शौचालय ब्लक, टिकट काउन्टर, प्रवेशद्वार र छायाँयुक्त प्रवेश मार्ग समावेश छन् । दर्शकहरूको आरामका लागि ५ वटा चौतारी, ४ वटा बस्ने क्षेत्र र २ वटा गाजेबो निर्माण गरिनेछ । ३ वटा वृक्ष उद्यान, २ वटा जल प्रपात (वाटर कास्केड) र पेटियो क्षेत्र निर्माण गरी प्राकृतिक वातावरणलाई संरक्षण गरिनेछ ।यो परियोजना पूरा भएपछि गुप्त गंगा क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यटकीय केन्द्रको रूपमा विकसित हुने अपेक्षा गरिएको छ, जसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनुका साथै आध्यात्मिक पर्यटनलाई प्रवद्र्धन गर्नेछ।

गुरुकुलमा अधिकांश दलित विद्यार्थी

बनखण्डी गुरुकुल आवासीय विद्यालय तिरहुत गाउँपालिका ५ स्थित सञ्चालनमा रहेको छ । गाउँपालिकाको अध्यक्षमा विजयकुमार यादव निर्वाचित भएर आएपछि सो अवासीय गुरुकुल सञ्चालनमा आएको हो ।जिल्लामा नै चर्चामा रहेको आवासीय गुरुकुलको अधिकांश तराई मधेशका दलित समुदायका बिद्यार्थीहरु अध्ययनरत रहेका छन् । गुरुकुलका प्रधानाध्यापक दिपेन्द्र नारायण ठाकुरका अनुसार गुरुकलुमा ७२ जना विद्यार्थीहरु अध्ययनरक्त रहेका छन् । धानुक, मुस्लिम, मलाहसहितका समुदायका विद्यार्थीहरु गुरुकुलमा छन् । गुरुकुलमा एक सयको बेद, एक सयको कर्मकाण्ड, एक सयको संस्कृति साहित्यसहित अन्य अधारभुत विषयवस्तु अध्ययन अध्यापन हुने गरेको छ । गुरुकुल नमुनाको रुपमा बनाउन गाउँपालिका अध्यक्ष विजय यादवसहित प्रअ ठाकुरले योजनाबद्ध भौतिक निर्माणको कामलाई अगाडि बढाएको छ ।

सोमबार, ०८ बैशाख, २०८२, दिउँसोको ०४:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर