पाथीभरा जाँदै गरेको जीपमा करेन्ट लाग्दा चार जनाको मृत्यु

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका –१० मा जीपमा करेन्ट लागेर मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ । मृतक चार जना नै पाथीभरा दर्शनका लागि त्यहाँ पुगेका दर्शनार्थी हुन् ।

ताप्लेजुङबाट पाथीभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका –१० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको पोल ढलेर तार मे १ ज ३०११ बोलेरो जीपमा झर्दा दुर्घटना भएको ताप्लेजुङ प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

इन्स्पेक्टर बस्नेतका अनुसार फुङलिङ नगरपालिका –१० का जीप चालक अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाकी ६९ वर्षीया सरिता पौडेल र उनका श्रीमान् ७० वर्षीय विनोद पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।
घाइतेमध्ये ललितपुरकी ४५ वर्षीया सविना आचार्यको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । सविनाकै छोरा १० वर्षीय अभियम आचार्य भने बोल्न सक्ने अवस्थामा छन् ।

कुहिरो लागेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । ‘बाक्लो कुहिरो लागेको छ’, प्रहरी निरीक्षक बस्नतेले भने, ‘पोल ढलेको नदेखेपछि दुर्घटना भएको हो ।’

सोमबार, ०८ बैशाख, २०८२, बिहानको ०७:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर