कोरियाबाट पतिको निर्देशन :परिवारकै सहयोगमा चुनुकुमारीको हत्या

–भारतीय नागरिकलाई बोलाएर हत्या गरिएको प्रहरीको भनाइ

विराटनगर । सुनसरीस्थित धरानको जंगलमा मृत अवस्थामा फेला परेकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या उनकै पतिको योजनामा भएको खुलेको छ । मृतकका पति वर्ष ३१ का प्रेमबहादुर बुढाथोकीले कोरियामा बसेरै चुनुको हत्या योजना बनाएको र हत्यामा परिवारका अन्य सदस्यहरुसमेत संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

वैदेशिक रोजगारमा कोरियामा रहेका प्रेमबहादुरले दिएको निर्देशन अनुसार भाइ वर्ष २९ का ढकेन्द्र बुढाथोकीसहित ७ जनाको संलग्नतामा चुनुकुमारीको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।प्रहरीले घटनामा संलग्न प्रमेबहादुरसहित ६ जनालाई पक्राउ गरेर बिहीबार धरानमा पत्रकार सम्मेलन गरी सार्वजानि गरेको थियो ।

यस घटनामा प्रहरीले प्रेमबहादुरका भाइ मोरङको पथरीशनिश्चरे ३ संगमचोकमा बस्दै आएका ढेकेन्द्र बुढाथोकी, ढेकेन्द्रकै पत्नी सोही ठाउँमा बस्ने २५ वर्षीया सृष्टि बुढाथोकी, पाँचथर मिक्लाजुङ गाउँपालिका ७ घर भई हाल उर्लाबारी ५ मा बस्दै आएका प्रेमबहादुरका कान्छा ज्वाँइ वर्ष ३६ का योगेन्द्र गौतम, योगेन्द्रका पत्नी २८ वर्षीय डेनु गौतम र पथरीशनिश्चरे ३ का वर्ष ४० का केशवराज दाहाललाई पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । हत्यामा संलग्न भारतको आसाम जिल्ला तेजपुरमा बस्दै आएका वर्ष ३५ का राजु थापा मगर फरार रहेका छन् । चुनुकुमारीको हत्यामा राजुको प्रत्यक्ष संलग्नता रहेको एसपी तिम्सिनाले बताए । उनी फरार रहेकोले खोजी कार्यलाई जारी राखिएको छ । ‘हत्या गर्नको लागि राजुलाई भारतबाट बोलाएको पाइएको छ । केही रकम दिने भनेर उनी आएको अनुसन्धानबाट देखिन्छ,’ एसपी तिम्सिनाले भने, ‘यस विषयमा हामीले थप अनुसन्धान गरिरहेका छौं ।’ राजु प्रहरीबाट समातिएकी सृष्टी बुढाथोकीको फुपुको छोरा हुन् ।

परपुरुषसँग सम्बन्ध राखेको आशंकामा हत्या

प्रेमबहादुर वैदेशिक रोजगारमा कोरिया गएपछि चुनुकुमारीसँग खटपट सुरु भएको थियो । उनले परपुरुषसँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै पत्नीसँग सम्बन्ध विच्छेद माग्दै आएका थिए । पत्नीको हत्या गर्नु चार महिना अगाडि प्रेमबहादुर कोरियाबाट २७ मंसिरमा घर आएका थिए । घर आएपछि उनले चुनुलाई बारम्बार सम्बन्ध बिच्छेद गर्न दबाब दिएका थिए । तर, उनले मानेकी थिइनन् । त्यसपछि प्रेमबहादुर ५ माघमा कोरिया फर्किए ।

कोरियाबाट यसरी बुने हत्याको योजना

प्रेमबहादुर कोरिया पुगेपछि हत्याको योजना बुनेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु बताउँछन् । उनले पत्नीको हत्या गर्ने योजना सबैभन्दा पहिले भाइ ढकेन्द्रलाई सुनाए । ‘त्यसपछि परिवारका सदस्यलाई सुनाएर हत्या गर्नका लागि भारतमा बस्दै आएका राजुलाई झिकाउने निर्णयमा पुगे । प्रेमबहादुर र राजुको आर्थिक लेनदेन भएको देखिन्छ । चुनुकुमारीको हत्या गरेपछि राजुले लिएको आर्थिक रकम मिनाह गरिदिने मौखिक सहमति भएको देखिन्छ । त्यसै अनुसार राजु यस घटनामा संलग्न भएको अनुसन्धानबाट देखिन्छ,’ यस घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘तर, कति रकम राजुलाई दिने भन्ने विषयमा अहिले खुलिसकेको छैन । त्यस विषयमा पनि अनुसन्धान भइरहेको छ ।’

यसरी लगियो जंगल, अनि गरियो हत्या

चुनुकुमारी सुनसरीको इटहरी उपमहानगरपालिका २, हलगडामा डेरा गरी बस्दै आएकी थिइन् । २४ चैतमा प्रेमबहादुरले कोरियाबाट पत्नीलाई फोन गरेर भाइ ढेकेन्द्रलाई भेट्न केराबारी जान आग्रह गर्छन् । पतिको कुरालाई स्वीकार गरेर उनी केराबारीमा जान्छिन् । केराबारीमा पुगेपछि राजु र प्रेमबहादुरका कान्छा ज्वाइँ योगेन्द्रसँग उनको भेट हुन्छ । त्यसपछि उनीहरु योगेन्द्रले चलाएको प्रदेश १ –०२–०४३ प ६८६२ नम्बरको पल्सर मोटसाइकलमा बसेर केराबारी हुँदै पानमाराको जंगलतर्फ लाग्छन् । धरान उपमहानगरपालिका ६ स्थित पञ्चकन्या सामुदायिक वनको घना जंगलमा पुगेपछि बाइक राखेर चुनुकुमारीलाई उतार्छन् र निर्घात कुटपिट गर्दछन् । कुटपिटका क्रममा चुनु भुँईमा लड्छिन् । त्यसैबेला उनीहरुले चुनुकुमारीले भिरेको ब्यागको डोरीले घाँटी कसेर हत्या गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट देखिन्छ,’ एसपी तिम्सिनाले भने, ‘चुनुकुमारीको हत्या गरेपछि पनि प्रेमले भाइसँग दैनिक अपडेट लिएको देखिन्छ ।’

हत्या भएको पाँच दिनपछि चैत २९ गते प्रेमको भाइ ढकेन्द्र, उनकी पत्नी सृष्टी, डोनु र केशवराज दाहाल पक्राउ परे । त्यसपछि ३० चैतमा योगेन्द्र गौतम काँकडभिट्टा नाकाबाट पक्राउ परेको प्रहरीले जनाएको छ । त्यसपछि परिवारसँगको समन्वयमा प्रेमलाई कोरियाबाट झिकाइएको थियो । उनी बुधबार कामाठडांैको अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि प्रहरीले नियन्त्रणमा लिएको एससपी तिम्सिनाले बताए ।

धनकुटाको महालक्ष्मी नगरपालिका २ की चुनुकुमारी दाहाल बुढाथोकी करिब २ वर्षअघिदेखि आफ्नो छोरालाई पढाउनका लागि भन्दै सुनसरीको इटहरी उपमहानगरपालिका २, हलगडामा डेरा गरी बस्दै आएकी थिइन् । उनको माइती महालक्ष्मी नगरपालिका १ मा रहेको छ ।

शुक्रबार, ०५ बैशाख, २०८२, बिहानको ०८:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर