काठमाडौं । बाँकेको पहिलो संक्रमित ६० वर्षीय व्यक्तिसँगै २१ जना एकसाथ कोरोनामुक्त भएका छन् ।
बाँकेको खजुरा स्थित सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका २१ जना एकसाथ कोरोनामुक्त भएका हुन् ।
उनीहरुको दुई पटक सवाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गर्न लागिएको हो । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनीहरुलाई घर पठाउने तयारी भइरहेको छ।
डिस्चार्ज भएर घर जान लागेका मध्य नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का एक पुरुषसहित र ८ का २० जना रहेका छन्। भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले नेपालगन्जका पहिलो संक्रमित व्यक्ति ६० वर्षीय पुरुषको बिहीबार परिक्षण गर्दा तेस्रो रिपोर्ट नेगेटिभ आएको र अन्य २० जनाको दोस्रो रिपोर्ट समेत नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गर्न लागिएको बताउनुभयो।
बाँकेमा पहिलोपटक वैशाख १९ गते ६० बर्षीय एक मस्जिदमा पढाउने शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनको सम्पर्कमा आएका एकै टोलका अन्य मानिसहरुमा समेत संक्रमण भेटिएको थियो।
बाँकेमा हालसम्म १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये नरैनापुर गाउँपालिका ५ का २५ वर्षीय एक पुरुषको क्वारेन्टिनमै मृत्यु भएको थियो।
बाँकेमा हालसम्म नरैनापुरका ७४, नेपालगन्जका २५ र खजुराका २ जना संक्रमित फेला परेका छन्। संक्रमितहरुको खजुरा, नेपालगन्ज, कोहलपुर र दाङमा उपचार भइरहेको छ।