त्रुटि सच्याएर नयाँ यात्रा सुरु होस्

 सम्पादकीय

विक्रम संवद् २०८१ साल विदा भएर २०८२ सुरु भएको छ । नेपालको सामाज–राजनीतिक, आर्थिक र संवेदनशील पक्षमा विशेष प्रभाव पारेको वर्षका रूपमा २०८१ चिनियो । यो वर्षले नागरिकलाई आशाभन्दा चिन्ताहरू थमायो । २०८१ सालको सुरुवात राजनीतिक अस्थिरताको छायाँमा भयो । राष्ट्रिय राजनीति अझै स्थायित्व खोज्दै थियो, जनताको विश्वास राजनीतिक नेतृत्वबाट क्रमशः हराउँदै गयो । स्थानीय तहदेखि संघीय तहसम्म जनताका प्राथमिकताहरू नजरअन्दाज गरिए, जसले सरकारप्रतिको मोह भत्किँदै गयो । सरकारबाट सुशासन र सामाजिक न्यायको लागि २०८१ मा भएका केहि सकारात्मक कामहरु पनि २०८१ मा ओझेल पर्दै गए । राज्य संयन्त्र तथा स्रोत र साधनको चरम दुरुपयोग, नागरिकप्रतिको वेवास्ता, सत्ता सञ्चालकको दम्भ र अहंकार प्रदर्शनमो गत वर्षको अधिकांश समय व्यतित भयो । आर्थिक मोर्चामा पनि यो वर्ष चुनौतीपूर्ण रह्यो । महँगी, बेरोजगारी र लगानीमैत्री वातावरणको अभावले युवाहरूको पलायन रोक्न सकेन । कृषिमा यथोचित नवप्रवर्तन हुन सकेन भने उद्योग क्षेत्र अझै अस्थायित्वको घेरामा रह्यो ।

पछिल्लो समयमा राज्य सञ्चालकसँग नागरिकको भरोषा टुटेको छ । राम्रो काम गर्नेहरु दण्डित हुने तथा बिचौलिया, दलाल र भ्रष्टलाई पुरस्कृत गर्ने बाटोमा सरकार अगाडि बढेको छ । राज्यकोषमाथि भ्रष्टाचार र लुट संस्थागत बनेको छ । जसले गर्दा यो देशमा केहि हुँदैन भन्ने निराशाको खेती मौलाएको छ । नागरिक निराशाको जगमा अस्थिरता र अराजकता विस्तार गर्दै जनताले लामो संघर्षबाट प्राप्त गरेका उपलब्धिमाथि धावा बोल्ने प्रयास भएको छ । नयाँ वर्ष अवसर हो—पुराना त्रुटिहरू सच्याउने र नयाँ यात्राको सुरुवात गर्ने । हामीले विगतमा गरिएका गल्तीहरूलाई स्वीकार्दै सुधारको बाटो समात्न सक्ने हो भने २०८२ साल परिवर्तनको संवाहक बन्न सक्छ । यस अवसरमा सम्पूर्ण पाठक, नागरिक र राष्ट्रप्रेमीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं । तपाईंको नयाँ वर्ष समृद्ध, स्वस्थ र सफल रहोस् ।

अब नयाँ वर्ष २०८२ मा हामी प्रवेश गरेका छौं । हामीसँग फेरि एक मौका छ—व्यक्तिगत, सामाजिक र राष्ट्रिय स्तरमा सुधार र निर्माणको । यो वर्ष हामीले सबैभन्दा पहिले राजनीतिक जवाफदेहिता र स्थायित्व सुनिश्चित गर्नुपर्नेछ । नेतृत्वमा शुद्धीकरण र नीतिगत स्पष्टता आवश्यक छ । जनताको विश्वास जित्ने एकमात्र उपाय हो– काम गर्ने शैलीमा सुधार र पारदर्शिता । आर्थिक पुनरुत्थानको खाका कृषि, पर्यटन, सूचना प्रविधि र युवा उद्यमशीलता केन्द्रित हुनुपर्छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय पहुँच सबैका लागि सुनिश्चित गरिनुपर्छ । समानताको भावना र सामाजिक न्यायले हाम्रो नीतिगत सोचको मेरुदण्ड बन्नुपर्छ । साथै, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप र पर्यावरणीय संकटप्रति हाम्रो नीति र व्यवहार जिम्मेवार हुनुपर्छ । समावेशी विकास र दिगो भविष्यका लागि युवाशक्ति र प्रविधिलाई संयोजन गर्न सक्नुपर्छ ।

नयाँ वर्ष अवसर हो—पुराना त्रुटिहरू सच्याउने र नयाँ यात्राको सुरुवात गर्ने । हामीले विगतमा गरिएका गल्तीहरूलाई स्वीकार्दै सुधारको बाटो समात्न सक्ने हो भने २०८२ साल परिवर्तनको संवाहक बन्न सक्छ । यो वर्ष राजनीतिक संस्कृति परिमार्जनको वर्ष बन्न जरुरी छ, जहाँ सत्तामा बस्नेले अधिकारसँगै उत्तरदायित्व पनि अनुभूति गर्न सकोस् । आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा ठोस नीति र प्रतिबद्धता आवश्यक छ, जसले युवालाई स्वदेशमै अवसर प्रदान गरोस् । नागरिकको आवाज सुन्ने, सुशासनलाई व्यवहारमा उतार्ने र सामाजिक समावेशितालाई आत्मसात गर्ने काम यो वर्षको प्राथमिकता बन्नुपर्छ । हामीले असन्तोषको भूमिमा आशाको बीउ रोप्न सक्यौं भने मात्रै भविष्य उज्यालो हुनेछ । २०८२ साल– सहकार्य, संवेदनशीलता र साझा यात्राको प्रतीक बन्न सकोस् भन्ने कामना गर्दै, सम्पूर्ण देशवासीलाई नववर्षको हार्दिक शुभकामना !

सोमबार, ०१ बैशाख, २०८२

प्रतिक्रिया:

सम्बन्धित खवर