अस्पतालका संचालक हिरासतमा, एमालेका नेता अस्पतालमा

विराटनगर । विराटनगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको दिनचर्या यति बेला कारागारमा बितिरहेको छ । गत सोमबार भैरहवा कारागार चलान भए ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत शुक्रबार लामिछानेलाई सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा पूर्पक्षकालागिथुनामा राख्न आदेश दिएको थियो । आदेश लगतै लामिछानेलाई प्रहरीले घरमै गएर नियन्त्रण लिएको थियो । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अदालतको आदेश लगतै पक्राउ गरिएको भन्दै रास्वपाका कार्यकर्ताले विरोधसमेत गरेका थिए । पक्राउ गर्न गएको प्रहरी र रास्वपाका कार्यकर्ताबिच सवालजवाफ समेत भएको थियो । पक्राउपछि एक रात काठमाडौँ राखेर भोलिपल्ट मात्रै लामिछानेलाई रुपन्देही लगिएको थियो ।

तर एमालेकै एक नेता भने तीन महिना भन्दा बढी समयदेखि अस्पताललाई नै कारागार बनाइरहेका छन् । आफ्नै घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार सिवाकोटी पुर्पक्षको लागि जेल चलान भएपनि तीन महिनादेखि अस्पतालमै बसिरहेका छन् ।

अस्पतालको भिआइपी कक्षमै बसेर सजाय कटाइरहेका छन् । गत पुस २२ गते जिल्ला अदालत झापाले उनलाई पूर्पक्षका लागि झापा कारागार चलान गरेको थियो । तर, उनले एक दिन पनि कारागारमा बस्नु परेको छैन । उनी नेकपा एमालेका नेता हुन् । मंसिर २४ गते पक्राउ परेका उनी अनुसन्धानका क्रममा पनि जेलमा बस्नु परेन ।

प्रहरीले सिवाकोटीलाई अस्पतालमै निगरानी गरेर राखेको छ । ‘उहाँ बिरामी भएकाले अस्पतालमै राखेर निगरानी गरिरहेका हौं, अदालतले नै अस्पतालमा राखेर उपचार गर्नु भनेकोले अस्पतालमा रेखदेख भइरहेको छ,’ झापा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले भने । उनले भने ‘उहाँ बिरामी बिरामी मान्छे हो, त्यही खालको ढाडसाडको के के समस्या छ भन्थे ।’
अर्काे रोचक कुरा के छ भने बीएन्डसी अस्पतालकै संचालक दुर्गा प्रसाईँ जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गराएर फरार भएका विवादित मेडिकल व्यवसायी प्रसाईँ पक्राउ परेका थिए । तर उनकै अस्पतालमो सत्तापक्षकै नेता भने सजाय कटाइरहेका छन् ।

२०७४ सालमा बुवाआमाको मृत्यु भएपछि सहाराविहीन भएकी भारतको आसाम बस्ने बालिकालाई सिवाकोटीले बलात्कार गरेको आरोप लागेको छ । गरिबीको फाइदा उठाएर सिवाकोटीले बलात्कार गरेको आरोप छ । आफ्नै घरमा राखेर पढाउने भन्दै त किशोरीको जिम्मा सिवाकोटीले लिएका थिए ।

नातिनीको लागि सहयोग माग्दै ती किशोरी कि हजुरआमा २०७४ मा नगरपालिका पुगेकी थिइन् । आफ्नो घरमा काम गर्ने व्यक्तिको आवश्यकता रहेको भन्दै उनले पढाउने वाचा सहित राखेका थिए ।

ती किशोरीले सिवाकोटीलाई बुवा भनेर सम्बोधन गर्दै आएकी थिइन् । तर, बालिकालाई सिवाकोटीले पटक–पटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । कक्षा ६ मा पढ्दादेखि नै सिवाकोटीले पटक–पटक बलात्कार गरेको पीडितले बयान दिएकी छन् । सिवाकोटीकी श्रीमती विदेश गएको बेलामा बलात्कार गरेको र कसैलाई सुनाएमा घरबाट निकालिदिने धम्की दिएको पीडितको भनाइ छ ।

अदालतमा सिवाकोटीले आफू बिरामी भएको बताएपछि इजलासले उपचारको व्यवस्था गर्नु भन्ने आदेश दिएको थियो । त्यही आदेशमा टेकेर सिवाकोटीले कारागार छलिरहेको आरोप छ ।
सिवाकोटीले २३ वर्षदेखि प्रेसर र ३७ वर्षदेखि सुगरको बिरामी भएको बयान दिएका थिए । उनको निगरानीका लागि ४ जना प्रहरी परिचालन गरिएको प्रहरी स्रोतले बतायो ।

आइतबार, ३० चैत, २०८१, दिउँसोको ०२:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर