मदन भण्डारी राजमार्ग : बाटोबिनै खोलामाथि नौवटा पुल

साढे २४ किलोमिटर सडक वन क्षेत्रमा, १३ हजार ८३४ वटा रुख कटान गर्नुपर्ने

विराटनगर । मोरङको केराबारी–९ बाट लेटाङ जाने मदन भण्डारी राजमार्ग अन्तर्गत भलुवा खोलामा पुल निर्माण भइसकेको छ । खोलामाथि पुल बनेपनि पुलसम्म पुग्ने बाटोको नामोनिसान भेटिदैन । पुलको पूर्वतर्फ भीर छ भने पश्चिमतर्फ पैदल हिंड्न सक्ने सानो गोरेटो मात्रै छ ।

प्रविधिक जाँचका आधारमा २०७७ साल जेठमा निर्माण सुरु भएको यो पुलको ८८ प्रतिशत काम सम्पन्न भइसकेको रहेछ । कूल ४३ करोड ६७ लाख १५ हजार लागतमा निर्माण सम्झौता भएको पुलका लागि हालसम्म झण्डै ८३ प्रतिशत अर्थात् ३६ करोड १० लाख ४१ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा, मोरङ र सुनसरी क्षेत्रमा बाटोको ट्र्याक बिना नै ९ वटा पुल निर्माण भएको रेकर्ड छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा आर्थिक वर्ष २०७६–७७ सालबाट मदन भण्डारी राजमार्गको निर्माण कार्य सुरु भएको हो ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले दिएको जानकारी अनुसार तीन जिल्लामा ३७ वटा पुलहरुको ठेक्का व्यवस्थापनमध्ये २२ वटा निर्माण भइसकेका छन् । ‘निर्माण हुन बाँकी १५ वटा पुलमध्ये ९ वटा पुलको एप्रोच सडकमा वन क्षेत्र भएको कारण एप्रोच सडक बाहेक अन्य कार्य सम्पन्न भइसकेको छ,’ आयोजना कार्यालय दमकका सूचना अधिकारी इन्जिनियर सुवासकुमार दत्तले भने, ‘बाँकी ६ वटा पुलको स्ट्रक्चरको कार्य साथै अन्य निर्माण कामहरु सम्पन्न हुन बाँकी रहेको अवस्था छ ।’ वन क्षेत्रमा पर्ने ती पुलहरूमा सडकको ट्र्याक पु¥याउन रुख कटान भइसक्नु पर्ने उनले बताए ।

झापाको पतापुरदेखि सुनसरीको सार्दुखोलासम्म १२७.८ किलोमिटर लामो मदन भण्डारी राजमार्गको हाल ९५.८ किलोमिटर ठेक्का लागेको छ । कमल खोलादेखि सहादतस्थलसम्म ३२ किलोमिटर भने अझै ठेक्का लाग्न बाँकी छ । यस्तै चतरादेखि सर्दु खोलासम्म ६ किलोमिटर सडक भने ठेक्का प्रक्रियामा रहेको आयोजनाको कार्यालयले जनाएको छ । ७ वटा ठेक्कामध्ये १ किलोमिटर लामो मेचीडाँडादेखि पतापुरसम्म भने कालोपत्र भइसकेको छ । अन्य ६ वटा ठेक्का अहिले पनि चालु अवस्थामा छ ।
ठेक्का व्यवस्थापन भएको ९५.८ किलोमिटर सडकमध्ये हालसम्म ४२.६८ किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ । सडक र पुल गरेर तीन जिल्लामा ८२ प्रतिशत भौतिक प्रगति रहेको सूचना अधिकारी दत्तले बताए ।

१० अर्ब १३ करोड ठेक्का सम्झौता भएकोमा हाल सम्म ७ अर्ब ९५ करोड खर्च भइसकेको कार्यालयले जनाएको छ । अब २ अर्ब १८ करोड दायित्व बाँकी रहेको कार्यालयले जनाएको छ । तर, चालु आर्थिक वर्षमा उक्त आयोजनाका लागि ९१ करोड बजेट विनियोजन भएको छ ।

१३ हजार बढी रुख कटान गरिँदै

चुरे क्षेत्रबाट सडक रेखाङ्कन नगरेर चारकोशे झारीतर्फ बाटो लगिँदा ठूलो संख्यामा रुख कटान गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले पर्यावरणमा ठूलो नोक्सानी गर्ने र चुरे क्षेत्रको वन विनाश हुने सरोकारवालाको चिन्ता छ । कार्यलयले दिएको जानकारी अनुसार सुनसरीमा ६.१९ किलोमिटर क्षेत्रको १४.३८ हेक्टर वन क्षेत्रमा पर्ने ५५ सयवटा रुख कटान गर्नुपर्ने भएको छ । त्यसको लागि छपान मूल्यांकन सम्पन्न भइसकेको र कटान आदेशको प्रक्रियामा रहेको आयोजनाको कार्यालयले जनाएको छ ।
यस्तै मोरङमा ९.४२ किलोमिटर लामो वन क्षेत्रको बाटोमा पर्ने २०.९४३ हेक्टर क्षेत्रफलका २ हजार १६३ वटा रुख कटानको काम अहिले भइरहेको छ । यस्तै झापाको ५.३९ किलोमिटर वन क्षेत्रको बाटोमा पर्ने ९.९६ हेक्टर क्षेत्रफलको २ हजार ८०५ वटा र इलामको ३.५४ किलोमिटर क्षेत्रको ५.५६ हेक्टर क्षेत्रफलदको ३ हजार ३६६ वटा रुख कटानको लागि नेपाल सरकार मन्त्रीपरिषदको गत चैत ११ गतेको निर्णयबाट रुख कटानको आदेश प्रक्रियामा रहेको कार्यालयले जनाएको छ । चारैवटा जिल्लामा गरी १३ हजार ८३४ वटा रुख कटान हुने कार्यालयले जनाएको छ ।

सडक निर्माणको कतिपय स्थानमा सडक सिमा (सडकको केन्द्रदेखि दाँया–बाँया दुवै तर्फ २५ मिटर) लाई घटाउनु पर्ने माग राखी निर्माणमा अवरोध हुने गरेको कार्यालयले जनाएको छ । यस्तै विद्युतका पोल, खानेपानीको पाइपको स्थानान्तरणको काम समयमै सम्पन्न नहुँदा योजना कार्यान्वयनमा समस्या रहेको दत्तले बताए । यस्तै केही ठाउँहरुमा सडक रेखांकनमा पर्ने जग्गा विवाद र स्थायी तथा अस्थायी भौतिक संरचनाको स्थानान्तरणमा पनि समस्या रहेको उनले बताए । त्यस्ता समस्या समाधानका लागि सिरोकारवाला निकायसँग समन्वय भइरहेको उनले बताए । आयोजना कार्यालयले वन क्षेत्रमा पर्ने रुखहरु यथाशिघ्र छिटो हटाई सडक तथा पुल निर्माण कार्यमा छिटो प्रगति गर्ने उनले बताए ।

मदन भण्डारी राजमार्ग सुनसरीको धरानदेखि झापाको वाहुनडाँगीसम्मका लागि धरानको सार्दु खोला, फायरलाईन तिनकुने चोक सेउती खोला पुल, पानमारा स्कुल, डाँडाचोक, केरावारी मलुवा चोक विपी चोक, लेटाङ बजार, मदन चोक, मधुमल्ला वरगाछी चोक, मावा खोला पुल, वेलडाँगी शरणार्थी शिविर उत्तम चोक, सतक्षीधाम मन्दिरको दक्षिण पट्टीको जङ्गल, पानी टंकी, दोमुख, लाल खोला र सुनखोला दोभान–चण्डालघाट पुल गरुवा–सुखानी–सहादतस्थल–वरफल्थांगफेदी, झटारे–वुद्ध शान्तिनगर–हापेन चोक मेची राजमार्ग जक्सन वाहुनडाँगी–५ शान्तिचोक, मेचीडाँगी चोक (वाहुनडाँगी)सम्म रेखाङ्कन स्वीकृत भएको हो

शनिबार, २९ चैत, २०८१, दिउँसोको ०३:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर