प्रसाईंलाई काठमाडौं प्रहरी परिसर लगियो, आजै म्याद थप गरिने

विराटनगर । तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर प्रहरीले काठमाडौं पुर्याएको छ ।

उनलाई आसामको गुवाहाटीबाट भारतीय प्रहरीको सहयोगमा झापा ल्याएर चन्द्रगढी विमानस्थलबाट काठमाडौं लगिएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पुर्‍याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट हत्कडीसहित विमानस्थल लगिएका उनलाई विमानमा चढाइसकेपछि भने हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको छ ।

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । त्यहाँबाट उनलाई काँडकभिट्टा नाका हुँदै झापा ल्याइएको थियो ।

प्रसाईलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । तर, औपचारिक सुपुर्दुगी सन्धि नभएकोले प्रहरीले झापाबाटै उनलाई पक्राउ गरेको बताएको छ ।

प्रसाईंलाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारी छ । त्यसका लागि प्रहरीको एक टोलीले कागजात तयार पार्दैछ । तीनकुनेमा अराजकता मच्चाउने समूहका अगुवा प्रसाईंमाथि अनुसन्धानका लागि ज्यान मार्ने उद्योग, आपराधिक उपद्रह र संगठित अपराधमा म्याथ थप्ने प्रहरीको तयारी छ ।

प्रसाईंले तीनकुने प्रदर्शनमा आफैंले चलाएको गाडीले प्रहरीलाई पेल्दै अघि बढेका थिए । अश्लिल शब्द बोल्दै सुरक्षामा खटिएका प्रहरीलाई पेल्दै हिँडेको भिडियो सार्वजनिक भएको थियो ।

राजसंस्था पुनर्स्थापना गर्न भन्दै चैत १५ गते तीनकुने क्षेत्रमा भएको अराजक प्रदर्शनको क्रममा २ जनाको मृत्यु भएको थियो भने २० जनाभन्दा धेरै घाइते भएका थिए । त्यस क्रममा दर्जनौ घर, व्यवसायिक प्रतिष्ठान र सवारी साधानमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।

चैत १५ गते अपराह्नदेखि प्रसाईं फरार थिए। उनले यसबीचमा दुई वटा भिडिओ सन्देश जारी गर्दै आफू नेपालमै रहेको र कतै नभागेको दावी गरेका थिए ।

शुक्रबार, २८ चैत, २०८१, दिउँसोको ०१:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर