विराटनगर । प्राबिधिक कारणले भद्रपुरबाट पक्राउ परेको भनिए पनि दुर्गा प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा प्रहरीले नेपाल ल्याएको पाइएको छ । उनलाई भारतबाट निजी नम्बर प्लेटको स्कारर्पियो गाडीमा चढाएर काँकडभिट्टा नाका हुँदै नेपाल ल्याएर भद्रपुर लगिएको थियो ।
सुरक्षा स्रोतका अनुसार प्रसाईलाई प्रदेश नम्बर १–०१–००२ च ३७९३ गाडीमा भारतबाट नेपाल ल्याइएको हो । शुक्रबार बिहान १० बजेर ७ मिनेटमा उनलाई काँकडभिट्टा सीमा क्षेत्रमा ल्याइएको थियो ।
प्रहरीको अगाडि र पछाडि स्कटिङमा प्रसाईलाई निजी गाडीमा राखेर नेपाल ल्याएपछि भद्रपुर पुर्याएपछि मात्र प्रहरीले औपचारिक रुपमा पक्राउ गरेको जानकारी दिएको थियो । प्रसाईसहितको टोलीलाई भद्रपुर पुर्याएपछि विज्ञप्ति जारी गर्दै प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएको जानकारी दिएका थिए ।
प्रसाईंलाई ल्याउँदै गर्दा काँकडभिट्टा नाकामा सुरक्षाकर्मीहरुको तैनाथी बढाइएको थियो । उनका आफन्त र केही समर्थकहरु पनि त्यहाँ भेला भएका थिए ।
यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको बताएको थियो । आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको छ । नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ ।
अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्याउने अभ्यास रहिआएअनुसार प्रसाईंको हकमा पनि सोही भएको बताइएको छ । सोही अभ्यासका कारण बिहीबार प्रसाईं भारतबाटै पक्राउ परेको समाचार फैलिएपछि प्रहरीले खण्डन नै गरेको थियो ।
प्रसाईलाई नेपाल ल्याएपछि केहिबेर जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको थियो । त्यसपछि उनलाई भद्रपुर एयरपोर्टबाट बुद्ध एयरको जहाजमा काठमाडौँ पठाइएको छ । प्रसाईसँगै प्रहरीले उनका अंगरक्षक दीपक खड्कालाई पनि नियन्त्रणमा लिएको छ । भारतबाट उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले नियन्त्रणमा लिएको हो ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको अगुवाइ गरेका प्रसाईलाई राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गर्ने भएपछि उनी फरार थिए ।
तीनकुनेमा भएको प्रसाई नेतृत्वको राजावादी प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए । त्यस क्रममा कयौं घर तथा सवारी साधानमा आजगनी, तोडफोड र लुटपाट भएको थियो । तीनकुनेमा प्रसाईंले गाडी हुइँक्याउँदै सुरक्षा घेरा तोडेर प्रहरीमाथि नै गाडी कुदाउने प्रयास गरेका थिए । त्यसक्रममा प्रहरीले अश्रुग्यास, पानीका फोहरा र गोलीसमेत चलाएको थियो ।
त्यसबीचमा दुई वटा भिडिओ सन्देश जारी गर्दै प्रसाईले आफू नेपालमै रहेको र नभागेको दाबी गरेका थिए । तर, उनी घटना भएकै दिन झापा हूँदै भारत गएको प्रहरीले जानकारी पाएको थियो । उनई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।
राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको ‘संयुक्त जनआन्दोलन समिति’ले पूर्वराजाको चाहना अनुसार ‘जनकमाण्डर’ तोकिएका प्रसाई उग्र र विवादित अभिव्यक्तिको कारण चर्चा र विवादमा रहँदै आएका थिए । झापाको विर्तामोडस्थित विएनसी मेडिकल कलेजका सञ्चालक उनी माओवादीको कार्यकर्ता हुँदै नेकपा एमालेमा प्रवेश गरेर केन्द्रीय सदस्यसमेत बनेका थिए । एमाले केन्द्रीय सदस्य छँदै नेपालमा राजतन्त्र फिर्ता गर्नुपर्छ भन्ने अभियान सुरु गरेका उनलाई पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि विश्वास गरेको बताइन्छ ।
प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रवलगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसुरमा पनि मुद्दा चल्नसक्ने बताइएको छ ।