विराटनगर । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार करिब १० अंक बढेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक घटेर बन्द भएको हो ।
बिहीबार नेप्से परिसूचक ५.५७ अंक घटेर २६७०.७० विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंक घटेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । बुधबार करिब साढे ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको ४९ हजार ६३२ पटकको कारोबारमा ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँबराबरको १ करोड १३ लाख ८४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
नेपाल माइक्रो इन्स्योरेन्स गत मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आएको हो भने क्रेष्ट माइक्रो लाइफ यस दिनबाटै कारोबारमा आएको कम्पनी हो । त्यस्तै, सिन्धु विकास बैंकको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा धेरै बढेको छ । कारोबारमा आएको बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य यस दिन सर्वाधिक ४.३७ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३५ करोड ९४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे ३० करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
बजारका १३ उपसमूहमध्ये यसदिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक, जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । यस दिन अन्य उपसमूहको परिसूचक ०.९० प्रतिशत घटेको छ ।